PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

के छ कांग्रेसले राखेको संविधान संशोधन प्रस्तावमा?



काठमाडौँ : मधेस आन्दोलनलाई सम्बोधन गर्न प्रमुख दलबीच हुने वार्ताहरुमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नो सरकार भएका बेला दर्ता भएको संविधान संशोधन प्रस्तावलाई अघि बढाउनु पर्ने अडान राख्दै भएको छ।

यही संशोधनले मधेस आन्दोलनका माग पूरा हुने कांग्रेसले बताउँदै आएको छ।  

नेपाली कांग्रेस नेतृत्वको सरकारका तर्फबाट तत्कालीन कानुन मन्त्री नरहरि आचार्यले संविधान जारी भएको एक महिना नपुग्दै संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता गरेका थिए। तर विधेयक संसदमा प्रस्तुत नहुँदै सरकार परिवर्तन भयो।  यसबीचमा नेपालको संविधानमा भारतले चाहेका सात संशोधन प्रस्तावबारे पनि समाचार आयो।  

के छ त  कांग्रेसले  राखेको संशोधन विधेयक प्रस्तावमा?  हेर्नुस् सं‌शोधन विधेयक जस्ताको तस्तै-

नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक 

प्रस्तावनाः नेपालको संविधानलाई संशोधन गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसदले यो संशोधन जारी गरेको छ ।

१.    संक्षिप्त नाम र प्रारम्भः (१) यस संशोधनको नाम “नेपालको संविधान (पहिलो संशोधन), २०७२” रहेको छ ।
            (२) यो संशोधन तुरुन्त प्रारम्भ हुनेछ ।

२.    नेपालको संविधानको धारा ४२ मा संशोधन : नेपालको संविधान (यस पछि “संविधान” भनिएको) को धारा ४२ को उपधारा (१) मा रहेका “समावेशी सिद्धान्तका आधारमा” भन्ने शब्दहरुको सटृा “समानुपातिक समावेशी सिद्धान्तका आधारमा” भन्ने शब्दहरु राखिएका  छन् । 

३.    संविधानको धारा ८४ मा संशोधन : स‌ंविधानको धारा ८४ को उपधारा (१) को खण्ड (क) मा रहेका “भूगोल र जनसंख्याको आधारमा” भन्ने शब्दहरुको सटृा “जनसंख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा” भन्ने शब्दहरु पपो राखिएका छन्। 

४.    संविधानको धारा २८६ मा संशोधन : संविधानको धारा २८६ को,–
(१) उपधारा (५) को सट्टा देहायको उपधारा (५) राखिएकोछः–
“(५) निर्वाचन क्षेत्र निर्धारण आयोगले यस धारा बमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्या र भूगोललाई प्रतिनिधित्वको आधार मानी देहाय बमोजिम गर्नेछ–
        (क)    मुख्य रुपमा जनसंख्यालाई आधार मानी जनसंख्या र सदस्य संख्याको अनुपात  यथासम्भव समान हुने गरी,
        (ख)    खण्ड (क) बमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र रहने गरी ।”

(२) उपधारा (६) मा रहेका “निर्वाचन क्षेत्र निर्धारण गर्दा” भन्ने शब्दहरु पछि “जनसंख्या र भौगोलिक अनुकूलता,” भन्ने शब्दहरु थपिएका छन् । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell