PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कसको आँखा लाग्यो बरै.... तस्बिरमा आलोकको सम्झना



कसको आँखा लाग्यो बरै.... तस्बिरमा आलोकको सम्झना

काठमाडौं : फिल्म निर्देशक आलोक नेम्बाङको निधनको खबरले उनका नजिकका नातेदार र साथीहरु मात्र हैन उनका प्रशंसकहरु पनि स्तब्ध भए।

बिहीवार बेलुका अप्रत्यासित रुपमा मिडियामा आएको उनको निधनको खबर उनका प्रशंसक, शुभचिन्तक तथा साथीहरुले पत्याउन सकेनन्।

आलोकको फेसबुक वाल उनीसँग नजिक रहेर काम गरेकाहरुको समवेदना सन्देश, स्मृति र तस्बिरहरुले भरिएको छ। एकछिन ध्यान दिएर उनको वाल चाहार्ने हो भने जो कोहीलाई भावुक बनाइदिन्छ उनको सम्झनाले। 

उनको फेसबुकमा 'व्यक्तिगत' नाम राखिएको फोटो ग्यालरीमा ३३ ओटा फोटा छन्। जहाँ उनको बाल्यकालदेखि अमेरिकामा हुँदासम्मका र काठमाडौं फर्केपछिका दिनका फोटाहरु छन्।

उनको फेसबुक वाल सार्वजनिक छ अर्थात उनको फेसबुक हेर्न तथा त्यहाँ केही सन्देश पोस्ट गर्न सबैलाई छुट छ। उनका अनेकौं सम्झना समेटिएका छन् ती फेसबुकका फोटोहरुमा। साथी र शुभेच्छुकका लागि उनको फेसबुक अहिले एकमात्र ठाउँ भएको छ, उनको जीवनलाई फर्केर हेर्न।

उनको फेसबुक 'वाल' अहिले समवेदनाका सन्देशहरुले भरिएको छ। 

अमेरिकाको वासिङ्टन डिसीमा रहेका उनका साथी इस्तिक चौधरीले लेखेका छन्, 'सन् ९० को दशकमा आलोक वाशिङ्टन डिसीको नजिकै बसेका बेला उ र म साथी थियौं। म उसलाई मिलनसार, सबैलाई माया गर्ने र सहयोगी मान्छेका रुपमा चिन्छु। मलाई अझै विश्वास लागिरहेको छैन कि उ अब यो दुनियाँमा छैन। मलाई दु:ख लागेको छ कि उ यति दु:खमा रहेछ। अब उ राम्रो ठाउँमा पुगेको छ। उसका परिवार र आफन्तलाई भगवानले धैर्यधारण गर्ने शक्ति दिऊन्। समवेदना।'

इमेज च्यानलमा नेपाली पप कार्यक्रम सञ्चालन गर्दाताका आलोक र सुशील नेपाल टेलिभिजन स्क्रीनमा कहिले सँगै र कहिले छुट्टाछुट्टै देखिन्थे। आफूसँगको फोटोसहित आलोकको फेसबुकमा सुशीलले लेखेका छन्, 'तिमीलाई धेरै 'मिस' गर्नेछु, आलोक। १५ वर्ष अघिको तस्बिर। समवेदना।


त्यस्तै उनकी साथी तथा नायिका प्रियंका कार्कीले आलोकको फेसबुक वालमा लेखेकी छिन्, 'म अहिले पनि हाम्रो पहिलो भेट सम्झिन्छु। आलोक दाइ भन्ने गर्नुहुन्थ्यो, 'मसँग कुकुर र बिराला छन्, ती आपसमा मिलेर बस्छन्। आज पनि मेरो दिमागमा ती शब्दहरु गुन्जिन्छन्। यदि मानिसले व्यक्तिको भिन्नता र फरक चाहनालाई बुझिदेिन्थे। यदि हामी कसैलाई दोष लगाउन, अरुलाई औंला उठाउने र नाम राख्ने काम बन्द गर्थ्यौ ! यदि हामी कसैलाई अलि फरक ढंगले सम्बोधन गर्थौं भने, यदि हामी फरक व्यवहार गर्थ्यौं र उसलाई फरकरुपमा बुझ्थ्यौं भने, यदि घृणा कम भएको भए, अनुमान, अपेक्षाहरु हृदयविदारक हुँदैनथे भने र कसैलाई उसकै रुपमा माया गर्थ्यौं भने आज हामी अर्कै ठाउँमा हुने थियौं। माया फैलाऊँ, आत्मा जोगाउँ। एउटा सुन्दर हाँसो, अत्यन्त दु:खद अन्त्य। समवेदना।'

उनका साथी रमण श्रेष्ठले लेखेका छन्, 'अब सम्झना मात्र बाँकी रहे। आलोक, तिमी राम्रा निर्देशक मात्र थिएनौ, तिमी अति मिलनसार सुन्दर मान्छे थियौ। तिम्रो आत्माको वैकुण्ठबास होस्।'

त्यस्तै आलोकको फेसबुक वालमा प्रभात रिमालले लेखेका छन्, 'एउटा साथी गयो... कारण थाहा छैन ... उनको एक्लोपना अरुलाई के थाहा ... तथाकथित चम्किलो ग्ल्यामरभित्रको जीवन... मैले एउटा साथी गुमाएँ। वैकुण्ठवास होस् आलोक।'



आफ्नो कुकुर अर्गुसको साथमा।


अमेरिकामा साथीहरुसँग आलोक


अमेरिकाको पिटर्सबर्गमा बहिनी सुनीसँग।


चलचित्र नुमाफुङकी नायिका अनुपमा सुब्बाका साथमा।


आफ्ना कुकुरहरु कुजो, नानी र थ्याप्चुका साथमा।

परिवार, आफन्त, साथीभाई, शुभेच्छुकका आँखा ओभाना छैनन्। उनका कलाहरु छरपष्ट छन्। उनी गए, धेरैलाई निराश बनाएर, खुसी छिनेर। उनलाई सम्झिनेहरु सोधिरहेका छन्- 'कसको आँखा लाग्यो बरै मेरो खुसी माथि......।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell