PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

यति मार खाएर पनि विखण्डनको कुरा गरेका छैनौं : महन्थ ठाकुर



यति मार खाएर पनि विखण्डनको कुरा गरेका छैनौं : महन्थ ठाकुर

नयाँ संविधानका विषयप्रति असहमति राख्दै मधेसमा आन्दोलन सुरु भएको चार महिना भइसकेको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन अन्तर्गत नै नाकामा धर्ना दिएको पनि तीन महिना पूरा भइसकेको छ। यही बाहनामा भारतले सुरक्षाको कुरा उठाउँदै इन्धन लगायत अत्यावश्यकीय सामग्रीमा अघोषित नाकाबन्दी लगाएको छ।

मधेस आन्दोलनको माग पूरा गर्न मोर्चा र सरकारबीच पटक पटक वार्ता भएपनि निश्कर्षमा पुगेको छैन। यसै सन्दर्भमा मोर्चाको एक घटक तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग पहिलोपोस्टका लागि मनोज सत्याल, विनोद ढकालशुभक महतोले गरेको कुराकानी :
 

मधेसी मोर्चाले नाकामा दिइरहेको धर्ना कहिले कहिले अन्त्य हुन्छ?

यो त चलिरहन्छ। यसमा कुनै बदलाव आएको छैन। अब बस्ने मोर्चाको बैठकमा हामी समीक्षा गर्छौँ। तर आम हड्ताल र बन्द चलिरह्नछ। सरकारले हाम्रो मागलाई गम्भीरतापूर्वक लिएको छैन। त्यसैले आम हड्तालको कार्यक्रममा कुनै बदलाव हुँदैन। अरु नयाँ नयाँ आन्दोलनका अन्य कार्यक्रमहरु पनि आउँछ त्यो अर्को बैठकबाट तय हुन्छ।

सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई पास गरेर जाने र सीमांकन टुंग्याउन राजनीतिक संयन्त्र बनाउने प्रस्तावमा तपाइँहरु किन तयार हुनुहुन्न?

हामीले जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण भनेका छौं। प्रान्तीय राज्यले जनसंख्याको आधारमा क्षेत्र पाउने र क्षेत्र निर्धारण प्रान्तीय राज्यले नै गर्न पाउनुपर्छ भनेका छौं। यसको साथ साथै राष्ट्रिय सभामा पनि जनसंख्याको आधारमा निर्धारण हुनुपर्‍यो। प्रत्येकले कति पाउने हो त्यो जनसंख्याको आधारमा निर्धारण हुनुपर्‍यो। अहिलेको प्रत्येक राज्यबाट आठ/आठ वटा हुने व्यवस्थामा हामी सहमत छैनौँ। दुवै हाउसमा जनसंख्याको आधारमा प्रतिनिधित्वको व्यवस्था हुनुपर्छ।

एउटा आरोप तपाइँहरुमाथि लाग्दै आएको छ कि- मधेशको मुद्दा जति लम्बियो उति ती माग छुट्दै गए र भारतको इच्छा पूरा गर्ने तर्फ मधेसी मोर्चा अग्रसर भयो भनिन्छ?

कुन आन्दोलनमा इण्डियाको नाम आएको छैन भन्नुस् त। २००७ सालमा आएको छैन कि लोकतन्त्रको संघर्षमा आएको छैन कि? हरेक आन्दोलनमा नाम त आइ नै रहेको छ।

अहिले भारतले संविधान संशोधन विधेयकमा सकारात्मक सन्देश दिइरहेको छ। तपाइँहरुले यही बेला आन्दोलनको समिक्षा गर्दै हुनुहुन्छ। कतै मिलेर यो नाकाबन्दी खोल्न लागेको त होइन?

नाकाबन्दी खुल्दैन खुल्दैन खुल्दैन। आन्दोलन जारी रहन्छ। अरु सुन्न चाहनुहुन्छ।

तपाइँहरु यही बेलामा आन्दोलनको समीक्षा गर्न लाग्नुभएको छ नि त?

समीक्षा त हामी गर्छौँ। तपाइँ कसरी भन्न सक्नुहुन्छ समीक्षा बैठकबाट  नाकाबन्दी खुल्न सक्छ भनेर? सहरमा कर्फ्यु लगाउने, दंगा क्षेत्र घोषणा गर्ने अनि बाहिर गएर बस्नै पर्‍यो नि धर्नामा बस्नै पर्‍यो। आफ्नो घरमा बस्न नदिने अनि हामी कहाँ बस्ने? हामी आफ्नो देशमा बस्नका लागि लडाइँ गरिराखेका छौँ, संघर्ष गरिराखेका छौँ।

देशलाई विभाजित गर्‍यो पहाडी आइडेन्टिटीको राष्ट्रियताले। अनि आरोप मधेसीहरुलाई लगाउने? अहिले मधेसीहरुले राष्ट्रियता एकता बचाएका छन् यति मार खाएर पनि। यति ज्यान गुमाएर पनि हामीले बिखण्डनको कुरा गरेका छैनौं। हामीले अधिकारको समान अवसरको कुरा मात्र उठाएका छौं।

हेर्नुस् भिडियो

 

त्यसो भए समस्याको समाधान के हुन्छ त?

समाधान भनेको मागको सम्बोधन नै हो। जबसम्म सम्बोधन हुँदैन तबसम्म दबाएर पनि आन्दोलन रोकिनेवाला छैन। कर्फ्यु लगाएर पनि सत्यता लुक्दैन। त्यो आफ्नो ठाउँमा रहन्छ।

वार्तामा सरकार गम्भीर भएन भन्ने तपाइँहरुको आरोप छ। तर तपाइँहरुका कतिपय मागले राज्यपक्ष आँखि भौ उचाल्ने अवस्था छ। बहु राष्ट्रिय राज्यका मागहरुमा समेत।

पहाडी आइडेन्टिटीको राष्ट्रियताले देशलाई विभाजित गरेको छ। तर हामीले विभाजन बचाएका छौं।

कांग्रेसले ल्याएको र सरकारले अगाडि बढाएको संविधान संशोधन विधेयकमा तपाँइहरुको असन्तुष्टि के हो?

त्यो आधा छ। पूर्ण रुपमा मधेशको मागहरु सम्बोधन भएको छैन।

त्यसबाट समाधान निकाल्न सक्ने अवस्था छ नि?

हामीले यसबारेमा आफ्ना कुराहरु सरकारलाई दिइसकेका छौं सरकार आउनु पर्‍यो नि ठोस रुपमा।

आन्दोलन लम्बिदैँ जाँदा गैर संसदीय शक्ति हावी हुने देखिएको छ नि?

मागहरु सम्बोधन र आवश्यकता पूरा भएन भने अनेक फोर्स देखापर्न सक्छ।

सिके राउत लगायतका शक्ति अगाडि आउनुलाई कसरी लिनुभएको छ?

म कसैको नाम लिन चाहन्न। हाम्रो माग पुरा गरेर यस्ता विषय म्यानेज गर्न सकिन्छ। माग पुरा नभएपछि जनताको आवश्यकता पुरा नभए अनेक विषय उठ्छन्। कुनैपनि आन्दोलनमा एउटा पक्षमात्र हुँदैन। अनेक विचारधाराका मानिसहरु पनि हुन्छन्। जतिपनि आन्दोलन ठूला भएको र मध्यमार्गी भएका शक्ति थिए त्यसो हुँदा लक्ष्य प्राप्तिमा उनीहरुको कन्ट्रिब्युसन हुन्छ। त्यो हामीहरुको आन्दोलनमा हेरिराखेका छौँ। बुहत सारा शक्ति साथ साथ नभएपनि त्यसै उद्देश्यका लागि आन्दोलनमा हुनुहुन्छ।
 

वीरगंजमा नाकामा बसेका माथि कुटपीट भयो। राजेन्द्र महतो माथि आक्रमण कसरी लिनुहुन्छ?

राजेन्द्रजी माथि भएको आक्रमण निन्दनीय छ। सरकारको दमन भयो। सुरु देखि नै हामी दमनको विरोध गर्दै आएका छौँ। हाम्रो आन्दोलन शान्तिपूर्ण र अहिंस्रक छ। राज्यद्वारा प्रशासनद्वारा पनि आफै अग्रसर भएर हामीमाथि आक्रमण गर्छन्। गोली चलाएको थाहै छ। लाठीचार्ज भएको छ। हजारौँको संख्यामा घाइते छन्। ५० भन्दा धेरै सहिद भएका छन्। कति अपाङ्ग भएका छन्।कतिले खुट्ट गुमाएका छन्।

केही अनावश्यक लफडा गराउन अन्य तत्वबाट पनि आक्रमण भएको छ। सभा बिथोल्न र आमसभामा पनि गोली चलेको छ। सर्लाहीमा आमसभामा गोली चलेको उदाहरण छ। धर्नामा पनि गोली चलाएको छ। घाइतेलाइ लात्ताले जुत्ताले हानेर मारेको छ। दमनको काम सरकारले गरेको छ, गराईएको छ।

मोर्चा भित्रको पोलिटिक्समा समस्या छ बाहिर परेको छ भनिन्छ नि?

यस्ता कुरा सुनिरहनुभएको छ। अरु पनि कुरा सुन्नु भएको होला। तर त्यो सबै कुरामा सत्यता छैन। हामीमा त्यस्तो कुनै प्रोब्लम छैन।
 

तपाइँको भूमिका अलिक वार्ता तर्फ र अर्को एउटा पक्ष आन्दोलनबाट राजनीतिक फाइदा उठाउने तर्फ लागेको देखिन्छ नि?

कुनैपनि आन्दोलनमा यस्तो व्यक्तित्वहरु हुन्छन्। जो क्रान्तिको नारा दिन्छन्। कहिँ जवाहरलाल थिए कहिँ सुवासचन्द्र हुन्छन्। सबैको योगदान त स्वतन्त्रता संग्राममा थियो। त्यस्तै थरिथरिको व्यक्तित्व छन् उनीहरुको योगदान छ।
 

तपाइँहरु एमाले प्रति र प्रधानमन्त्री प्रति बढी नै आक्रामक हुनुहुन्छ नि?

हामी कसैप्रति पूर्वाग्रही वा आक्रमक छैनौं। यो त उसको जिम्मेवारी खोजेको कुरा हो। सरकार उसको नेतृत्वमा छ त उसबाट हामीले जिम्मेवारी खोजेको हो। तर उ त्यस तर्फ गम्भीर भएको छैन। जिम्मेवारी पाएको व्यक्तिले गैर जिम्मेवारी काम गरेपनि हामीले त बोल्नै पर्‍यो नि।
 

सीमाङ्कन सात प्रदेशमा सुनसरी र कञ्चनपुर मिलाउने कुरा सुनिन्छ भन्नेमा कति सत्यता छ?

हामीलाई औपचारिक रुपमा त्यस्तो प्रस्ताव आएको छैन।

आठ प्रदेशमा सहमतिको सम्भावना छ?

समग्र मधेसको कुरा हामीले सुरु देखि गरेको हो। राज्य पुन:संरचना आयोग र राज्य शक्ति बाँडफाँड समिति र आठ बुँदे सम्झौताको आधारमा दुई प्रदेश स्वीकार गरेका छौं। सरकारले त्यही आधारलाई स्वीकार गर्‍यो भने समस्या समाधान भइहाल्छ।
 

कांग्रेससँगका छलफल द्विपक्षीय छलफलमा र एमाओवादीको बैठकबाट यस्ता प्रस्ताव उठेका छन् नि।

तपाइँको प्रश्न नै बचपना छ। अनौपचारिक छलफलमा कुराहरु आउँछ। त्यो प्रस्ताव बन्न सक्दैन। अब यो यिनीहरुमा कसरी विश्वास गर्ने जो आफ्नै प्रस्ताव अनुसार काम गर्न सकेको छैन। जो पहिला ६ प्रदेशमा दुई मधेस ल्याएको थियो। तर अहिले ७ प्रदेशमा ५ वटा जिल्ला पहाडमा मिलाइदियो। बोल्ने बेला जे पनि बोल्छन् उनीहरु। हामी भन्छौं कार्यरुपमा देखाउ। हामीलाई चेक चाहिएन नगद चाहियो। काम गरेर देखाउ।
 

तीन साता यता वार्ता नहुँदा पनि राजनीतिक दलहरुबीच कुराकानी भएको छ। यो बीचमा केही भेटिएको छ कि?

भेट भएको छ। तर त्यो कुनै वार्ता वा संवाद होइन। हामी एक अर्कालाई चिन्छौं, आपसमा भेटघाट हुन्छ हेलो हेलो हुन्छ। त्यत्ति हो।
 

मधेस आन्दोलनको मागलाई आधारभूत सहमति गर्ने र राजनीतिक संयन्त्र गठनबाट हल गर्नेमा कुरा भएको छ?

भएको छ। सहमति भएको छैन। हामी प्याकेजमा चाहान्छौँ। जति समस्या छ त्यसको समाधान एकैचोटी चाहन्छौँ। विवाद बाँकी रहँदा आन्दोलन भइरहन्छ। नाकाबन्दी पनि हट्ने वाला छैन।

गोली चलाएर कुल्चेर पनि हामी हट्नेवाटा छैनौँ त्यहाँबाट। सरकारले गोली चलाएको छ। कुल्चिएको छ तैपनि हामी बसेका छौँ। सरकार जबसम्म मधेसमा नाकाबन्दी उठाउँदैन तबसम्म हामी नाकाबन्दी खोल्दैनौं।

प्याकेजको विकल्प के हुनसक्छ?

छैन, एकदमै प्याकेजमा हुनुपर्छ। सरकारले हाम्रो नाकाबन्दी गरेको छ।
 

समाधानको कुनै मध्यमार्गी उपाय छ?

समस्याको पनि कँही मध्यमार्गी उपाय हुन्छ? बिरामीको इलाज हुन्छ। के को मध्यमार्गी? हामी लोकतन्त्रमा विश्वास गर्ने हामी लोकतन्त्रका लागि संघर्ष गरेर आएको हो। हामी वार्ता संवादबाट कहिल्यै पछि हटेको छैन। रातमा बोलाउँदा रातमा बिहान बोलाउँदा बिहान गएको छु। दिउँसो बोलाउँदा दिउँसो गएको छु। एक्लै बोलाउँदा पनि गएको छु। समूहमा पनि गएका छौं।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell