PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

हेपिनुको हद कहिलेसम्म?


अर्जुन अपवाद/पहिलोपोस्ट

हेपिनुको हद कहिलेसम्म?
हामी माइतीघरमा कोटेश्वरतिर जाँदै गरेको यात्रुबाहक बस चढ्यौं। बसमा तिलको दानासम्म पनि अटाउने खाली ठाउँ थिएन। नयाँ बानेश्वरबाट केही मानिसहरु चढे, केही ओर्लिए। मीनभवन पुगेपछि बसको कर्मचारीले यात्रुहरुलाई मिलाउन थाल्यो। यात्री र कर्मचारीबीच भनाभन भएको सुनियो। पछाडि जानुस् भन्दा विवाद भएको रहेछ। गाडीको अवस्था हेर्दा विवाद गर्नुपर्ने खासै कारण थिएन। छेउबाट झगडा हेरिरहेको साथीले भने, 'विवाद गर्ने यात्रुलाई दुर्व्यवहार भएको त थिएन।' उसले 'पछाडि गइदिनुस् न' भन्ने कर्मचारीको आग्रहलाई दुर्व्यवहार ठान्यो। मनमा त्यस्तै अनुभूति भएकाले उसलाई यो सोच आएको हो।
 
मलाई साथीको कुरामा दम छ भन्ने लागेर नै यो लेख लेख्ने जाँगर चलेको हो। समाज विस्तारै ध्रुवीकृत भैरहेको छ। एक थरीको तर्क छ- 'राज्यबाटै विभिन्न समुदायहरु हेपिएका छन्।' अर्को थरी भन्छन्- 'हेपिएको छैन।' हेपिएकै हो वा हैन भन्नेबारे सर्वमान्य मापनको आधार हालसम्म नभेटिएकैले यसै हो भनेर भनिहाल्ने अवस्था पनि छैन। मौकामा आफ्नो विचार नराखेर बेमौकामा राग सुसेल्नुको अर्थ छैन। 

शैशवावस्थामा अभिभावकले सुनाएका कथाझैँ अहिले धेरै वर्ग, समुदायका मनमा बसका यात्रीको झैँ अनुभूति भैरहको अवस्था छ। नेपालमा अहिले धेरै जसो बहसमा हामी हेपिएका छौँ भन्ने सुनिएका कारण पनि केही वर्ग, समुदायका मानिसका मनमा त्यसको गहिरोसँग छाप नै परिसकेको देखिन्छ। यस्तो खाले उत्ताउलो बहसले हामीलाई स्वस्थ बहसबाट वञ्चित गराइहेको छ। साथै अनावश्यक रुपमा शङ्कालु तथा हिनताबोधी बनाउँदै लगेको छ।
 
वर्तमान नेपालमा अधिकांश वर्ग तथा समुदायलाई हामी हेपियौं भन्ने अनुभूति भएको छ। नेपालीभन्दा फरक भाषा बोल्नहरुलाई मातृभाषा नेपाली भएकाहरुले हेपेको भन्ने लाग्छ। काठमाडौँ बाहिरकाहरुलाई काठमाडौँले हेप्यो भन्ने लाग्छ। मधेसका वासिन्दालाई पहाडले हेपेको भन्ने लाग्छ। त्यसै गरी पूर्वकालाई पश्चिमबाट र पश्चिमकालाई पूर्वबाट हेपिएको अनुभूति भएको छ। यस विषयमा अझ गहन खोज गर्दै जाने हो भने लामै अध्ययन गर्न सकिन्छ। पछिल्लो समयमा भएका बहसहरुले यसबारे थप अध्ययन गर्नका लागि निकै ठूलो सहयोग पुर्‍याउँछन्। अझ यही विषयलाई केन्द्रमा राखेर धेरैले आफ्नो धन्दा चलाइरहेको हुँदा यो मुद्दा दिनानुदिन जटिल बन्दै गएको छ।
 
अधिकांशलाई लाग्छ यो देशमा बाहुनहरुले हेपिनु पर्दैन। बाहुनहरु उच्च जातमा पर्ने भएकाले पनि यस्तो सोच आएको हुन सक्छ। सम्भवत: सबैलाई थिचोमिचो गर्ने हेप्ने भन्ने आशय झल्किने गरी प्रयोग गरिएको शब्द बाहुनवादले पनि त्यही अर्थ दिन्छ। आजभोलि के कारण हो 'बाहुन' शब्द अघिको जस्तै प्रयोग हुन छाडेको छ। एक जमानामा बाहुन भएर जन्मनेहरु जन्मजात शोषक हुन्, तिनले राज्यका सबै श्रोतमा अधिकार जमाएका हुनाले ती कुलीन वर्गमा पर्दछन्, तिनीहरु श्रममा विश्वास नगर्ने वर्ग हुन्, अरुलाई शोषण गरेर आफ्नो जीविका धान्नेहरु वर्ग हुन् भन्ने बुझाइ थियो। अझै पनि केहीमा त्यो बुझाइ यथावत् नै छ।
 
नेपाल विविधतायुक्त मुलुक हो। वर्षौंअघिदेखि एउटै भूगोलमा धेरै जातजाति, भाषा, धर्म अपनाउने मानिसहरु बसोबास गर्दै आइरहेका छन्। यसरी बसोबास गर्ने क्रममा जातविशेषमा रहेका विभिन्न विश्वास र प्रचलनहरुले गर्दा नेपालमा सबैको एकैखालको र एकानासको विकास भने नभएकै हो। नेपालको पहिलो कानुनी दस्तावेज हिन्दु धर्मबाट प्रभावित भएको भेटिन्छ। पुरानो समयमा शासकहरुले हिन्दु धर्ममा आधारित भएर राज्य सञ्चालन गर्ने गरेका थिए। तर पनि १९१० मा लागू भएको मुलुकी ऐनमा हिन्दु समाजमा वर्जित मानिएका भाउजु व्यहोर्ने लगायतका चलन पनि केही समुदायका लागि छुट गरिएको थियो। हुन त त्यसमा मान्छे जिउँदै जलाउने सति प्रथालाई पनि मान्यता दिइएको थियो। हामी त्यो समयबाट अहिले धेरै अगाडि आइसकेको छौं। अझै पछाडि नै फर्केर बस्ने हाम्रो प्रगति नहुने देखिन्छ। अगाडि बढ्नु नै अहिलेको आवश्यकता हो।
 
नेपाली समाजमा कुनै न कुनै प्रकारको विभेद नभोग्ने सायदै होलान्। त्यसलाई अनुभूति गरियो वा गरिएन भन्ने प्रमुख सवाल हो। यदि मनमा विभेद हुँदैछ भन्ने लाग्यो भने हामीले सकरात्मक रुपमा गरिएका व्यवहारलाई पनि विभेद भनेर शङ्का गर्नतिर लाग्छौं र त्यसैअनुसार व्यवहार गर्ने गर्छौं। मैले धेरै ठाँउमा त्यस्ता घटनाहरु देखेको छु। कुनै ठाँउमा सकरात्मक सोच राखेर काम गर्न खोज्दा पनि समस्या देखिएको छ। कतै कतै विभेद हुँदा पनि त्यसलाई वास्ता नै नगर्नेहरु पनि छन्।
 
अन्त्यमा म आफ्नै अनुभूति राख्न चाहन्छु। सानैदेखि टोपी लगाउने मेरो बानी नै थियो। टोपी लगाएर विद्यालय जाँदा माथिल्लो कक्षाकाले फाल्ने गर्दथे। कतिपटक त कक्षामा शिक्षकले टोपीको डस्टर पनि बनाए। बसमा हिँड्दा टोपी लगाएकै कारण बसका कर्मचारीहरुको दुर्व्यवहार पनि सहेको छु। सँगैका साथीले ५ रुपैयाँ छैनभन्दा चुप लाग्ने कर्मचारीले मलाई भने पूरै भाडा नहुँदा बीचैमा झारिदिने समेत घुर्की लगाएको अनुभव छ। सरकारी कार्यालयहरुमा टोपी लगाएकै कारण रुखो व्यवहारको सामना गरेको छु। अवस्था अझै पनि यही नै रहेको छ। एकथरीले अझै पनि टोपी लगाउनेहरु विशिष्ट हुन्छन् र उनीहरुलाई राज्य तथा समाजले विशिष्ट व्यवहार गरेको छ भनेर अनर्गल प्रचार गरिरहेका छन्। आम रुपमा भोगिने समस्याहरु यस्तै यस्तै हुन्।
 
विभेद नेपालमा सबै क्षेत्र वर्ग समुदायमा व्याप्त छ। त्यसको मात्रा भने समय परिस्थितिका आधारमा धेरै वा थोरै हुन सक्छ। विभेद भोग्ने भन्दा पनि त्यो हुन्छ भन्ने बुझाई धेरै घातक छ। भोगेका भोगाइहरुलाई समयकालमा बिर्सिन सकिन्छ। मनमा गढेको कुरा भने बिर्सिन पनि धेरै समय लाग्छ। सबैले सबैको सम्मान गर्ने वातावरण सिर्जना गर्न ढिलो भैसकेन र!
[email protected]



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट