PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

विवाहका लागि अमेरिका बोलाउने प्रेमिकाले नै छाडेपछि


डा. वनिता थापा/पहिलोपोस्ट

विवाहका लागि अमेरिका बोलाउने प्रेमिकाले नै छाडेपछि
चौध वर्षदेखि म अमेरिकामा बस्दै आएकी छु। अनेकौं कथा-व्यथा र सुसदुःख सँगालेका नेपाली दाजुभाइ, दिदीबैनीलाई भेटेकी छु। प्राय: सबैको साझा समस्या कुनै विशेष सिप नहुनु, अंग्रेजी भाषामा राम्रो दखल नहुनु, वास्तविकताभन्दा निकै फरक सपना देखेर यहाँ आउनु लगायत छन्।
 
करिब दुई महिनाअघि मैले एक नेपाली युवक भेटेँ। उहाँको कथा सुन्दा अरुको भन्दा बिलकुलै फरक, कुनै चलचित्रको जस्तो लाग्ने थियो। यदि उहाँले सत्य बोलेको हो भने (म उहाँले बोलेको सत्य हो भन्नेमा विश्वस्त छु) यस्तो अचम्मलाग्दो र छक्क परिने घटना न त पहिले सुनेको/देखेको थिएँ न त पछि नै देख्न/सुन्न परोस्। व्यक्तिगत गोप्यताको लागि परिचय नखुलाई उहाँले भोगेको कथा उहाँकै शब्दमा प्रस्तुत गर्न चाहन्छु : 

सामान्यता नेपाली चलन अनुसार विवाह गर्ने उमेर नाघिसकेको अवस्थामा एक जना मित्रबाट आएको प्रस्तावलाई सहर्ष स्विकारेर के वान भिसामा अमेरिका आएको हुँ। भिसा लिन र यहाँ आउन दुवै उनले नै सहयोग गरिन्। काठमाडौंको एउटा प्लस टु कलेजमा अध्यापन गरेर मध्यम वर्गीय जीवन बिताइरहेको मैले उनीसँग विवाह गर्न सहमत हुनुमा उनको अमेरिकामा पनि सम्पूर्ण परिवारसँगै बस्ने र नेपाली शैलीकै अनुशासित जीवनशैली भएको कारण हो।
 
अर्कोतर्फ मनमा पलाएको सजिलै अमेरिका आएर बसोबास गर्न पाइने आशालाई पनि नकार्न चाहन्न। उनको मातापिता काठमाडौंमा श्रीमदभागवद् सप्ताह लगाउन गएको बेला दुवै परिवारको सहमतिमा म अमेरिका आउने र यतै आएर विवाह गरेर बस्ने सल्लाह भएको थियो। मैले उनको भाइबाट फोन नम्बर लिएर सोधेको थिएँ, ‘के तिमी तिम्रो अभिभावकको कुरासँग सहमत छौ?’ उनले ‘आफूले बुवाआमाको कुरालाई आजसम्म नाइँ नभनेको र भविष्यमा नभन्ने’ जवाफ दिइन्। 
 
त्यसको केही दिनपछि म अमेरिका आउने प्रक्रिया सुरु भयो। मेरो र उनको सँगै बसेको फोटो चाहिने हुँदा मलाई भेट्न र फोटो खिच्नकै लागि उनी १५ दिनको लागि काठमाडौं आइन्। उनको इच्छा बमोजिम हामी गोरखाको मनकामनादेखि दक्षिणकाली र पलान्चोक भगवतीसम्मका मन्दिर दर्शन गर्न गयौँ। १५ दिनपछि खुसीसाथ उनी अमेरिका फर्किइन् र मेरो आगमनको प्रक्रिया सुरु गरिन्। यी सबै प्रक्रिया पुरा गर्न करिब पाँच देखि सात हजार अमेरिकी डलर खर्च भयो। त्यो सबै रकम उनले नै तिरेकी हुन्। 
 
प्रक्रिया सुरु गरेको करिब तीन महिनापछि भिसा लिने समय आयो। उनी अमेरिकी नागरिक र आम्दानी कर तिरेको सन्तोषजनक विवरण भएपछि मैले सजिलै भिसा पाएँ। मैले भिसा पाएको खबर सुन्दा उनले पनि औधी खुसी व्यक्त गरिन्। तर, त्यसपछि अचानक उनको कुराकानी गर्ने क्रम पातलो हुन थाल्यो। दैनिक एक-दुई घण्टा फोनमा कुरा गर्ने मान्छे अचानक फोन नै नउठाउने, उठाए पनि म ब्यस्त छु भन्न थालिन्। 
 
मैले ‘मसँग किन कुरा नगरेको? केही समस्या छ?’ भनेर सोध्दा, ‘अब हजुरसँग यतै आएपछि कुरा गरौँला’ भन्न थालिन्। मलाई पनि ‘हो नि त’ जस्तो लाग्यो। यो कुरालाई मैले सामान्य रुपमा लिएँ। त्योबीचमा पनि उनका पितासँग मेरो नियमित टेलिफोन सम्पर्क भइरहेको थियो। भिसा पाएको करिब चार महिनापछि उनीसँग विवाह गरेर बाँकी जीवन यतै बिताउने कल्पना गर्दै खुसीसाथ अमेरिका (क्यालिफोर्निया)  अवतरण गरेँ। 
 
त्यसपछि सुरु भयो अचम्मलाग्दो र सपनामा पनि नसोचेको घटना।
 
म पुगेकोमा सम्पूर्ण परिवार खुसी छन् तर उनलाई भने कुनै मतलब छैन। न त उनी मसँग कुरा गर्छिन् न मेरो कुनै वास्ता नै। उनको यस्तो व्यवहार देख्दा मलाई आश्चर्यमिश्रित् दुःख लाग्यो।
 
यसपछि मैले उनको मातापितासँग सोधेँ। ‘काठमाडौँमा घरजग्गा केही नभएको सुकुम्बासी मान्छे हो भनेर कसैले सुनाइदिएको कारण छोरी अलिकति रिसाएकी छिन्, हामी सम्झाउछौँ, तपाईं चिन्ता नलिनुस्’ भन्नुभयो।
 
मैले पनि ‘भइगयो’ ठानेर थप केही अझै बेइज्जतपूर्ण रुपले उनकै घरमा बसेँ। परिवारका सबै सदस्यले अति राम्रो व्यवहार गरे पनि जोसँग विवाह गरेर नाता गाँस्न भनेर सात समुद्रपारिबाट आएको छ, उसले नै शत्रु जस्तो व्यवहार गर्दा मेरो मनस्थिति कस्तो भयो होला? त्यो पीडा मैले मात्र (वा अस्तित्वमा छन् भने भगवानले) अनुभव गर्न सक्छु।  तर, त्यसलाई व्यक्त गर्ने मसँग कुनै शब्द छैनन्। 
 
करिब ३५ दिन उनको घरमा असजिलो अवस्थाका साथ बसेपछि ‘अब उनीसँग विवाह भएर घरजम चल्दैन’ भन्ने निष्कर्षमा पुगेँ र सबैसँग बिदा मागेर निस्केँ। त्यसपछि क्यालिफोर्नियाँ छोडेर अर्कै राज्यमा बसोबास गरिरहेको साथीको घरतर्फ हिँडे। त्यसपछि उनी र उनको परिवारबारे मलाई केही जानकारी छैन। अब जानकारी या मतलब राख्नुपर्ने आवश्यकता पनि रहेन।
 
धेरै धनाढ्य नभए पनि काठमाडौंमा घर जग्गा नै नभएको सुकुम्बासी भने म होइन। करिब दुई वर्षको कुराकानीपछि विवाह गर्ने निधो गरेको र आफूलाई मातापिताको आज्ञाकारी छोरी दाबी गर्ने मान्छेले एउटा अपुष्ट कुराको विश्वास गरेर त्यति बिघ्न अहं पाल्नुको कारण के? उनको निर्णयले मलाई मात्र ठेस पुर्‍याएको छैन वृद्ध पिता र लगभग मृत्यु शैयामा रहेकी बिरामी आमाको मनमा पनि गहिरो चोट दिएको छ।
 
पछि घटनाक्रम बुझ्दा लामो समयसम्म एक्लो रहेका कारण उनी समलिंगी सम्बन्धमा फसिसकेकी रैछन् जस्तो लाग्छ। तर, यो मेरो अनुमान मात्र हो। यसै हो नै भन्न सक्ने स्थितिमा भने म छैन। उनको घरबाट निस्किने बेला पिताले ‘सम्पर्कमा बस्नु होला है’ भनेका थिए। तर, त्यस्तो औचित्यहीन सम्पर्कलाई निरन्तरता दिनु बेकार ठानेर मैले पुरानो फोन नम्बर नै परिवर्तन गरिदिएँ।
 
उनले मलाई ‘हजुरसँग विवाह गर्दिनँ’ भन्दा यति गहिरो गरी छाँगाबाट खसेको थिएँ कि आफूले टेकेको जमिन नै भासिए जस्तो भयो। आफ्नो वरिपरिको आकाश नै घुमिरहेछ, टेक्ने र समाउने कुनै सहारा नै छैन।
 
तर, अहिले भने भगवानले मलाई त्योभन्दा ‘राम्रो’को लागि यति ठूलो परीक्षा लिए होलान् भनेर चित्त बुझाएको छु। हाल म अमेरिकाकै कनेक्टिकट राज्यमा बसिरहेको छु। उनले दिएको धोका भुलेर सामान्य दिनचर्यामा फर्किएको छु। 
 
***
सुन्दै अचम्म र विश्वास नलाग्ने यो घटना भोग्ने व्यक्तिबाहेक अरु केही मित्रले समेत पुष्टि गरेपछि मैले यो आलेख लिएको हुँ। उनीबाट ती फोन नम्बर लिएर कुरा गर्न पनि खोजेँ। तर उनले कहिले फोन नउठाउने, उठाए पनि व्यस्त छु भन्ने जस्ता जवाफ दिएर केही दिन टारिन्। अन्त्यमा यस विषयमा आइन्दा मसँग फोन नगर्नु र गरेमा प्रहरीलाई रिपोर्ट गरिदिन्छु भनेपछि उनको राय राख्न असमर्थ भएँ।
 
फिल्म जस्तै सनसनीपूर्ण यो घटना सुन्दा मलाई त छाँगाबाट खसेजस्तो भयो भने भोग्ने व्यक्तिलाई कस्तो भयो होला! जीवनबारे स्वतन्त्र निर्णय लिने प्राकृतिक अधिकार सबै व्यक्तिसँग छ। तर, अर्कालाई भरोसा दिलाएर भावनामा चोट पुर्‍याउनु त सानोतिनो पाप होइन।

(डा. वनिता अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएकी छिन्।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट