- डा. बाबुराम भट्टराई
हामीसँग तीन चार हजार बन्दुकहरु थिए। हामी शान्ति प्रक्रियामा आयौँ। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो। राजतन्त्र जारी नै थियो। मसँग कुराकानी भयो। हामीले भन्यौँ, फेरि राजतन्त्र आयो र यो शान्ति प्रक्रिया भंग भयो भने त फेरि पनि सशस्त्र युद्ध गर्नुपर्ने हुनसक्छ। त्यसैले हामीले भन्यौँ– गिरिजाबाबु, तपाईले सात सालमा गरेको क्रान्तिले पूर्णता पाएन। के भरोसा छ? फेरि पनि राजतन्त्र आयो भने आज हामी तपाईँलाई हतियार त बुझाउँछौ राख्नुछ भने राख्नुहोस। त्यसपछि उहाँले तपाईहरु केही हातहतियार राख्नुहोस्, परिआयो भने लड्नुहोस् भन्नुभयो। त्यसपछि केही सय बन्दुक हामीले राख्यौ।
तर पछि जब म प्रधानमन्त्री भएँ, त्यसबेला तपाईँका नेता अहिलेका प्रधानमन्त्रीले एउटा विदेशी खुफिया एजेन्सीलाई बेचेछन् ती हतियार। उनलाई बाहिर लान समस्या परेपछि यही कञ्चनपुरको नाकाबाट बाहिर लैजाँदा समस्या भएपछि मलाई भेटे। र, ‘प्रधानमन्त्रीजी म त समस्यामा परेँ। तपाईँले सेनालाई भन्दिनुपर्यो र यतिचैँ मैले बेच्ने भए तपाईँले मलाई सहयोग गर्नुपर्यो भने। म खङ्ग्रङ्ग भएँ। म लज्जित भएँ।
जसका लागि यत्रो संघर्ष गरियो। नेपाल आमाका छोराछोरीहरुले सहादत प्राप्त गरेर ल्याएका हतियार कमाण्डरले नै विदेशी खुफिया एजेन्सीलाई बेचेर त्यत्रो पैसा लिन मिल्छ? मिल्दैनथ्यो र मैले मानिनँ। मैले भनिदिएँ यो सम्भव छैन। तपाईँलाई सहयोग गर्दा म पनि मतियार हुन्छु त्यसैले सक्दिनँ भनेँ मैले।
त्यसपछि उनी पछि हटे र मैले त्यसबेलाका जर्साब छत्रमानसिंह गुरुङलाई कुरो यसो छ, गिरिजाबाबु बितेर गइसक्नुभयो। अरु कसैलाई थाहा छैन। प्रचण्ड र मलाई मात्र थाहा छ। यी बन्दुकहरु तपाई कहाँ राख्नुहुन्छ, यसलाई व्यवस्थापन गरौँ भनेपछि उनले हाम्रो छाउनीमा सैनिक संग्रहालय छ त्यहाँ लगेर राखौँ भने। मैले हुन्छ राख्नुहोस् भनेर राखेको हुँ। अहिले ती हतियार सैनिक संग्रहालयमा राखिएका छन्। अब तपाईँहरु भन्नुहोस् को देशभक्त हो, को क्रान्तिकारी हो?
कसले सहिदको अपमान गर्यो? अहिले बाबुराम भट्टराईलाई भनिएको छ - जनयुद्धको अपमान गर्यो सहिदको अपमान गर्यो। अहिले बाबुराम भट्टराई ती सहिदको सम्मानका लागि काम गरिरहेको छ।
(चुनावी अभियानका क्रममा कञ्चनपुर पुगेका डा. भट्टराईले सोमबार माओवादी पूर्वलडाकूहरुसँग गरेको अन्तर्क्रियाका क्रममा दिएको मन्तव्यको एक अंश)