PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

कहाँ हराइन् नलिना चित्रकार?



कहाँ हराइन् नलिना चित्रकार?

  • विनोद ढकाल/पहिलोपोस्ट -
कुनै समय नेपाली  महिला पप गायनमा एकछत्र राज गरेकी नलिना चित्रकारलाई हिजोआज एउटा प्रश्नले भने खुबै पिरोल्छ- 'हिजोआज त तपाइँ हराउनुभयो नि!

हुन पनि हिजोआज नेपालमा भन्दा अमेरिका र क्यानडामा बढी भेटिन्छिन्। नेपाल र विदेश आउजाउ गरिरहने उनको बसाई भने विदेशमा नै बढी हुन्छ। दशैंअघि नेपाल फर्किएका बेला पहिलोपोस्टसँग उनले भनेकी थिइन्, ' म यहाँ आउँदा पनि प्रोग्रामहरु बाँकी राखेरै आएकी छु, त्यसैले छिटै फर्किनुपर्नेछ।'

'म हराएको छैन, ट्राभल मात्र धेरै भएको हो', उनी भन्छिन् 'म निश्क्रिय भएको छैन नभएको कुरा कसैले भन्यो भने चित्त बुझ्दैन।'

उनले यसो भने पनि नेपालभित्र हिजोआज नलिना चित्रकार करिब गुमनाम छिन्। यता सांगीतिक गतिविधि धेरै नहुने भएकाले उनले पहिले झैं स्टेज तताउने मौका पाएकी छैनन्। त्यसैले होला नलिना अमेरिका र क्यानडामा रहेका नेपालीहरुतिर आकर्षित भएकी। 'अमेरिकाका ४० वटा स्टेट र क्यानडाका अलमस्ट सबै स्टेटमा प्रोग्राम गरिसकेको छु' उनी भन्छिन् 'अहिले नेपाली नपुगेको कुन ठाउँ छैन, जहाँ पुगेपनि नेपाली नै भेटिनुहुन्छ, मलाई नेपालभित्रै छु जस्तो लाग्छ।'

नलिना स्वदेशमा भन्दा विदेशमा धेरै आकर्षित हुनुको कारण हो देशभित्र सांगीतिक कार्यक्रम नहुनु र पहिलेजस्तो संगीत क्षेत्रबाट कमाइ नहुनु। प्रविधिको विकासले गर्दा गीतका एल्बम पहिलेजस्तो बिक्दैनन्। देशभित्र कन्सर्टहरु हुँदैनन्। यस्तो अवस्थामा देशभित्र आर्थिक रुपमा टिक्न र आफ्नो स्टायन्डर्ड मेन्टेन गर्न नै कलाकारहरुलाई कठिन भयो। त्यसको विकल्प विदेशमा फैलँदै गरेको नेपाली समुदाय बन्यो।

'गीत गायो, म्युजिक भिडियो बनायो, क्यासेट र सिडी बिक्री हुँदैन, प्रोग्रामहरु पनि नभएपछि के गर्ने?,' नलिना विदेशतिरको आकर्षणबारे खुलाउँछिन्, 'आफ्नो सिर्जनालाई कहीँ न कहीँ प्रस्तुत त गर्नैपर्‍यो नेपालमा होस् कि बाहिर होस्।'

नलिनालाई ती दिनको सम्झना अझै छ। बिहे भएको तीन दिनमै १५ दिनको सांगीतिक कार्यक्रमका लागि नेपाल टुरमा निस्केकी थिइन्। 'दुलही भएको तीन दिनमै म सांगीतिक कार्यक्रमको लागि हिँडेकी छु,' उनी भन्छिन् ' न्यु इयरमा श्रीमानलाई टेलिफोनबाटै ह्याप्पी न्यु इयर भन्नुपर्‍यो, विराटनगरमा कन्सर्ट गरेर काठमाडौं फर्किएर फेरि विराटनगर पनि पुगेँ।'

नलिना आफै स्वीकार गर्छिन्, समय पहिलाजस्तो छैन। उनले नेपाली महिला पप गायनमा एक्लै राज गरेको जस्तो समय अहिले छैन। पप गायनमा महिला स्वरहरु धेरै थपिइसकेका छन्। उनलाई लाग्छ अब यो मेरो समय होइन।  उनी चलाखीपूर्ण जवाफ दिन्छिन् ' सबैलाई चान्स दिनुपर्‍यो नि सबैको आफ्नो टाइम फ्रेम हुन्छ मेरो टाइममा त मैले गरेकै थिएँ नि।' हुन पनि उनले २०४५ सालमा गायन यात्रा सुरु गरेदेखि पछाडि फर्केर हेर्नुपरेन। सन् २०१० मा विदेश ओहोर दोहोर बढाउनुअघिसम्म स्वदेशमा उनको चार्म उत्तिकै थियो।

अहिले प्रविधिमा भएको विकासका कारणले गायकगायिका बन्न भने सजिलो भएको छ। त्यसैले नलिनाको समयमा भन्दा धेरै गायिकाहरु त आउने नै भए। संगीतको जानकारी नै नभएको मानिस पनि प्रविधिको सहारा लिएर गायकगायिका बन्न सक्छ। रेडियो, टेलिभिजन, अनलाइन र युट्युब जस्ता माध्यमले नयाँ गायक गायिकाहरुले एक्सपोजर पनि उत्तिकै पाइरहेका छन्।

यसलाई उनले नकारात्मक भन्दा सकारात्मक नै लिइन्। 'यस्तो कठिन अवस्थामा पनि मानिसहरु गीत गाइरहेका छन्। कम से कम नेपाली म्युजिक इन्ड्रष्टीमा एरेन्जर र कम्पोजरले काम पाइरहेका छन्' नलिना भन्छिन्। त्यसबाहेक राम्रो गीत गाउनेहरुलाई स्वदेश र विदेशमा स्टेज कार्यक्रमको अवसर त छँदैछ।

अहिलेका इन्दिरा जोशी, अञ्जु पन्त, माण्डवी त्रिपाठी, जुना प्रसाई, प्रश्ना शाक्य, आस्था राउतहरु उनलाई मनपर्छ। 'उनीहरुले नेपाली संगीतलाई ग्लोबल बनाइरहेका छन्। यो उनीहरुको समय हो' नलिनाले स्वीकार गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell