PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मध्यराति वीरगञ्जमा औषधिको गाडीमा आगजनी



मध्यराति वीरगञ्जमा औषधिको गाडीमा आगजनी
फोटो : रासस

  • पहिलोपोस्ट-
काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले औषधि बोकेको ट्रकमा आगजनी गरेका छन्। औषधि बोकेको ना२ख ८२९२ नम्बरको ट्रकमा आगजनी हुँदा करिब २० लाख रुपैयाँ बराबरका औषधि नष्ट भएको स्थानीय प्रशासनको अनुमान छ।

पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले सुरक्षा निकायसँग समन्वय नगरी आफूखुसी औषधि बोकेको ट्रक लैजान खोज्दा घटना भएको बताए। 'केन्द्रमा औषधि लैजान दिने भन्ने निर्णय भएपछि उहाँहरुले सुरक्षा निकायलाई पनि खबरै नगरी औषधिको ट्रक लैजान खोज्नुभएछ', प्रजिअ घिमिरेले भने, 'गोदाममा औषधि लोड गरेर हिँड्ने बित्तिकै ट्रकमा आगो लगाएछन्।'

आन्दोलनरत मधेसी मोर्चाले शुक्रबार 'विरामीहरुको स्वास्थ्य उपचारलाई गम्भीरतापूर्वक लिई मानवताको नाताले औषधि, अक्सिजन र स्वास्थ्य सम्बन्धि उपकरणलाई दिनको समयमा मात्र विराटनगर सीमानाकाबाट ल्याउन दिने र उक्त कार्यलाई सहयोग गर्ने' निर्णय गरेको थियो।  

निर्णयले उत्साही भएका व्यवसायीले त्यही सूचनालाई आधार मानेर ट्रकमा ब्यानरसमेत लगाएर ट्रक हिँडाएका थिए। तर राति करिब १ बजतिर मोर्चाका कार्यकर्ता सडकमा आए र ट्रकमा आगजनी गरे। घटनास्थल वीरगञ्जस्थित नेसनल ट्रेडिङ लिमिटेड नजिकै छ। औषधि बोकेको उक्त ट्रक जनकपुर जाँदै थियो।  

'औषधि लगायत जुनसुकै सवारीसाधन पठाउँदा सुरक्षा निकायसँग समन्वय गरेर लैजानुस् भनेर हामीले पटक पटक भनेका छौँ, उहाँहरु औषधिको गाडी केही गर्दैन भनेर ढुक्क हुनुभएछ', प्रजिअ घिमिरेले भने, '

ट्रकमा आगजनी भएको केही बेरमा घटनास्थल पुगेको प्रहरीले दुईवटा दमकलको सहायतामा आगो निभएको थियो। औषधि कस्तो प्रकृतिको हो भन्ने थाहा नभएको घिमिरेले बताए।

नजलेका औषधि प्रयोग गर्न योग्य छन् वा छैनन् भन्ने बारेमा अनुसन्धान हुने उनले बताए। मोर्चाले जोगबनी नाकाबाट औषधि लैजान दिने निर्णय गरेकाले अन्य नाकालाई सुरक्षित ठानेर आफूखुसी हिँड्दा समस्या आउन सक्छ भनेर औषधि व्यवसायी संघलाई सचेत गराइएको घिमिरेले बताए। 'हामीले सुरक्षा निकायसँग समन्वय गरेमा असुरक्षित क्षेत्र पार गर्न सघाउँछौँ भनेका छौँ', उनले भने।

बिहानैदेखि प्रदर्शन

आन्दोलनकारीले शुक्रबार बिहानैदेखि वीरगन्जका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेको राससले जनाएको छ। तिहार र छठ पर्वलाई दृष्टिगत गरेर बन्द कार्यक्रमलाई केही खुकुलो बनाए पनि उनीहरुले बिहानैदेखि वीरगन्जका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका हुन्। 

प्रदर्शनकारीले बिहानदेखि नै वीरगन्जको नगवा, बिर्ता, घन्टाघर, बसपार्क, मुर्लीचोक, राधेमाई चोक, रानीघाटलगायत सहरका विभिन्न भागमा बाटोमा टायर बालेर प्रदर्शनमा उत्रिएका छन्। 

नारा लगाउँदै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले मोटरसाइकल, रिक्सा र टाँगासमेत चल्न दिएका छैनन्। स्थिति अराजक हुन नदिन वीरगन्जमा व्यापक मात्रामा सुरक्षाकर्मीलाई परिचालन गरिएको र आवश्यक परे सम्पूर्ण उपाय अवलम्बन गर्ने प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell