काठमाडौँ : सोमबार मधेस आन्दोलनको १०० दिन पूरा भएको सन्दर्भमा काठमाडौँको माइतीघर मण्डलामा आयोजित श्रद्धाञ्जलि सभाका क्रममा एक युवकले संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई दुर्व्यवहार गर्दै लखेटेको भन्दै समाचार भाइरल भएपछि पार्टीले त्यसको खण्डन गरेको छ।
सोमबार राति जारी गरिएको विज्ञप्तिमा 'हुँदै नभएको घटनालाई काल्पनिक ढंगले चित्रण गरी पीत पत्रकारिताको पराकाष्ठा पार गर्दै लेखिएको' आरोप लगाइएको छ।
विज्ञप्तिमा अनुसार कार्यक्रम सम्पन्न भइसकेपछि मादक पदार्थ सेवन गरेका राजेन्द्र सापकोटा नामका एक जना व्यक्तिले होहल्ला गर्न थालेपछि प्रहरीले निजलाई नियन्त्रणमा लिएको थियो।
'तर, अनलाइन समाचारहरुमा उल्लेख गरिए अनुसार कार्यक्रम अवधिभर पार्टी अध्यक्ष माथि त्यस्तो कुनै पनि अप्रिय घटना नभएको प्रष्ट पार्न चाहन्छौं,' विज्ञप्तिमा लेखिएको छ।
पार्टी अध्यक्षलाई बद्नाम गर्ने उद्देश्यले सरकारको स्वार्थमा षड्यन्त्र गरिएको पार्टीले आरोप लगाएको छ।
भ्रामक समाचार लेख्ने ती अनलाइनहरुलाई तुरुन्त कारबाहीको दायरामा ल्याउन नेपाल प्रहरी, प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघलाई पार्टीले अनुरोध गरेको छ।
