PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

जानकी मन्दिरभित्रै तोडफोड, राष्ट्रपति फर्किइन्, जनकपुरका ठाउँ-ठाउँमा झडप



जानकी मन्दिरभित्रै तोडफोड, राष्ट्रपति फर्किइन्, जनकपुरका ठाउँ-ठाउँमा झडप

  • पहिलोपोस्ट-
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरको राम-जानकी मन्दिरबाट बाहिरिएपछि मन्दिरमा तोडफोड भएको छ। मधेशी मोर्चाका कार्यकर्ताहरुले राष्ट्रपति निस्किए लगत्तै मन्दिर परिसरमा प्रवेश गरी तोडफोड गरेका हुन्। उनीहरुले कुर्सी लगायत अन्य सामानहरु समेत फालेको रेडियो मिथिलाले आफ्नो समाचारमा उल्लेख गरेको छ।

बिहानै जनकपुर पुगेकी राष्ट्रपति अञ्चल प्रहरी कार्यालयमा सेनाको हेलिकप्टरमा पुगेकी थिइन्। त्यसपछि सवारीसहित मन्दिर पुगेकी उनले कडा सुरक्षाबीच आधा घण्टा पूजा गरेकी थिइन्। राष्ट्रपतिलाई मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले स्वागत गरेका थिए।


राष्ट्रपतिलाई मन्दिर जाने र फर्कने क्रममा प्रदर्शनकारीले कालो झण्डा देखाएका थिए। साथै 'ब्याक अफ प्रेसिडेन्ट' लेखको ब्यानर देखाएका थिए। राष्ट्रपति निस्किएपछि मन्दिर परिसरमै प्रहरी र प्रदर्शनकारीबीच ढुङ्गा हानाहान भएको थियो। दोहोरो झडपपछि मन्दिर परिसरबाट भक्तजनहरु बाहिरिएका थिए। मन्दिर परिसरमा अहिले भक्तजन भन्दा प्रहरी धेरै रहेका छन्।
 
नेपालका लागि भारतीय राजदुत रणजीत रायले भने अन्तिम समयमा आफ्नो भ्रमण रद्द गरेका थिए। राष्ट्रपतिसँग उपसभामुख र  भूमिसुधार मन्त्री रामकुमार सुब्बा भने जनकपुर पुगेका थिए।

राष्ट्रपति फर्किएपछि अहिले रामानान्द चोक, जनक चोक, मिल्स एरिया लगायतमा प्रदर्शन भएको छ। प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले अठार राउण्ड हवाइ अश्रु ग्यास प्रहार गरेको छ भने चार राउण्ड हवाइ फायर गरेको छ। प्रहरी र प्रदर्शनकारी गरी १८ जना घाइते भएका छन्। 











@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell