PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बम हत्यादेखि बाबु पक्राउसम्मः 'अप्रेसन शंखमुल' को नालीबेली



बम हत्यादेखि बाबु पक्राउसम्मः 'अप्रेसन शंखमुल' को नालीबेली

  • अनन्त कोइराला/पहिलोपोस्ट
काठमाडौं : दुई वर्षअघि न्यायधीश रणबहादुर बमको गोली हानी हत्या भयो। प्रहरीकै भनाईमा यो दशककै हाइ प्रोफाइल हत्या थियो। न त हत्याको सुराक थियो न त अनुसन्धानको प्रष्ट दिशा नै। कुहिरोभित्रको काग बनेको प्रहरीले हत्या अनुसन्धानको कोड नेम राख्यो- अप्रेसन शंखमुल। यो हाइ प्रफाइल हत्याका मुख्य आरोपी बाबु थापा पक्राउ परेपछि अप्रेशन शंखमुलको प्रारम्भिक मिसन टुंगिएको छ।

अनुसन्धानमै २ वर्ष ७ महिना

२०६९ साल जेठ १८ गते शंखमुल नजिकैको युएन पार्कमा गोली हानी हत्या गरिएका सर्वोच्च अदालतका बहालवाला न्यायधीश हत्याका अभियुक्त पक्राउ परेसँगै प्रहरीले उनीहरुको योजना पर्दाफास गरेको छ। हत्यामा संलग्न चारजना पक्राउ परेसँगै प्रहरीले घटना भएको २ वर्ष ७ महिना लामो प्रारम्भिक अनुसन्धान टुंगिएको बताएको छ।

अनुसन्धानका क्रममा प्रहरीले २ लाखभन्दा बढी एसएमएस, हजारौं फोन कल, सामाजिक सञ्जालका सूचनाहरुको विश्लेषणका आधारमा घटनाको जरासम्म पुगेको बताएको छ।


अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो, प्रहरी प्रधान कार्यालयको बिशेष ब्यूरो, महानगरीय प्रहरी आयुक्तको कार्यालय तथा मातहतका युनिटहरुबाट करिब सय जनाको संयुक्त अनुसन्धान टोलीले निरन्तर दुई महिनासम्म यही घटनाको अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख एअाइजी हेमन्त मल्ल ठकुरीले बताए। यो अनुसन्धानलाई प्रहरीले 'अप्रेशन शंखमुल' नाम दिएको थियो।  

घटना अनुसन्धानको लागि तत्कालिन प्रहरी महानिरीक्षक कुवेर सिंह राणाको अध्यक्षतामा अनुसन्धान समिति गठन भएको थियो। नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले यो घटना यो दशककै हाइ प्रोफाइल हत्या भएको र अनुसन्धानका लागि सबैभन्दा बढी प्रहरी जनशक्ति प्रयोग भएको र खर्चिलो अनुसन्धान भएको बताएका छन्। उनले २०६९ जेठ १८ गते घटेको घटनाका अभियुक्तलाई २०७१ पुस १८ गते प्रकाउ गरिएको बताए।  

हत्या अभियोगमा बाबु थापा भनिने मेघबहादुर थापा, शिव भन्ने करण चौधरी, नवीन भन्ने प्रेमराज खड्का, दिपक कर्ण पक्राउ परेका छन्। अर्का अभियुक्त संजय ईस्माली मगर (भगवान) भने फरार छन्। उनी हाल साउदी अरेबियामा रहेको देखिएको र प्रहरीले उनलाई नेपाल ल्याउन प्रयास गरिरहेको बताएको छ।  पक्राउ परेका ढुंग्रेखोला, सर्लाहीका ३८ वर्षीय बाबु थापा हत्याका मुख्य योजनाकार हुन्।

हत्याका लागि हतियार व्यवस्थापन पनि उनैले गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ। त्यस्तै जनकपुरका ३८ वर्षिय शिव भन्ने करण चौधरी सार्प सुटर हुन्। पक्राउ परेका अर्का अभियुक्त नयाँ रोड, सर्लाहीका २८ वर्षिय प्रेमराज खड्का घटनामा मोटरसाइकल चालक र निगरानी गर्ने कार्यमा संलग्न थिए। त्यस्तै जनकपुर घर भएका ३८ वर्षिय दिपक कर्ण पनि निगरानी गर्ने र पेस्तोल बोकी सहयोग गर्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ। फरार अभियुक्त रामेछाप घर भएका संजय ईस्माली मगर सार्प सुटर हुन्।  

यस्तो छ अनुसन्धानको विवरण

चुरे भावर पार्टीका तत्कालिन उपाध्यक्ष बाबु थापा २०६७ सालमा अपहरण तथा शरीर बन्धक मुद्दाको पुर्पक्षका लागि जलेश्वरको कारागारमा थुनामा परेका थिए। त्यहीं रहँदा सोही कारागारमा हातहतियार खरखजाना मुद्दामा जेल सजाय भोगिरहेका करण चौधरीसँग उनको चिनजान भएको थियो। त्यो चिनजानलाई थापाले मित्रतामा बदले। दुवै कारागार मुक्त भए। बाबु थापाले चौधरीलाई काठमाडौंमा डेराको व्यवस्था पनि गरिदिए। 


मुख्य योजनाकार (लामो कपाल पाल्ने) सहित अन्य अभियुक्त।
आफ्नो राजनीतिक करिअर ध्वस्त बनाएको बदलाको पहिलो निशानामा रहेका न्यायधीश बमको हत्या योजना बन्यो। हत्या योजना २०६८ मा भगवान भन्ने ईस्माली मगरसँग मिली योजना बनाएको अनुसन्धानबाट खुलेको छ। भगवान कै सल्लाहमा न्यायधीशलाई गोली हान्नका लागि आटिलो र सार्प सुटरको आवश्यकता थियो। त्यसको लागि उनीहरुले करण चौधरीलाई छाने।  

घटनामा तीनवटा पल्सर मोटरसाइकल प्रयोग भएको देखिएको छ। घटनामा प्रयोग भएको बा ४३ प ७२०८ नम्बरको रातो पल्सर चोरीको भएको देखिएको छ। सो मोटरसाइकल २० हजार रुपैयाँमा खरिद गरिएको थियो। सोही मोटरसाइकलमा सवार भगवान र करण चौधरीले न्यायधीशलाई गोली प्रहार गरेका थिए। त्यस्तै अर्को कालो रङको पल्सरमा बाबु थापा हतियारसहित एक्लै थिए।  

घटना विवरण अनुसार घटना भएको दिन बिहान १० बजे तीन मोटरसाइकलसहित कोटेश्वरमा जम्मा भएका थिए। योजना मुताबिक कोटेश्वरबाट भगवान थापा र शिव (करण) चौधरी १/१ थान हतियार सहित शंखमुलतिर लाग्छन्। अर्को बाइकमा प्रेमराज खड्का र दीपक कर्ण एउटा हतियार बोकेर न्यायधीश बमको घर कलंकीतिर लाग्छन्। न्यायधीश बम घरबाट निस्केपछि खड्का र कर्णको टोलीले बाबु थापालाई जानकारी दिन्छन्। उनले घटनास्थलमा रहेको टोलीलाई जानकारी गराउँछन्।


बंगलामुखीको दर्शनका लागि परिवारसहित आएका बमलाई मन्दिरमै आक्रमण गर्ने उनीहरुको योजना हुन्छ। तर त्यहाँ आक्रमण गर्दा धेरै जना घाइते हुने जानकारी भगवानको टोलीले बाबु थापालाई जानकारी गराउँछन्। त्यसपछि दुईजना सार्प सुटर भगवान मगर र करण चौधरी पार्कको खुला ठाउँतिर जान्छन्।  बम बंगलामुखी दर्शन गर्न जान्छन्। बाबु थापा न्यायधीशको गाडी अघिपछि गर्दै मोटरसाइकलबाट पछ्याइरहन्छन्। न

बमले परिवारलाई मन्दिरमा छोडेर आफ्ना साथी राम गिरी र सुरक्षाकर्मी प्रहरी सहायक निरीक्षक महेश गिरी सहित अदालततिर लाग्छन्। यता बाटोमा भगवान मगर र करण चौधरी न्यायधीशलाई कुरिरहेका हुन्छन्। बाबु थापा त्योबेला सम्म पनि न्यायधीशको रेकी गरिरहेका हुन्छन्। न्यायधीश बमको गाडी अगाडि एउटा मोटरसाइकल स्पीडमा आएर रोकिन्छ। 


घट्नापछि अभियुक्त भाग्न प्रयोग गरेको रुट

शंखमुलको युएन पार्क छेउमा न्यायधीशको गाडी पुगेपछि शिव चौधरीले पहिलो गोली अंगरक्षकलाई प्रहार गर्छन्। अंगरक्षकलाई गोली लागेपछि भगवानले न्यायधीशलाई गोली प्रहार गर्छन्। पछि दुवैजनाले न्यायधीश बममाथि गोली प्रहार गर्छन्। उनलाई ६ गोली प्रहार गरिएको थियो। बमका साथी राम गिरीलाई भने गोली ताकेरै नहानेको तर बमलाई गोली प्रहार गर्ने क्रममा लागेको अनुसन्धानमा देखिएको छ।

 न्यायधीशमाथि गोली प्रहार गरेपछि भगवानले नेपाली जनता स्वतन्त्र स्वाभिमान राष्ट्रिय पार्टीको पर्चा निकाल्छन् र घटनास्थलमा छोड्छन्। त्यसपछि उनी  र शिव चौधरी मोटरसाइकलमा शंखमुल हुँदै सहयोगीनगरतिर भाग्छन्। उता घटनालाई नजिकबाट नियालिरहेका बाबु थापा पनि कोटेश्वरतिर लाग्छन्। आफ्नो मोटरसाइकल बाटो मै छोडेर उनी आफ्नो घर काँडाघारीतिर लाग्छन्।

प्रहरीले घटनास्थलमा ७.६५ एमएमका ७ थान गोलीका खोकाहरु भेटेको थियो। घटनामा अभियुक्तहरुले ४ वटा पेस्तोल लगेका भएपनि जम्मा दुईवटा पेस्तोलबाट मात्र फायर गरेको देखिएको छ। प्रयोग भएका हतियार मध्ये एउटा पेस्तोल ज्ञानु लामाले राखेको खुलेको छ। ज्ञानु लामा अहिले हातहतियार तथा खरखजाना मुद्दामा नख्खु कारागारमा रहेका छन्। अरु दुईवटा हतियार भगवान मगरले राखेको देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell