PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

इतिहासकै ठूलो डिल : १ खर्ब ४० अर्बमा मलेसियन एक्जियटाले किन्यो एनसेल



इतिहासकै ठूलो डिल : १ खर्ब ४० अर्बमा मलेसियन एक्जियटाले किन्यो एनसेल

  • विज्ञान अधिकारी-
काठमाडौं : नेपालको कर्पोरेट इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो डिल एक खर्ब ४० अर्ब भ्यालुएसनसहित एनसेल बिक्री भएको छ। एनसेलको प्यारेन्ट कम्पनी टेलियासोनेराले मलेसियाको कम्पनी एक्जियटालाई बिक्री गरेको हो।

कम्पनीले आफ्नो स्वामित्वमा रहेको ६०‍.४ प्रतिशत सेयर एक अर्ब तीन करोड डलर (एक खर्ब तीन अर्ब रुपैयाँ) भन्दा बढीमा बिक्री गरेको छ। त्यसैगरी एनसेलको अनौपचारिक स्वामित्वमा भएको निरजगोविन्द श्रेष्ठको सेयर पनि टेलियासोनेराले भावना सिंह श्रेष्ठलाई चार करोड ८० लाख डलर (चार अर्ब ८० करोड रुपैयाँ)मा बिक्री गरेको छ।

निरज गोविन्दले एनसेलमा भएको आफ्नो सेयर धितोमा राखेर टेलियासोनेराबाट २३ अर्ब रुपैयाँ ऋण लिएका थिए। त्यसैगरी एक्जियटाले भाइजर समूहसँग भएको १९ दशमलव ६ प्रतिशत सेयर पनि आफ्नो स्वामित्वमा लिएको छ ।

एनसेलमा यसअघि तीन पाटर्नर भएकोमा अब दुई मात्रै पाटर्नर भएका छन्। नर्वेजियन कम्पनी टेलियासोनेरा, कजाख कम्पनी भाइजर र नेपाली साझेदार निरज गोविन्दबाट अब ८० प्रतिशत सेयर स्वामित्व एक्जियटासँग हुनेछ भने बाँकी २० प्रतिशत सेयर भावना सिंह श्रेष्ठको सिंगापुरमा दर्ता भएको कम्पनी सुनिभेरा क्यापिटल भेञ्चरसँग हुनेछ।

श्रेष्ठलाई ८० प्रतिशतको साझेदार एक्जियटाले स्थानीय साझेदारका रुपमा छानेको टेलियासेनेराले जारी प्रेस विज्ञप्तिमा छ।

किन छाड्दै नेपाल?

अढाई महिनाअघि टेलियासोनेराले नेपाल लगायत युरेसिया क्षेत्रका सात देशका टेलिकम कम्पनीमा गरेको लगानी फिर्ता गर्ने घोषणा गरेको थियो।
 
नेपाल लगायत केही देशमा गरेको लगानीबाट प्रतिफल लैजान भएको कठिनाई, स्थानीय साझेदारमा समस्याका कारण कजाखस्तान, उज्वेकिस्तान, अजरबैजान, जर्जिया, माल्डोभा र ताजकिस्तानबाट लगानी फिर्ता गर्ने घोषणा टेलियासोनेराको बोर्डले गरेको थियो।
 
योसँगै युरेसिया क्षेत्रमा गरेको लगानीमा गडबढी भएपछि अहिले अमेरिकी र स्वीडेनको अदालतमा समेत टेलियासोनेराले मुद्दा  खेपिरहेको छ। यसले पनि टेलियासोनेरालाई यो क्षेत्रको लगानी फिर्ता गर्न दवाव परिरहेको थियो।
 

भ्यालुएसन एक अर्ब डलर

एनसेलमा टेलियासोनेराले अहिलेसम्म ७५ करोड डलर (करिब ६७ अर्ब रुपैयाँ विभिन्न समयमा गरेको लगानी र त्यसको डलर सटहीको आधार) लगानी गरेको छ। यो लगानी सेयर खरिद तथा नेपालमा सेवा विस्तारमा गरेको लगानी हो।
 
एनसेलमा कम्पनीले ६७ अर्ब रुपैयाँ खर्च गरिसके पनि कम्पनीको चुक्ता पुँजी भने नौ करोड ८० लाख रुपैयाँ मात्रै छ। अहिलेसम्म गरेको लगानी, त्यसबाट प्राप्त प्रतिफल लगायत सबै हिसाबलाई आधार मान्दा टेलियासोनेराले एनसेलको मूल्यांकन एक अर्ब डलर छ।
 
कम्पनीले मुनाफा गर्ने आधार र त्यसबाट हुने प्रतिफललाई मूल्यांकन गरेर फ्युचरिस्टिक प्राइस भने एक अर्ब ८० करोड डलर मूल्यांकन गरेको थियो।
 

नाफाको हिसाब छैन

नेपालमा लगानी गरे पनि त्यसबाट टेलियासोनेराले प्रतिफल लैजान भने सकेको छैन। कम चुक्ता पुँजीबाट उच्च मुनाफा कमाएको, चुक्ता पुँजी कहाँबाट कुन प्रक्रियामार्फत नेपाल आएको हो, त्यसको विवरण नभएपछि नेपाल राष्ट्र बैंकले लाभांश विदेश लैजान दिएको छैन।
 
कम्पनीले तीन आर्थिक वर्ष अघिसम्म त्यस अघिका तीन आर्थिक वर्ष गरेको मुनाफाबाट ११ अर्ब रुपैयाँ लाभांस विदेश लैजानका लागि अनुमति मागेको थियो। अहिलेसम्म त्यो रकम विदेश गएको छैन।
 
त्यसैगरी एनसेलले पछिल्लो तीन आर्थिक वर्षको लाभांश घोषणा नै गरेको छैन। पछिल्लो तीन आर्थिक वर्षमा कम्तिमा पनि लाभांश घोषणायोग्य ५० अर्ब रुपैयाँभन्दा बढी रकम एनसेलसँग छ।
 

कस्तो कम्पनी हो एक्जियटा?

मलेसियाको टेलिकम कम्पनी एक्जियटाले पूर्वी एसिया र दक्षिण एसियामा सेवा विस्तार गरिरहेको छ। कम्पनीले मलेसियामा सेलकम टेलिकम सञ्चालन गर्छ। त्यसैगरी सिंगापुरमा एमवानमा, इन्डोनेसियामा एक्सएल एक्जियटा र कम्बोडियामा स्मार्टमा लगानी गरेको छ।
 
एक्जियटाले भारतको आइडियामा २० प्रतिशत, बंगलादेशको रोबिमा ९२ प्रतिशत, श्रीलंकको डाइलगमा ८३ प्रतिशत सेयर लगानी गरेको छ। एक्जियटाका लागि नेपाल भने नयाँ बजार हो।
 
कम्बोडियाको स्मार्ट टेलिकम पनि एक्जियटाले टेलियासोनेराबाट उपेन्द्र महतो–सतिशलाल आचार्य हुँदै खरिद गरेको थियो। कम्बोडियाको स्मार्टमा एक्जियटाको ९७ प्रतिशत सेयर लगानी छ। बाँकी तीन प्रतिशत सेयर नेपाली लगानीकर्ता सतिशलाल आचार्यको हुन सक्ने विश्लेषण छ, यसको पुष्टि गर्ने आधार भने छैन।
 
एसियाको सबैभन्दा ठूलो टेलिकम कम्पनीका रुपमा दावी गर्ने एक्जियटाको नेटवर्कमा २६ करोड उपभोक्ता छन्। सन् २०१४ मा यो कम्पनीले १८ अर्ब रिंगिट (पाँच अर्ब ७० करोड डलर) आम्दानी गरेको थियो। कम्पनीको बजार पुँजीकरण ५० अर्ब रिंगिट बराबर छ। यो कम्पनीको नेटवर्कमा २५ हजारले रोजगारी पाएका छन्।
 
एक्जियटामा मलेसिया सरकारको ३८ प्रतिशत सेयर स्वामित्व छ। त्यसैगरी त्यहाँको कर्मचारी सञ्चय कोषको १५ प्रतिशत र विदेशी लगानीकर्ताको १७ प्रतिशत सेयर छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell