PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​जहाँ नेपाल-भारत सीमामा रातभर 'पर्खाल' लाग्छ : डेटलाइन दार्चुला Vs धार्चुला



ऋषिकेश दाहाल

​जहाँ नेपाल-भारत सीमामा रातभर 'पर्खाल' लाग्छ : डेटलाइन दार्चुला Vs धार्चुला

दार्चुला : महाकाली नदीमाथि बनेको पुरानो झोलुङ्गे पुलमा दुईतिरका सुरक्षाकर्मीले साँझ दुवैतिर टिनका ढोका लगाएपछि दार्चुला र धार्चुलाबीचको कनेक्टिभिटी सकिन्छ। रातभर नेपाल भारतको सीमामा पर्खाल लाग्छ। वारिका मानिस वारि नै र पारीका पारी नै। बिहान उज्यालो भएपछिमात्र फेरि खुला सीमानाका दुई मुलुकको यो भेग फेरि जोडिन्छ। 

दशगजा बनेको महाकाली नदीमाथिको झोलुङ्गे पुल नै केही वर्षअघिसम्म पनि दार्चुलाको लाइफलाइन थियो। पक्की सडकको सञ्जालले सदरमुकाम खलङ्गाको अपी नगरपालिकासम्मै छोइसक्दा पनि भारतसँगको यो नाकाको महत्व घटेको छैन। भारतको धार्चुलाबाट सिमेन्टका बोरा काँधमा बोकेर दार्चुला भित्र्याउँदै त्यहाँबाट ट्याक्टरमा राखेर विभिन्न भागमा लैजानेहरु यतिखेर सजिलै भेटिन्छन्। भारतबाट भित्रिएका सामान बोक्न ट्याक्टरमात्र होइन खच्चरहरु पनि तयार अवस्थामा छन् यहाँ। सदरमुकाममा सडक पुगेपनि मुलुकका अन्य भागमा जस्तो सडक सञ्जालको यहाँ विस्तार भएको छैन। त्यसैले परापूर्व कालदेखि चल्ने खच्चरको खेप अहिले पनि लाग्छ। कम्तिमा एक किलोमा ६ रुपैयाँदेखि ३५ रुपैयाँसम्म पर्छ खच्चरबाट ओसार्न। र, एक खेपमा कम्तिमा ६ वटा खच्चरमा भारी कस्नै पर्छ। त्यसैले पनि सुदूरको पनि सुदूरमा छ दार्चुला।

भारतको भागलाई धार्चुला र नेपालको भागलाई दार्चुला भने पनि संस्कृति र भाषाभेष एउटै छ यो ठाउँमा। यहाँका व्यवसायी हंसराज भट्टका अनुसार वारपारमा कुनै भेद छैन। तर भेद भोगिरहेका छन् दार्चुला र धार्चुलाका मानिसहरुले। 'नेपाली हुँ भनेर गर्व गर्ने कुनै आधार छैन हामीलाई,' भट्ट भन्छन्, 'दोष कसलाई दिने हो थाहा छैन। तर हामीले नेपाली हुँ भनेर गौरव गर्नुपर्ने कुनै कारण पाएका छैनौं।'

कस्तो छ त धार्चुला? 

भारतको उत्तराखण्डको पिथौरागढ जिल्लाको एउटा सानो गाउँ हो धार्चुला। महाकाली नदीमा बसेको यो गाउँको प्रशासनिक जिम्मेबारी धार्चुला नगरपालिका परिषद्ले हेर्छ। यो भनेको नेपाली प्रशासनिक संरचनामा गाउँ विकास समितिकै समकक्षी हो। पिथौरागढ पुग्न यहाँबाट ९० किलोमिटर दुरी तय गर्नुपर्छ। भारतीय भूमिको पिथौरागढसम्म पुग्ने बाटो राम्रो छ, पहाडी भए पनि। त्यसैले पिथौरागढ हुँदै यहाँसम्म पुग्छन् नेपालको महेन्द्रनगरबाट छापिएका अखबारहरु। पत्रकार कमलराज जोशीका अनुसार बिहान भारतीय र नेपाली पत्रिका बोकेका गाडी भारतीय बाटो हुँदै धार्चुला आइपुग्छन्। अलि टाठाबाठाहरु महेन्द्रनगर पुग्न तिनै गाडी चढेर पुग्छन्। भारतीय भूमिबाट पत्रिका बोकेर गुड्ने नेपाली गाडीलाई अहिलेसम्म कुनै रोकतोक छैन। निर्वाध चल्दै आएको चलन नै बनेको छ यो। 

साँघुरो बस्ती छ धार्चुलाको। गुचुमुच्च परेका घरहरु। नेपाल सीमासँग जोडिएको सडकको नाम राखिएको छ नेपाल रोड। त्यही रोडमा पसलहरु लहरै छन्। अनुहार, भेषभुषा र बोलिचाली धार्चुला र दार्चुलामा उस्तै लाग्छ। किनमेल गर्ने र बेच्नेहरु एकै वर्णका छन्। तर, धेरैजसो सामानहरु नेपालको पहाडी भेगमा रुचाइनेखाले देखिन्छन्। यो एउटा ऐतिहासिक बजार पनि हो।

धार्चुला नेपाल र चीनको तिब्बत दुई देशसँग जोडिन्छ। ६ हजारमात्र जनसंख्या रहेको यो ठाउँमा सरकारका प्रशासनिक भवनहरु, सुरक्षा निकाय र सेनाको बलियो उपस्थिति छ। भारत-चीन युद्ध हुनुअघिसम्म धार्चुला व्यपारको महत्वपूर्ण केन्द्र थियो। सन् १९६० को दशकपछि त्यो क्रम टुट्यो र नेपालसँगमात्र व्यापार स्थपित भयो। अहिले पनि धार्चुलाका मानिसहरु चिनियाँ सामान लिन परे सीमा पार गरेर दार्चुला आउँछन्।

धार्चुला आर्थिक रुपमा जगमग देखिन्छ। सडकमा लामवद्ध जीपहरुले यहाँको अर्थतन्त्रको आकार बलियो छ भन्ने अनुमान लगाउन सघाउँछ। लामो फैलिएको बजार र भित्रिएका ब्रान्डेड स्टोरहरुले धार्चुलालाई विकट क्षेत्रको सुगम सहर बनाएको छ। सहरमाथिबाट विद्युत प्रवाह गर्ने हाइटेन्सन लाइन देखिन्छ। यहाँ नजिकै धौलिगंगा जलविद्युत आयोजना छ जसबाट २ सय ८० मेगावाट विद्युत उत्पादन भएर भारतको राष्ट्रिय ग्रिडमा जोडिएको छ। महाकालीको सहायक नदी हो धौलिगंगा। 

दारुका लागि दार्चुला

भारतको धार्चुलाका बजारमा सस्तो लत्ता कपडा, खाद्यान्न, तरकारी र इलेक्ट्रोनिक्स सामानहरु उपलब्ध छन्। धार्चुलासँगै दार्चुला र सुदूर पश्चिमी पहाडका मानिसहरु यहाँका ग्राहक हुन्। भारतबाट उत्पादन भएको विजुली यहाँ भित्रिएको छ। आपूर्ति भने कुन बेला काटिन्छ भर छैन। महाकालीको पारी बजार जगमगाएजस्तै वारी भने मदिरा मगमगाउँछ। 'बियर बार' दार्चुलाको पहिचान पनि हो। सार्वजनिक थलोमा यहाँका मानिसहरु चुरोट पिउने हिम्मत गर्दैनन्। प्रहरीले ५ सय रुपैयाँ जरिवाना गरिहाल्छ। तर, रक्सी निर्धक्क पिउँछन्। रक्सीका लागि 'बार'हरुले लाइसेन्स पाएका छन्। धार्चुलाका मानिसहरु फेन्सी चिनियाँ लुगा किन्नसँगै दारुका लागि पनि दार्चुलातिर भित्रिन्छन्। साँझ बन्द हुने र बिहान भएपछिमात्र खुल्ने नाका र त्यसपछि जम्ने बियर बारले कति कारोबार गर्छन् यकिन गर्न सकिन्न। तर यहाँ स्वदेशीसँगै धेरैजसो विदेशी ब्रान्डका मदिरा उपलब्ध छ। 

सडक पिच भएको आधा दशक पूरा नभए पनि पञ्चायतकालमै दार्चुला सुदूर पश्चिमको सुगम जिल्लामा दरिएको थियो। कैलालीबाट ३ सय १० किलोमिटर दुरीमा रहेको दार्चुलालाई त्यतिखेर सुगम जिल्ला मानिएको थियो जतिखेर कर्णालीमा पुल बनेको थिएन र सुदूरका नौ वटै जिल्ला केन्द्रको कनेक्सनबाट टाढा थिए। दूरको सुदूर जिल्ला सुगम बन्नुमा यही धार्चुलासँग जोडिएको झोलुङ्गे पुल कारण थियो। र त्यो पुल पारी रहेको सस्तो भारतीय बजार जहाँ काठमाडौंकोभन्दा सस्तोमा चिनी र पिठो मिल्थ्यो। सुदूर पश्चिमकी उत्तरी भेगका मानिसहरु यही पुलबाट भारतका विभिन्न ठाउँमा कामका लागि ओहरदोहर गर्थे।  

परिस्थिति फेरिएको छ। दार्चुलामा अहिले नागबेली कालोपत्रे सडक पार गरेर सजिलै पुग्न सकिन्छ। सडक पुगेसम्मै होटलहरु पनि धमाधम थपिन थालेका छन्। बजारभित्रमात्र होइन होटलहरु बजार बाहिर पनि जम्नेक्रम जारी छ। यार्साको सिजनमा होटलहरु सबैभन्दा धेरै व्यस्त रहन्छन्। यहाँको अर्थतन्त्रमा यार्साको सबैभन्दा ठूलो योगदान छ। गएको वर्षमात्र यहाँका मानिसले ८ क्विन्टल यार्सागुम्बा बेचे। यार्साले नै यहाँ होटल र बियर बारको अर्थतन्त्रलाई धानेको छ। त्यसैले सदरमुकाममा बस्ती विस्तार बढेको छ र जमीनको भाउ पनि। एक त समथर जमीनकै कमी अर्कोतिर महाकालीको भय! तै पनि गाउँका मानिसहरु तल झरेकै छन्। धेरैजसो गाउँमा खेतीपाती गर्न उक्लिने र काम सकेपछि सदरमुकाम झर्ने चलन बसेको छ। उपल्लो भेगका मानिसहरु यार्सागुम्बा बटुलेर पनि सदरमुकाम ओर्लिन थालेका छन्। यहाँ कमाएपछि महेन्द्रनगर, धनगढी र काठमाडौंसम्मै आफूलाई विस्तार गर्नेहरु पनि कम छैनन्। तर, यो संख्या यहाँको कूल जनसंख्याको असाध्यै सानो हिस्सा हो। बढेको बजार, यहाँका अग्ला घर र बियर बारहरुले मात्रै समग्र यहाँको सम्पन्नतालाई मापन गर्नु भने गलत हुनेछ। 

सिमेन्टेड घरले पुराना र जिर्ण घरलाई विस्थापित गरेको भए पनि राज्यको सोच र प्रवृत्ति यथावत छ। महाकाली नदीले कटान गरेर भत्केका घरहरुलाई धार्चुलातिर ३ लाख भारु (४ लाख ८० हजार रुपैयाँ) राहत स्वरुप दियो। विस्थापित हुनेका लागि जग्गा पनि। दार्चुलातिर भने सरकारले बल्लबल्ल ३५ हजार रुपैयाँ दियो। करिब १ सय २० प्रभावित परिवारले अहिले पनि नेपाली हुनु र नहुनुको भेद खोजिरहेको छ। त्यसैले काठमाडौंमा सुनिने राष्ट्रवाद र यहाँ भोगिने राष्ट्रवादमा अन्तर छ। 

महाकालीको तान्डव : अझै यस्तो छ हाल

२०७० साल असार २ र ३ गते महाकाली नदीले तान्डव रुप देखाउँदा दार्चुलाको भूगोल नै फेरियो। नदीको प्राकृतिक सीमामा अचानक सक्रिय भयो। नदीले किनारालाई पानीमा समाहित गर्दा घरहरु ढल्न थाले कार्यालयहरु बगे। महाकालीको रौद्र रुपको सामना नेपाल र भारत दुवैतिरका मानिसहरुले समान रुपमा गरे। महाकालीको उर्लिएको भेल कतै नेपालभित्र घुस्यो कतै भारततिर। दुवै किनाराका घरहरु ढले। प्राकृतिक सीमाको यो चन्चलताले दुवैतिर नास गर्योय। तीन वर्षपछि के भयो त? तीन वर्षपछि यहाँ पुग्दा महाकाली शान्त थियो। हिउँदमा माथितिरै पानी जम्ने भएकाले प्रवाह पनि कम। पानीले बगाउँदा नेपाल र भारत दुवैतिर समान क्षति पुर्यािए पनि पुनर्निर्माणमा पनि पूरै असन्तुलन!

यो तस्बिरमा देखिएको घरको जग हो यो। जहाँबाट फोटो खिचिएको छ त्यो दार्चुलाको सदरमुकामको चल्तीको बजारबीचमा रहेको सडक थियो। अहिले यो सडक पूरै तल बगरमात्र बनेको छ। मुस्किलले मानिसहरु यहाँबाट ओहरदोहर गर्न सक्छन्। यो घर रित्तो छ र लाग्छ अर्को बबन्डरको प्रतीक्षामा छ। यस्ता घरहरु अलपत्रै छन्। हेर्नुस् त्यतिखेरको बबन्डरको असर :







 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell