PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

Exclusive : नेपाल र भारतका सुरक्षा निकायको 'वान्टेड लिस्ट'मा रहेका समसुल बारामा



पहिलोपोस्ट

Exclusive : नेपाल र भारतका सुरक्षा निकायको 'वान्टेड लिस्ट'मा रहेका समसुल बारामा

  • केपी ढुंगाना/राधेश्याम पटेल -
काठमाडौँ : दुबईमा बसी नेपाली र भारतीय नागरिकहरु परिचालन गरी आतंकवादी गतिविधि सञ्चालन गरेको आरोप लागेका नेपाली नागरिक समसुल होदा बारा प्रहरीको हिरासतमा पुगेका छन्।

१० महिनादेखि दुबईमा रहेका उनले शनिबार नेपाल आएर प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन्।

भारतको बिहार राज्यको रेलवे ट्रयाकमा विस्फोट गराउन नेपाली र भारतीय नागरिकहरु परिचालन गरेको अनुसन्धानबाट खुलेपछि नेपाल र भारत दुवै तर्फका प्रहरीले उनको खोजी गरिरहेको थियो। 

शनिबार उनी आफै दुबईबाट काठमाडौँ आएका हुन्। उनलाई विशेष ब्युरोले पक्राउ गरेर प्रारम्भिक अनुसन्धान गरी मुद्दा प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाएको हो। बारा प्रहरीका प्रमुख एसपी नरेन्द्र उप्रेतिले पहिलोपोस्टसित कुरा गर्दै उनी आफूहरुको हिरासतमा रहेको पुष्टि गरे।  

गएको पुस १३ मा बाराको जङ्गलमा भारतीय नागरिक दीपक राम र अरुण रामको शव फेला परेपछि अनुसन्धानको क्रममा यो सञ्जाल खुलेको थियो। 

बयानका क्रममा होदाले दुबईमा रहनुभन्दा नेपालमा आएर कानुनी कारबाही भोग्नु सुरक्षित देखेपछि आफै आत्मसमर्पणका लागि आएको बताएको अनुसन्धानमा संलग्न स्रोतले पहिलोपोस्टलाई बतायो। स्रोतका अनुसार सन् २००१ देखि २०११ सम्म मलेसियामा बसेर काम गरेको रकम नेपालमा आएर व्यापार र राजनीति गर्दा सकिएपछि आफू आपराधिक गतिविधिमा लागेको उनले प्रारम्भिक बयानमा स्वीकार गरेका छन्।

ब्युरोसँगको बयानमा उनले पाकिस्तानमा रहेका सफी नामका पाकिस्तानी नागरिकसँग सम्पर्क रहेको पुष्टि गरेका छन्। सफीकै निर्देशनमा आफूले बृजकिशोर गिरीमार्फत् भारतमा बम पड्काउने योजनाका लागि रकम पठाएको उनले स्वीकार गरेको अनुसन्धानमा संलग्न स्रोतले बतायो।
 

को हुन् समसुल?

होदा दुबई गएको करिब एक वर्ष मात्रै भयो। यो भन्दा अगाडि उनी नेपालमा थिए। संविधान सभाको दोस्रो निर्वाचनमा उनी बारा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फको उम्मेदवारसमेत बनेका थिए। उनले शरतसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टीको तर्फबाट उम्मेदवारी दिए पनि १ हजार ४ सय ३२ मत ल्याई पराजित भए। 

जानकार स्रोतका अनुसार भण्डारीको पार्टीमा प्रवेश गर्नु अगाडिसम्म उनी म्यानपावर कम्पनी चलाएर बसेका थिए। निर्वाचनमा पराजित भए पनि उनी दुबई जानु अगाडिसम्म राजनीतिमा सक्रिय थिए। 

राष्ट्रिय मधेस समाजवादी पार्टीका बारा जिल्लाका अध्यक्ष मनोज चौरसियाले होदा आफ्नो पार्टीबाट संविधान सभा निर्वाचनमा सहभागी भएको पुष्टि गरे। निर्वाचनमा पराजित भएपछि भने उनी पार्टीमा संलग्न नरहेको उनको दावी छ।

यसरी खुल्यो कनेक्सन

पुस १३ मा बाराको जङ्गलमा दुई जनाको शव फेला परेको थियो। अनुसन्धानले ती शव भारतीय नागरिक दीपक राम र अरुण रामको रहेको खुलायो।
 
हत्या अनुसन्धानमा नेपाली नागरिक उमेशकुमार पटेल र कलैया बरेवाका मोजाहिर अन्सारी पक्राउ परे। यी दुवैले सिमराका बृजकिशोर गिरीको नाम लिएपछि बारा प्रहरीले पुस २४ मा गिरीलाई पक्राउ गर्‍यो।

लामो समयदेखि केन्द्रमा रहेको ब्युरोको टोलीले होदाबारे अनुसन्धान गरे पनि उनी बारे प्रहरीको अन्य युनिट बेखबर थियो। गिरी पक्राउपछि दुई भारतीय नागरिकको हत्या गर्नुको कारण सामान्य घटनामा मात्र रहेन, आतंकवादी गतिविधिमा जोडियो।
 
गिरीसँगै होदाको नाम आएपछि बारा प्रहरीले तत्काल घटना विवरण सहित ब्युरोका अधिकारीलाई फरारको सूची पठायो। सूचीमा रहेका नाममध्ये होदा पनि थिए। प्रहरीले बल्ल उनको मलेसिया र दुबईको यात्रा ठम्याएको थियो।
 
गिरी समूहले भारतको सिम्रौनगढ घोडासन रेल लाइनमा विस्फोटको योजना अनुसार बम राखे पनि प्रेसरकुकर बम नपड्किएको खुल्यो। अर्को रेल्वे लाइनमा बम राख्न दिएको निर्देशन नमान्दा दुई जना भारतीय नागरिकको हत्या भएको खुल्यो।
 
'बाराबाट नाम आएपछि हामी पनि चकित पर्‍यौं, जसलाई जाली भारुमा संलग्न भनेर अनुगमन गरिरहेका थियौं,' अनुसन्धान स्रोत भन्छ, 'ऊ त आतंकवादी गतिविधिमा देखियो।'
 
गिरीको पक्राउ र होदाको नाम खुलेपछि नेपालले भारतीय सुरक्षा एजेन्सीलाई पुष्टिका लागि विवरण पठाएको थियो। नेपालको सूचनाको आधारमा भारत बिहारका मोती पासवान, उमाशंकर पटेल र मुकेश यादव पक्राउ परे। यसपछि होदाको नेटवर्क खुल्यो।
 
होदाको नेटवर्कबारे नेपाल र भारतका सुरक्षा एजेन्सीले आ-आफ्नै शैलीमा अनुसन्धान गरिरहेका छन्। होदा भने अझै दुबईमै छन्। होदाको सम्पर्क इराक र अफगानिस्तानसम्म देखिएपछि ब्युरो थप अनुसन्धानमा जुटेको छ।
 
भारतीयपक्षले सन् २०१६ नोभेम्बरमा उत्तरप्रदेशको कानपुरमा भएको रेल दुर्घटना र सन् २०१६ जनवरी २१ मा आन्ध्रप्रदेशको कुनेरुमा भएको ट्रेन दुर्घटनालाई समेत आतंकवादी घटनासँग जोडेर अनुसन्धान अगाडि बढाएको छ।
 
नेपाली अनुसन्धान स्रोतका अनुसार घोडासनमा बम पड्काउने प्रयास गरेको र दोस्रो घटनाको योजनाको क्रममा विवाद भएको सम्म पुष्टि भए पनि भारतीयपक्षले दाबी गरेझैं कानपुर र कुनेरुमा भएको दुर्घटनामा होदा समूहको संलग्नताबारे कुनै तथ्य फेला परेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell