PahiloPost

Jun 20, 2018 | ६ असार २०७५

​यो दशैंमा जमरा राख्ने मेरी आमा छैनन् !


दीपज्योति श्रेष्ठ/पहिलोपोस्ट

विगतका वर्षहरुमा भए यतिबेला हाम्रो घरमा पनि दशैंको रौनकले अहिले अरुलाई झैं छोइसकेको हुन्थ्यो। अन्य चाडहरु काठमाडौंमा मनाए पनि दशैं मनाउन भने हामी नुवाकोटको घर नै जान्थ्यौं किनकि त्यहाँ हाम्री ‘आमा’ थिइन्। राजधानीमा जतिसुकै कामको प्रेसर भएपनि यो चाडमा गाउँ जानुको मज्जा छुट्टै हुन्थ्यो। घटस्थापनाको दिनदेखि छोराछोरीको पर्खाइमा रहेकी उनको फोन आउन सुरु हुन्थ्यो।

‘गाडी भिड हुन्छ छिट्टै मिलाएर आउनु!’ उनले फोनमा भन्दा उडेर अहिलेनै उनका सामु पुगुँ जस्तो लाग्थ्यो। तर के गर्नु आधुनिक मान्छेका विवशताहरुले उसलाई उमेरको जुनसुकै पलमा पनि नछोड्ने रहेछ। हरेक पल केही न केही बाध्यताहरुले उसलाई जकडेर बाँधेको हुन्छ जसबाट उम्कन निकै गाह्रो हुँदोरहेछ।

पहिलापहिला त जसोतसो घटस्थापनाको दिनतिरै गाउँ पुगिन्थ्यो। दुई/तीन वर्ष भयो कामको व्यस्तताले फूलपातीको दिनसम्म उनले बाटो कुर्नुपर्थ्यो। यसो हुँदा जतिजति नयाँ दशैंहरु आउथे दशैंमा म उनलाई काम सघाउनबाट बन्चित हुन्थेँ।तर घरमा एक्लै दशैंको तयारी गर्नुपरे पनि उनी भने कत्ति आत्तिन्न थिइन्।

गाउँको घर काम त सधैं चापाचाप हुन्थ्यो नै। अझ दशैंमा त झन् दोब्बर नै भन्दा फरक नपर्ला। घर रंग्याउन माटो खोज्न जाऊ, घर पोत, लुगा धोउ, घर सफा गर, मसला कुट, के के हो के के तर पनि उनलाई कहिल्यै थकाई लागेन। उनले कहिल्यै गुनासो गरिनन्। एक्लै खटिएर काम गर्थिन् र दिनमा एकपटक हामीलाई फोन पनि गर्न भ्याउँथिन्। यति धेरै काम गर्दा पनि चाडबाडको बोझ सायद कहिल्यै भएन उनलाई बरु पारिवारिक मिलनको आभाषले होला उनीमा अझ बढी उर्जा भरिन्थ्यो |

घरमा जमरा राखेको दिनदेखि दशैंको रौनक सुरु हुन थाल्थ्यो। हाम्रोमा त सधैं उनले नै हो जमरा राख्ने। जमरा राखेको दिन उनी धेरै खुशी हुन्थिन् - दशैंलाई स्वागत गर्न। उनलाई दशैंमा गरिने पूजापाठमा विशेष चासो लाग्दथ्यो। घर हुँदा शानले पूजा कोठामा जमरा राख्थिन् तर भूकम्पले घर भत्काएपछि पोहोरको दशैंमा भने उनलाई निक्कै समस्या भएथ्यो जमरा राख्ने ठाउँ नभएर। तर, पछि उनले दराजको सानो ठाउँमा भए पनि मज्जाले जमरा उमारिन्, जसरी उनले अहिलेसम्म हाम्रो सानो परिवारमा माया, मोह र खुशी उमारेकी थिइन्। टहरामा पनि दशैंको खुशीमा कुनै कमी हुन दिइनन् उनले। अर्को दशैंमा भने घरमै जमरा राख्ने कामनाका साथ बडो हर्षोल्लासका साथ मनाएका थियौं पोहोरको टहराको दशैं। तर, के थाहा थियो र उनको यो कामना अब कहिल्यै पूरा हुँदैन भनेर।

चाडबाडमा रमाउन हामीलाई उनले नै सिकाएकी हुन्। अरुले जस्तै हामीले पनि सधैं विशेष तरिकाले मनाउथ्यौं हरेक चाडहरु। तर, यसपाली हाम्रो घरमा त्यो रौनक कत्ति पनि छैन। यसपालीको दशैं एउटा बाध्यताको चाड भएको छ हामीलाई। हाम्रो त्यो टहरामा जमरा पनि राखिएको छैन किनकि हाम्री ‘आमा’ छैनन् यसपाली।

धेरै कोशिश गर्‍यौं तर पनि उनले दशैं आउनु दुई महिना अघि नै छाडेर गइन् सबै चाड खल्लो बनाई। दशैंजस्ता अन्य चाडबाडको सबै रौनक, खुशी, हर्ष अब केवल स्मरणमा मात्र छ। यथार्थमा त बाध्यता छ, दुनियाँदारी छ, औपचारिकता मात्र छ। चारैतिर उत्साह र उमँगले भरिएको यो समयमा यस्तो अकल्पनीय वियोगले कति सताउँदो रहेछ त्यो हामीले पहिला त कहिल्यै आभाषसम्म पनि गरेका रहेनछौं। भूकम्प गएको वर्षको दशैंमा पनि सायद धेरै परिवारमा यस्तै सन्नाटा छाएको हुनुपर्छ तर मैले त्यसको आभाष एक रत्ति पनि गरेकी थिइन। आज आफैलाई पर्दा सोच्दैछु परिवारको कुनै सदस्यको वियोगको चाडबाड कस्तो हुन्छ भनेर|

६ महिनादेखि प्रयास गर्दा पनि दशैंसम्म उनलाई बचाउन नसकेको अनौठो पश्चातापपूर्ण र कहालीलाग्दो पीडा छ अहिले हामीमा। यस्तो पीडा सायद हामीजस्ता कोही न कोही सन्तानले हरेक वर्ष भोगिरहेका होलान्। क्यान्सरले यस्ता कति जनाका दशैंहरु अनायासै खल्लो बनाएको होला, कतिको आमालाई लगेर, कतिको बाबालाई त कतिको छोराछोरीलाई|

मृत्यु ध्रुवसत्य हो तर अकालमै अथाह पीडा सहेर उपचारको क्रममा आश जगाउँदै मृत्युको शैय्यासम्म पुर्‍याउने प्रकृतिको नियम सार्है उदेकलाग्दो छ। हुन त यी सब भावनात्मक कुरा होलान्। तर, यस्ता भावनाहरुले गर्दा नै सायद हाम्रो समाजमा यस्ता चाडबाडहरुको निरन्तरता अझैसम्म कायम भएको होला - चाहे चाडबाडहरुको वास्तविक विशेषताहरु जे जे भए पनि।

किमो थेरापीको दौरान ४ महिना अस्पतालमै बस्नुपर्छ भन्ने थाहा पाएपछि उनले सम्झेको पहिलो विषय दशैं नै थियो। ‘दशैंमा पनि घर जान नपाउने’ भन्दै एकछिन आत्तिएकी थिइन्। र, पछि हामीलाई नै सम्झाउँदै ‘ठीक छ रोग निको होस् अनि यस्ता दशैं त धेरै मनाउनुपर्छ’ भनेर हामीलाई नआत्तिन सङ्केत गर्दै हौसला दिँदा सार्है लाचार महसुस हुन्थ्यो। जिन्दगी सार्है अनफियर लाग्थ्यो। साँच्चै आमा महान् हुन्छिन्। कहिल्यै नआत्तिने, कहिल्यै आइया नभन्ने। किमोको त्यो पीडामा पनि कहिल्यै हिम्मत हारिनन् उनले। बाँच्नको लागि सधैं लडिरहिन्। छिट्टै निको भएर ढलेको घर फेरि उभ्याउने इच्छा थियो। तर त्यसको मूर्त रुप हेर्न पर्खिन सकिनन्। यो त हाम्रो घरको एउटा उदाहरण मात्र हो। २ महिना अस्पतालको बसाईंमा म धेरै घरका यस्ता वियोगका कहानीहरुको प्रत्यक्षदर्शी भएँ। धेरैका कथाहरु त्यस्तै थिए पहिले भूकम्पको पीडा, अहिले क्यान्सरको त्रास र अनि नजिकिँदो चाडबाडको निराशामा झिनो एउटा आश हुन्थ्यो जुन अस्पतालको लामो बसाईंमा जुनकुनै दिन पनि चुडिन सक्थ्यो। कोहीको उपचारको पैसा नभएर, कोही डाक्टर र नर्सको हेलचेक्र्याइँले त कोहीको रोगसँग लड्ने क्षमता नै मरेर।

उनीबिनाको अब हरेक दशैं ममताहीन हुनेछ हाम्रो घरमा। तर, के गर्नु जिन्दगी चल्नुपर्छ। नियति यस्तै नै छ। फेरि भविष्यमा यस्ता धेरै दशैंहरु आइरहने छन् तर अफसोच हाम्रो घरमा उनले उमारेको जमरा लगाउने सौभाग्यको दशैं अब कहिल्यै आउँदैन। यस्तै यस्तै छ यसपालिको दशैं मेरा लागि!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट