PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मोरङ ६ को रोमाञ्चक प्रतिस्पर्धा : लालबाबु पण्डित Vs डा. शेखर कोइराला, को अगाडि?



अनन्तराज न्यौपाने

मोरङ ६ को रोमाञ्चक प्रतिस्पर्धा : लालबाबु पण्डित Vs डा. शेखर कोइराला, को अगाडि?

विराटनगर : एकातिर नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला र अर्कातिर एमालेका चर्चित पूर्व मन्त्री लालबाबु पण्डित; दुई हेभीवेट आकांक्षीको तीव्र प्रतिस्पर्धा तातोले मोरङको क्षेत्र नम्बर ६ रन्कन थालेको छ।

यस्ता हुन् कोइराला

डा. कोइरालाले यसअघि यही भूगोल क्षेत्र नं.७ हुँदा २०६४ को उपनिर्वाचन र २०७० को दोस्रो संविधान सभा गरी गरी २ वटा निर्वाचनबाट विजयको माला पहिरिसकेका छन्।  यस पटक उनी चौथो पटक चुनाव लड्दै छन्। 

पहिलो संविधान सभाको निर्वाचन २०६४ मा पराजयको चोट पाएका डाक्टरले उपनिर्वाचनमा जितेरै छाडेका थिए ।

नेपाली काङ्ग्रेसमा कोइराला परिवारको राजनीतिक वर्चस्वलाई नेतृत्व गर्न कस्सिएका डा. कोइरालालाई पार्टीको आगामी महाधिवेशनमा सभापतिका उम्मेदवार र आगामी संसद्मा प्रधानमन्त्री दावेदारसम्मका विशेषणहरू उनका समर्थक कार्यकर्ताले भिराइरहेका छन्।

पार्टीको पछिल्लो महाधिवेशनमा केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएका उनी हाल संसदीय बोर्डमा पनि रहन सफल भए। रुखो स्वभावका भनेर आलोचित उनी पार्टी बोल्न नसकेका धेरै मुद्दामा स्पष्ट विचार र दृष्टिकोण दिने गर्छन्। पार्टीमा आफूसित विमति राख्नेलाई सिध्याउने उनको छवि बनेको छ। तथापि देश दौडाहाको अथक परिश्रमबाट राष्ट्रिय नेतृत्वमा उभिन सफल छन्।

लालबाबु कस्ता ?

सर्लाहीबाट तत्कालीन मालेमा भूमिगत राजनीति गर्न मोरङ आएका लालबाबु पण्डितले पनि मोरङको क्षेत्र नम्बर ३ बाट २०४८ र २०५६ मा प्रतिनिधि सभाका चुनाव जितेका हुन्।

पहिलो संविधान सभामा समानुपातिक कोटाबाट सभासद् भएका पण्डित दोस्रो संविधान सभामा सांसद् बिना नै सामान्य प्रशासन मन्त्री भए र बढी चर्चित भए।

विदेशमा ग्रिनकार्ड वा पिआर लिएका नेपालका सरकारी कर्मचारीलाई कारबाही गरेर ख्याति कमाएका पण्डित यसपछि राष्ट्रवादी र स्वाभिमानी नेताका रूपमा चिनिँदै आएका छन्।
 
एमालेका पोलिटब्युरो सदस्य रहेका लालबाबु पार्टीको गुटभित्र माधवकुमार नेपालका समर्थक हुन्। माधवसमर्थक भएकै कारण ओलीको सरकारमा सबैले हेपेको मन्त्रालय पाएका पण्डित सबैभन्दा बढी चर्चित र लोकप्रिय भएर निस्किए।

आफूलाई सादा जीवन उच्च विचारको परिपालक भन्न रुचाउने उनी एउटा पुरानो साइकल हाँकेर विराटनगरमा राजनीतिक भेटघाट गरिरहेका हुन्छन्। कतै टाढा जानुपरे वातानुकूलित गाडीभन्दा सार्वजनिक सवारी वा टेम्पो रुचाउँछन्। उनको आत्मपरक शैलीको संस्मरणात्मक पुस्तक यही हप्ता विमोचित हुँदैछ।

स्थानीय तहको चुनावी गणितमा शेखर बलिया

वाम गठबन्धनको भुङ्ग्राले नेपाली काङ्ग्रेसलाई देशभर पोलिरहेका बेला मोरङको क्षेत्र नम्बर ६ मा भने डाक्टर शेखर बलियो उम्मेदवारका रूपमा प्रस्तुत छन्। तर यो बलियोपन विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकको एकीकरण र राप्रपाद्वारा यस क्षेत्रमा नेकालाई गरिएको समर्थनका कारणमात्र सम्भव भएको हो।

स्थानीय तहको चुनाव परिणामअनुसार यस क्षेत्रमा काङ्ग्रेसले १९ हजार ७ सय मत हासिल गरेको छ। त्यस्तै फोरम लोकतान्त्रिकले ७ हजार ८ सय ७० र राप्रपाले २ हजार ७ सय ६२ मत ल्याएको छ। यसरी स्थानीय तहका आधारमा डा. शेखरका पोल्टामा ३० हजार ३ सय ३२ मत देखिन्छ।

वाम गठबन्धनअन्तर्गत २६ हजार ३ सय ३४ मत छ जसमा एमालेको १८ हजार ५२ र माओवादीको ८ हजार २ सय ८२ मत छ।

यसप्रकार वाम गठबन्धनभन्दा शेखरको पक्षको मतसङ्ख्या ३ हजार ९ सय ९८ ले बढी रहेको स्थानीय तहको निर्वाचन परिणामले देखाउँछ। यद्यपि स्थानीय तहमा स्थानीय मुद्दाको प्रभाव र केन्द्रीय राजनीतिमा केन्द्रीय नेताको प्रभाव फरक हुने हुनाले मतदानको शैली फरक हुनसक्छ। 

मतसङ्ख्या बढी, अवस्था रक्षात्मक– डा. शेखर

मतसङ्ख्या कम, शैली आक्रामक– लालबाबु

मतसङ्ख्यामा बढी भए पनि चुनावी मुद्दामा भने डा. शेखरको पक्ष रक्षात्मक पङ्क्तिमा उभिन बाध्य छ । उता लालबाबु स्थानीय एजेन्डामा आक्रामक शैलीमा प्रस्तुत छन्।

स्थानीय तहको पुनः संरचना गर्ने बेलामा विराटनगरलाई महानगरपालिका बनाउनु नहुने र बनिहाले पनि तत्कालीन टङ्कीसिनवारी गाविसलाई महानगरपालिकामा गाभ्नु नहुने अडान डा. शेखर र उनका समर्थक कार्यकर्ताले राखेका थिए।

यसको उल्टो एमाले पार्टीले भने तत्कालीन टङ्कीसिनवारी गाविस समेतलाई गाभेर विराटनगरलाई महानगरपालिका बनाउनु पर्ने अभियान चलाएको थियो।

‘स्थानीय तह पुनःसंरचना आयोगमा म आफैँ गएँ’, नेता लालबाबुले मङ्गलबार पत्रकार सम्मेलनमा भने, ‘त्यहाँका अधिकारीले नेपाली काङ्ग्रेसका नेता शेखरलाई राजी गराउनुहोस् अनि मात्र हामी विराटनगरलाई महानगरपालिका बनाउँछौँ र टङ्कीसिनवारीलाई पनि महानगरपालिकामा गाभ्छौँ भने।’

पण्डितको भनाइ थियो, ‘यसपछि म आफैँ टङ्कीसिनवारीका ५ वटा वडामा पुगेर महानगरपालिकामा समावेश हुन १५ हजारको हस्ताक्षर गराएँ र आयोगमा पनि बुझाएँ । तर पनि टङ्कीसिनवारीलाई महानगरपालिकामा ल्याउन सकिएन।’

तत्कालीन टङ्कीसिनवारी गाविसमा अन्य ३ गाविस जोडेर हाल बुढीगङ्गा गाउँपालिका बनाइएको छ।

डा. कोइरालाले बुढीगङ्गा गाउँपालिकालाई महानगरमा मिसाउने होइन, छुट्टै नगरपालिका बनाउने प्रतिबद्धता मतदातासमक्ष प्रकट गरेका छन्।
‘स्मल इज ब्युटीफुल’, शेखरको भनाइ थियो, ‘बुढीगङ्गालाई महानगरपालिकामा गाभ्नु उचित र आवश्यक छैन । हामी यसलाई नै नगरपालिका बनाउने छौँ।’

पार्टीभित्र समस्या : पण्डितको कम, कोइरालाको बढी

मतसङ्ख्याको गणितमा अगाडि रहेका कोइरालाले आफ्नै पार्टीभित्र बढी समस्या झेलिरहनु परेको छ। विशेषतः आफूसित विमति राख्ने कार्यकर्ता पेलेर जाने शैली अपनाएका कोइरालाविरूद्ध कार्यकर्ताको ठूलो पङ्क्ति रुष्ट छ।

कोइरालाको शैलीसित विमति राख्ने कार्यकर्ता उनले सामान्य भेट र वार्तासमेत गर्न नचाहेको गुनासो गर्छन्।
 
यसरी रुष्ट हुनेमा दोस्रो संविधानसभाको निर्वाचनमा टिकट पाएका रमेशजङ्ग रायमाझी, ट्रेड युनियनका केन्द्रीय नेता जनार्दन निरौलासहित केदार बस्नेत, सूदन कार्की, दामोदर कोइराला, प्रेमचन्द माझी, भुवनेश्वर मण्डल, अशोक रिजाल, दीपक लोहनी लगायत छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell