PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

थाहा छ ? २०६५ यताकै लामो लोडसेडिङ हुँदैछ यसपाला



  • पहिलोपोस्ट-
काठमाडौं : नेपाल विद्युत प्राधिकरणले सोमबारबाट लागू हुनेगरी लोडसेडिङ बढाउने भएको छ। अहिले दैनिक ११ घण्टा लोडसेडिङ भइरहेकोमा प्राधिकरणले एक घण्टा बढाएर दैनिक १५ घण्टासम्म पुर्‍याउन लागेको हो। अब हप्ताको ८६ घण्टा बत्ती जानेछ।
 
प्राधिकरणले पछिल्ला दुई हप्तामा तेस्रो पटक लोडसेडिङको समयावधि बढाएको हो। नेपाल विद्युत प्राधिकरणका अनुसार अब साताको तीन दिन दैनिक १३/१३ घण्टा, एक दिन १५ घण्टा, एक दिन १४ घण्टा, एक दिन १० घण्टा र एक दिन ८ घण्टा बत्ती आउने छैन।
 
प्राधिकरणले यसअघि २०६५ सालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ गरेको थियो। यसपटक दैनिक १५ घण्टासम्म लोडसेडिङ पुर्‍याइएको छ। 'भूकम्पले क्षति पुगेका आयोजनाहरुबाट उत्पादन भएका छैनन्,' प्राधिकरण भार प्रेसण विभाग प्रमुख भुवनकुमार क्षेत्रीले भने, '७० मेगावाट भन्दा धेरै विद्युत उत्पादन बन्द छ त्यसले पनि अप्ठेरो पारेको हो।'
 
उनले दैनिक हिसाब गर्दा धेरै भए पनि औशतमा १२ घण्टा लोडसेडिङ गरिएको बताए। 'दैनिक हिसाब गर्नुहुन्छ भने त १८ घण्टा पनि पुगेको थियो,' उनले भने, 'त्यसरी भन्दा पनि हामी औशतमा हेर्छौं, औशतमा १२ घण्टा विद्युत कटौती हुन्छ।'
 
उनले अघिल्लो वर्ष पनि मध्य मर्स्याङ्दी जलविद्युत आयोजनाको मर्मतको समयमा १२ घण्टा नै पुगेको भन्दै पोहोरको भन्दा धेरै नभएको दावी गरे। '१२ घण्टा त पोहोर पनि भएकै हो, यो वर्ष पनि वर्षायाममा पानी कम परेको थियो, भूकम्पले आयोजनामा क्षति पुगेको छ, त्यसैले बढेको हो,' उनले भने।
 
अहिले विभिन्न रन अफ दि रिभर (आरओआर) तथा कुलेखानी जलविद्युत आयोजनाबाट बिजुली उत्पादन भइरहेको छ। प्राधिकरणले भारतबाट पनि बिजुली आयात गरी वितरण गरिरहेको छ। प्राधिकरणले ढल्केवर-मुजफ्फपुर प्रसारण लाइन आयोजना निर्माण सम्पन्न गरी छिट्टै नै भारतबाट थप ९० मेगावाट बिजुली आयात गर्ने तयारी गरिरहेको छ।
 
भारतको नाकाबन्दीका कारण इन्धनको अन्य विकल्प नहुँदा यो वर्ष बिजुलीको माग उच्च छ। ग्यासको अभाव हुँदा मानिसहरुले विद्युतबाट खाना पकाउने गरेकाले बिजुलीको माग बढेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell