PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​विमानस्थल भन्सार कर्मचारी २१ लाख घुस रकमसहित अख्तियारको फन्दामा



​विमानस्थल भन्सार कर्मचारी २१ लाख घुस रकमसहित अख्तियारको फन्दामा
अख्तियारले घुस रकमसहित पक्राउ गरेका तीनजना।

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ लाख ४० हजार घुस रकमसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा हरीवंश कार्कीलाई पक्राउ गरेको छ।

विमानस्थल भन्सार कार्यालय काठमाडौंमा कार्यरत नासु कार्कीसहित भन्सार एजेन्ट ‍प्रेम अधिकारी र देवराज भट्टराई पक्राउ परेको अख्तियारले जनाएको छ।

उनीहरु काठमाडौंको धुम्बाराहीस्थित मुनलाइट पार्टी प्यालेसबाट नियन्त्रणमा लिइ हिरासतमा राखेर थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ।

गैरकानुनी रुपमा सुन ओसारपोसार गर्दा थुनामा रहेका भारतीय नागरिक अभिषेक सरकारको मुद्दा मिलाइदिने भन्दै उनीहरुले घुस मागेको अख्तियारको दाबी छ।

उक्त सूचना पाएपछि आयोगबाट खटिएको विशेष टोलीले लेनदेन भएको २१ हजार ४० हजार नगद रकम, विमानस्थल भन्सार कार्यालयको बा ६ च ७८७४ नम्बरको स्करपियो जिप र भन्सार एजेन्टले प्रयोग गरेको बा १० च ४०७५ नम्बरको आइ-१० सवारी साधनहरु बरामद गरेको छ।

भन्सार एजेन्ट अधिकारी खोटाङ जिल्ला, याम्खा-६ का स्थायी बासिन्दा हुन् भने अर्का भन्सार एजेन्ट भट्टराई खोटाङ लामिडाँडा-७ का स्थायी बासिन्दा हुन्।

अख्तियारले विमानस्थल भन्सार कार्यालयका सवारी चालक पुरुषोत्तम थापालाई समेत अनुसन्धानको लागि हिरासतमा लिएको छ।

हेर्नुस् अख्तियारको भिडियोः

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell