- विज्ञान अधिकारी/पहिलोपोस्ट -
सरकारले कालोबजारी नियन्त्रण गर्न उच्चस्तरीय समिति बनाएकै दिन यस्तो रहस्य खुलेको हो।
वाणिज्य तथा आपूर्ति मन्त्रालय कालोबजारी छानविन गर्न सहसचिव जीवराज कोइरालाको संयोजकत्वमा समिति बनाएकै समयमा कुनै एउटा फर्मको नाममा १२ हजार लिटर डिजल दिइएको छ त्यो पनि पम्पमार्फत्।
निगमको भलवारी डिपोले रिंगरोड विस्तार गर्ने कम्पनी संघाई ग्रुपको नाममा स्वयम्भुमा रहेको हामा पेट्रोल पम्पलाई यो परिमाणको डिजल दिएको हो। निगम आफैले चरम अभाव भएको भन्दै कुनै पनि पम्पलाई आफ्नो सिफारिशबाहेक ग्यालिनमा डिजल नदिन परिपत्र जारी गरेको छ।
निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेका अनुसार तीन हजारसम्मको पेट्रोलियम पदार्थ निगम केन्द्रीय कार्यालयको सिफारिशमा स्वयं फर्मलाई मात्रै दिइएको छ।
‘हामीले सिफारिश गरेको आधारमा पम्पबाट दुई/चार सय लिटर पेट्रोलियम पदार्थ पम्पले दिनसक्छ । तर धेरै परिमाणको तेल सम्वन्धित फर्मकै नाममा दिइन्छ। पेट्रोल पम्पबाट ठूलो परिमाणको तेल दिन मिल्दैन,’ उनले पहिलोपोस्टसँग भने।
तर निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको तोक आदेशमा निगमका भलवारी डिपो प्रमुख दिनेश यादवले हामा पम्पको नाममा १२ हजार लिटर डिजेल पठाएका थिए।
पहिलोपोस्टलाई प्राप्त गोप्य पत्रमा हामा पम्पले रिंगरोड विस्तारको काम गरिरहेको संघाई ग्रुपले पेट्रोलियम पदार्थ नहुँदा काम ठप्प भएको भन्दै आवश्यक इन्धन उपलब्ध गराउन आग्रह गरेको थियो। निगममा संघाईको कुनै पत्र बिना निगमका कार्यकारी निर्देशक खड्काले कातिक १५ गते भलवारी डिपो प्रमुखलाई १२ केएल (१२ हजार लिटर) डिजेल दिन निर्देशन दिएका थिए।


निगमका अनुसार सम्वन्धित फर्मको निवेदन बिना तेल दिनै मिल्दैन।
‘सम्बन्धित फर्मको निवेदन बिना तेल दिनै मिल्दैन। अझ कुनै पम्पलाई यसरी फर्मको नाममा तेल दिने निर्णयले निगमले कालोेबजारी गरिरहेको स्पस्ट प्रमाण समेत हो,’ निगमका एक कर्मचारीले भने, ‘अहिलेसम्म तथ्य थिएन तर बिहीबारको घट्नाले तथ्य र प्रमाण समेत फेला परिसकेको छ।’
यही निर्देशनका आधारमा डिपो प्रमुख यादवले बिहीबार यो पम्पलाई डिजेल दिएका हुन्। उनले हामाको नाममा दिएको तेलकोे चलानीमा ‘एनओसीका श्रीमान् एमडी साहेबको कातिक १५ पत्रको तोक बमोजिम उपलब्ध गराएको’ उल्लेख छ।
प्रहरीले डिजेल बरामद गरेर जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा राखेको छ। स्रोतका अनुसार यो डिजेल बरामद भएपछि निगमभित्र हल्लीखल्ली मच्चिएको थियो। डिपो प्रमुख यादवले प्रमुख जिल्ला अधिकारी सामु कार्यकारी निर्देशकको दबाबमा डिजेल दिनुपरेको बताएको स्रोतले बतायो ।
‘उहाँले १५ दिनको अवधिमा धेरै पटक दबाब दिनुभयो । अस्ति फोन गरेर तिमीले त्यतिपनि काम गरेनौ भने म अबदेखि फोन गर्दिन भन्नुभयो,उनको भनाई उद्धृत गर्दै एक कर्मचारीले भने, ‘जागिरकै लागि पनि मैले गैरकानुनी काम भएपनि डिजल पठाएको हुँ ।’
स्रोतका अनुसार आयल निगम र पम्पको मिलेमतोमा आएको डिजेल महँगो मूल्यमा बिक्री गर्न ल्याइएको हो । थानकोट डिपोबाटै दिन सकिने तेल भलबारीबाट दिन लगाएर कालोबजारी गर्न लागिएको स्रोतले बतायो।
स्रोतका अनुसार यो बाहेक कन्जुमरको नाममा पनि महँगो मूल्यमा तेल बिक्री भइरहेको छ। ठूला व्यवसायिक घरानाहरुले महँगो मूल्यमा निगमको डिपोबाटै तेल किनिरहेका छन्।
