PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

​आएकै दिन मोदीको संसदमा सम्बोधन



​आएकै दिन मोदीको संसदमा सम्बोधन

काठमाडौँ : साउन १८ गते नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोही दिन व्यवस्थापिका संसद्‍लाई सम्बोधन गर्ने भएका छन्। दुई दिने औपचारिक नेपाल भ्रमणमा आउन लागेका मोदीलाई संसदमा सम्बोधनका लागि व्यवस्था मिलाउन परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयले सभामुख सुवासचन्द्र नेम्वाङ र संसद सचिवालयसँग सम्पर्क गरिसकेको छ।

तर सचिवालयले अहिलेसम्म सरकारको तर्फबाट औपचारिक पत्र भने प्राप्त नभएको जनाएको छ। यद्यपि सचिवालयले मोदीको सम्बोधनका लागि १८ गते ४ बजेका लागि तयारी भने गरिसकेको छ।

सचिवालयले सम्बोधनको समयबारे औपचारिक पत्र पठाउन आग्रह गरेपनि सरकारले ढिला गरेकोमा सभामुख सुवासचन्द्र नेम्वाङ असन्तुष्ट रहेको बुझिएको छ। भ्रमणको समय नजिक आएपनि सरकारको ढिलासुस्तीले समय तय हुन नसकेको सचिवालय स्रोतले जनायो।

यसअघि भुटानको औपचारिक भ्रमणका दौरान समेत मोदीले त्यहाँको संसदलाई सम्बोधन गरेका थिए। उनले त्यहाँको संसदमा सम्बोधनका क्रममा भुटान भन्नुपर्नेमा गल्तीले नेपाल भनेपछि चर्चा समेत भएको थियो।

व्यवस्थापिका संसदको कार्यसंचालन नियमावलीमा विदेशी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले नेपाल भ्रमणका दौरान संसदमा सम्बोधन गर्न पाउने व्यवस्था छ।

पशुपति दर्शन सोमबार
साउन १८ गते नेपाल आउन लागेका मोदीले १९ गते सोमबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गर्नेछन्। त्यस्तै उनले राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।

मोदीको भ्रमणका क्रममा नेपाल भारत बीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको सम्झौता हुने लगभग तय भएको छ। त्यस्तै मोदीको भ्रमणका बेला भारतले नेपाललाई सहयोग स्वरुप ठूलो धनराशी घोषणा गर्ने अपेक्षा गरिएको छ।

हायातमा रहने
सरकारले मोदीको भ्रमणलाई राजकीय बनाउन तयारी सुरु गरिसकेको छ। झण्डै ७० जनाको जम्बो टोलीका साथ नेपाल आउन लागेका मोदी राजधानीको होटल हायातमा रहनेछन्।

१७ वर्षअघि भारतका तत्कालीन प्रधानमन्त्री आई के गुजराल दिपक्षीय राजनैतिक भेटवार्ताका लागी नेपालको औपचारिक भ्रमणमा आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell