PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

गोपाल खड्काको करिश्माः तीन वटा घर खरिद दुई अपार्टमेन्टमा बैना, अर्काकी श्रीमतीका नाममा बैंक खाता र घर



पहिलोपोस्ट

गोपाल खड्काको करिश्माः तीन वटा घर खरिद दुई अपार्टमेन्टमा बैना, अर्काकी श्रीमतीका नाममा बैंक खाता र घर
फोटोः फाइल

काठमाडौँः अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा अहिलेसम्मकै धेरै बिगो दाबी गरिएको मुद्दा सोमबार विशेष अदालतमा दायर भएको छ। नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो। अख्तियारले बिगो १८ करोड ६६ लाख पाँच हजार ६२९ रुपैयाँ कायम गरेको छ।

अदालतले खड्काले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति अन्य व्यक्तिका नाममा समेत लुकाएको दाबी अख्तियारको छ। दाबी अनुसार ७ करोडभन्दा बढीको सम्पत्ति अन्य व्यक्तिको नाममा लुकाइएको छ। दशीका रूपमा अख्तियारले ८९ लाख ८९ हजार रुपैयाँ नगदै अदालतमा दाखिला पनि गरेको छ ।

२०६९ चैत २ देखिको अनुसन्धान अवधिसम्म अख्तियारले खड्कासँग १८ करोडभन्दा बढी स्रोत नखुलेको सम्पत्ति रहेको दाबी गरेको छ।

यसरी कमाएको सम्पत्ति श्रीमती शर्मिला र अन्य एक महिलाको नाममा लुकाइएको अख्तियारको दाबी छ।

 

कसको नाममा कति लुकाइयो

अभियोगपत्र अनुसार खड्काले आर्जन गरेको गैरकानुनी सम्पत्ति तेह्रथुम जिल्लाको साबिक जिरीखिम्ती गाविस २ घर भई हाल बुढानीलकण्ठ बस्ने अनिता लामा सोदेम्बाको नाममा घर जग्गा र गाडी लुकाएका छन्। जाँच अवधिमा खड्काले पैतृक सम्पत्तिबाहेक तीन वटा घर जोडेका छन्। अन्य दुई खरिदका लागि बैना रकम दिएका छन्।

अभियोगपत्रमा भनिएको छ -मिति २०६९।१२।२ देखि अनुसन्धान अवधिसम्ममा निजले पुर्ख्यौली घर बाहेक नै ३ वटा घर निर्माण तथा खरिद गरिसकेको र २ वटा घर खरिदका लागि आंशिक भुक्तानीसमेत दिइसकेको र काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको पाइयो।'

अख्तियारका अनुसार खड्काले आर्जन गरेको सम्पत्तिबाट खरिद गरिएको काठमाडौँ साबिक महाकाल गाविस ४ को कित्ता नं। १९१ को सिजी डेभलपर्सले निर्माण गरेको सिजी हिल्स हात्तीगौंडाको तीन करोड २५ लाखको घर लामाका नाममा दर्ता गरिएको छ।

यस्तै काठमाडौँ साबिक विष्णु बुढानीलकण्ठ गाविस ३ को कित्ता नम्बर ६८९, १४८२, तथा १५२० को  ४० लाख ११ हजार ८७५ मा खरिद गरेको ८ आना जग्गा पनि लामाकै नाममा लुकाइएको अख्तियारको दाबी छ।

खड्काले लामाका नाममा ८४ लाख ४६ हजार रुपैयाँको बा १६ च ८४८४ नम्बरको टक्सन गाडी पनि लामाकै नाममा दर्ता गरेको दाबी अख्तियारको छ।

अख्तियारको दाबी अनुसार खड्काले लामाको नाममा दर्ता हुनेगरि काठमाडौँ जिल्ला साबिक महांकाल गाविस ४ स्थित कित्ता नम्बर ३५० को सिजी डेभलपर्सले निर्माण गरेको घर नं। २२ खरिद गर्नका लागि तीन करोड पाँच लाख भुक्तानी गरेका छन्।

लामाको नाममा रहेको एनएमबी र सिटिजन बैङ्कको खाताहरूबाट खड्काले नै कारोबार गर्ने गरेको देखिएको अख्तियारको दाबी छ।

पढ्नुस् संक्षिप्त अभियोगपत्र



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell