PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

होला त हावाबाट २ महिनामा ३ सय मेगावाट विद्युत उत्पादन? प्रस्ताव मन्त्रिपरिषद्मा



होला त हावाबाट २ महिनामा ३ सय मेगावाट विद्युत उत्पादन? प्रस्ताव मन्त्रिपरिषद्मा

  • मनोज सत्याल/पहिलोपोस्ट -
काठमाडौँ : हावाबाट बिजुली निकाल्ने प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घोष ‘हावादारी’ भएको भन्दै आलोचना भइरहेका बेला नेपाली साझेदार रहेको एक बेलायती कम्पनीको वायु ऊर्जा उत्पादन प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ।

गत आइतबार बसेको लगानी बोर्डको बैठकले वायु ऊर्जा उत्पादनका लागि ‘द गोर्खाज् युके लिमिटेड’लाई अनुमति दिने प्रस्ताव थप छलफलका लागि मन्त्रिपरिषद्मा पठाएको हो।

कम्पनीले पहिलो चरणमा तीन सय र तीन वर्षमा तीन हजार मेगावाट वायु ऊर्जा उत्पादनको प्रस्ताव गरेको हो। ‘कम्पनीले निर्माण थालेको २ महिनामा नै ३ सय मेगावाट विद्युत उत्पादन गर्ने भनेको छ’, लगानी बोर्डका सिइओ राधेश पन्तले भने। उनले प्रस्ताव गर्ने कम्पनी कन्सट्रक्सन कम्पनी रहेको उल्लेख गरे।

उनले सन् २००१ देखि नै वायु ऊर्जाको सम्भावनाबारे नेपालमा अध्ययन भएको उल्लेख गरे। लाइसेन्स दिने लगायतका विषय भने मन्त्रिपरिषद्बाट टुङ्गो लाग्ने पन्तको भनाई थियो। वायु ऊर्जाको क्षेत्रमा धेरै टेक्नोलोजी विकास भएको र त्यसबारे बोर्डले अध्ययन गर्ने उनले उल्लेख गरे।

‘हामी इन्भेस्टर कस्तो हो हेर्छौँ, कसरी नेपालले पे ब्याक गर्ने भन्ने पनि हेर्छौँ, कहाँ-कहाँ सम्भावना छ वायु ऊर्जाको भन्ने म्यापिङ पनि गर्छौँ’, पन्तले पहिलोपोस्टसित भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर २६ गते काभ्रेमा एमाले जिल्ला अधिवेशन उद्घाटन गर्दै हावाबाट बिजुली निकालेर लोडसेडिङबाट देशलाई मुक्त गर्ने बताएका थिए। ओलीको भनाईको सामाजिक सञ्जालहरुमा आलोचना समेत भएको थियो।

२०६५  चैतमा नर्वे र फिनल्याण्ड भ्रमणबाट फर्किएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँगको वायु ऊर्जा उत्पादन नेपालका लागि महङ्गो रहेको बताएका थिए। उनले नर्वे र फिनल्याण्ड भ्रमणमा वायु ऊर्जा उत्पादन भएको क्षेत्रको भ्रमण समेत गरेका थिए।

मुलुकले चर्को लोडसेडिङ खिपरेहको समयमा प्रचण्डले वायु ऊर्जा विकासबारे अध्ययन भ्रमण गरेका थिए। प्रचण्डले त्यतिबेला सहयोगस्वरुप एउटा विद्युत आयोजना निर्माण गरिदिन नर्वे सरकारलाई आग्रह गरेका थिए तर नर्वेले भने पोलिटेक्निक इन्सटिच्युट निर्माण गरिदिने बताएको थियो।

कस्तो कम्पनी हो गोर्खा युके लिमिटेड?

पहिलोपोस्टले प्राप्त गरेको डकुमेन्ट अनुसार गोर्खा युके कम्पनी बेलायतमा २५ अप्रिल २००५ मा दर्ता भएको छ। बेलायती नागरिक एन्ड्रिउ लेन मोरिसन र दुई नेपालीको नाममा कम्पनी दर्ता छ। नेपाली नागरिकहरुमा बसन्तबहादुर भुजेल र मीना भुजेल छन्।

बसन्तले नै लगानी बोर्डमा वायु ऊर्जा उत्पादनका लागि विदेशी लगानी ल्याउने भन्दै प्रस्ताव पेश गरेका हुन्। बेलायतको ट्रोन बिज केन्टमा कम्पनीले आफ्नो कार्यालय रहेको जनाएको छ।

के छन् वायु ऊर्जाका कठिनाई ?

वायु र सोलारबाट उत्पादित बिजुली प्रसारण लाइनबाट वितरण गर्न कठिनाई रहेको नेपाल विद्‍युत प्राधिकरणको ठहर छ। विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक शेरसिंह भाट प्रसारण लाइनबाट सौर्य वा वायु ऊर्जा वितरण गर्ने अवस्थामा रन अफ द रिभर प्रोजेक्टले ह्याण्डल गर्नुपर्ने बताउँछन्।

यदि दिउँसो बादल लागेर ५ सय मेगावाटको जडित क्षमताको सौर्य ऊर्जाले २ सय मेगावाट मात्र उत्पादन गर्न थाल्यो भने त्यस्तो अवस्थामा पूरै सिस्टम डाउन हुनसक्ने उनको भनाई छ। त्यसका लागि रन अफ द रिभर आयोजना परिचालनबाट म्यानेज गर्नुपर्ने भएपनि नेपालमा सबै रन अफ द रिभर आयोजनाबाट उत्पादित बिजुली प्रयोग गर्ने अवस्थामा असहज हुने तर्क गर्छन्।

वायु ऊर्जाको अवस्थामा पनि त्यस्तै हावा नचल्दा समस्या हुने उनको भनाई छ।

अहिले नेपालको साँझको विद्युत माग १३ सय ५० मेगावाट पुगेको र नेपालमा अहिले जडित क्षमता ७ सय ७० मात्र रहेको उनले बताए। नेपालमा बिहान १ हजार मेगावाट विद्युत माग रहेको, त्यस्तै राति उत्पादनको ५० प्रतिशत मात्र खपत हुने अवस्था रहेको उनले बताए। भारतबाट अहिले २ सय ३५ मेगावाट विद्युत आयात भइरहेको छ।    


असफलताको उदाहरण

२०४३ सालमा डेनमार्क सरकारको सहयोगमा मुस्ताङको कागबेनीमा स्थापना गरिएको वायु ऊर्जा परियोजना मर्मत अभावमा बन्द भएको थियो। यसको क्षमता २० किलोवाट मात्रै थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell