PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

जन्मदिनमा ओलीलाई धक्का, किन फाप्दैन ओलीलाई बर्थडे ?



नेत्र तामाङ

जन्मदिनमा ओलीलाई धक्का, किन फाप्दैन ओलीलाई बर्थडे ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली मंगलवार जन्मदिन मनाउँदै थिए। जन्मदिनमा देशका प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका ओलीको व्यस्तता बढ्ने नै भयो।

ओलीले आज पहिले बालुवाटारमै पारिवारिक भेटघाटमा जन्मदिन मनाए। जन्मदिन मनाउने क्रममा श्रीमती राधिका शाक्यको परिवारले ओलीलाई नेवारी परम्परा अनुसार अण्डा, माछा र अय्ला सगुन दिएका थिए।

त्यसपछि ओलीले बालबालिकाहरुसँग जन्मदिन मनाए। नक्सालस्थित बालमन्दिर पुगेर प्रधानमन्त्री ओलीले ६ महिनाको बच्चालाई केक खुवाएर जन्मदिन मनाए।

पछि राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको कार्यक्रममा सहभागी हुन पुगे।

प्रधानमन्त्रीले कार्यक्रममा सर्वोच्चलाई समेत सम्झाउन भ्याए।

‘पुनस्थापना भयो भने के हुन्छ? अदालतलाई थाहा छैन? पुनस्थापना भयो भने यहाँ प्रचण्डजी विचरा, कथमकदाचित मानौं एकैछिन पुनस्थापना भयो के हुन्छ भन्दा प्रचण्डजी र माधव नेपालजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिंड्नुहुन्छ। कहिले उत्तरतिर लाग्नुहुन्छ, कहिले दक्षिणतिर लाग्नुहुन्छ। प्रधानमन्त्री भइदिनुस् है त्यति मान्दिनुस न भन्नुहुन्छ। उहाँहरुको चान्स छ? एक प्रतिशतमात्रै होइन की एक भन्दा तल तल तल कति हुन्छ त्यति पनि छैन। उहाँहरुले लडाईं जित्नुभयो भने प्रधानमन्त्री खोज्दै हिंडनुपर्ने हो। खोज्दै हिंडेर अन्तिममा मै कहा आइपुग्न बेर छैन।’

प्रधानमन्त्रीले अदालतको आदेश आफूविरुद्ध आउनै नसक्ने भन्दै दाबीसहितका भाषणबाजी गर्दै आएका थिए। तर, उनको भाषणबाजीको कुनै सुनुवाई भएन।

पुस ५ गते संविधानको कुनै ख्याल नगरी प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेका थिए। यही कदम ७० औं जन्मदिन मनाइँरहँदा ओलीको आशाविपरीत सर्वोच्चले फैसला उल्टाइदियो।

यसका बीच ओली अहिले पनि बालुवाटारमा बिन्दास रुपमा जन्मदिन मनाउँदै छन्। यद्यपि उनी अब इतिहासमा विवादित कम्युनिस्ट प्रधानमन्त्रीका रुपमा स्थापित भइसकेका छन्।

त्यसो त प्रधानमन्त्री ओलीको जन्मदिन यसअघि पनि विवादित भएको थियो।

ठीक एक वर्ष अगाडि पनि ओलीको जन्मदिन विवादमा तानिएको थियो। ओली जन्मदिन मनाउन हेलिकोप्टरमार्फत जन्मस्थान तेह्रथुम पुगेका थिए।जन्मदिन मनाउनका लागि राज्यसंयन्त्र नै प्रयोग भएको थियो। उनको जन्मदिनका लागि तेह्रथुमको प्रशासन संयन्त्र पनि लागि पर्‍यो।

प्रधानमन्त्रीको जन्मदिनका लागि पाँचथरको फिदिमबाट 'नेपाल केक' मगाइयो। प्रधानमन्त्रीको जन्मोत्सवमा आठराई गाउँपालिकाले सार्वजनिक बिदा दियो। बिदा पाएका कर्मचारी र मातहतका विद्यालयका शिक्षकहरुलाई भने जन्मोत्सव समारोहमा अनिवार्य उपस्थितिका सूचना गाउँपालिकाले गर्‍यो। कर्मचारी तथा मातहतका शिक्षकलाई तोकिएको पोशाकमा उपस्थित हुन पनि गाउँपालिकाले निर्देशन दिएको थियो।

नेकपाका अध्यक्ष रहेका ओली आफैँ पार्टीको आचारसंहिता कार्यान्वयन गर्नुपर्ने व्यक्ति हुन्। तर उनले भने आफैँले पार्टीको आचारसंहिता उल्लंघन गरे।

‘आचारसंहिता कार्यान्वयन गर्ने र गराउने जिम्मेवारी सबै पार्टी कमिटीहरूको हो। मुख्य जिम्मेवारी केन्द्रीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटीको हो,’ पार्टीले जारी गरेको सर्कुलरमा अगाडि भनिएको छ, ‘पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र विधान, नियमावली, निर्णय तथा आचारसंहिता पालना गर्नु प्रत्येक पार्टी सदस्यको कर्तव्य हो। यसको पालना नगर्ने तथा पटकपटक सचेत गराउँदा पनि नसुध्रने सदस्यलाई कानुनसँग सम्बन्धित सवालमा कानुन बमोजिम, पार्टी अनुशासनसँग सम्बन्धित सवालमा पार्टी विधान, नियमावली र निर्णय बमोजिम कारबाही गर्नुपर्दछ।’

पार्टीकै अध्यक्षले आफ्नो जन्मदिन मनाउँदाका लागि राज्यसंयन्त्रको दुरुपयोग गर्दै कार्यक्रम गरिनु दुर्भाग्य भएको नेकपाका एक स्थायी कमिटी सदस्यले बताएका थिए।

‘जन्मदिनको कार्यक्रम सामान्य रुपमा मनाएको भए हुन्थ्यो। हामीमा जन्मदिन मनाउने संस्कृति पनि कहाँ हो र?’ ती नेताले प्रश्न गरेका थिए, ‘उहाँ प्रधानमन्त्री नभएको भए उहाँले जन्मदिन मनाउनुहुन्थ्यो?’

अर्को विवादित कुरा भनेको प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनमा नेपालको नक्सासहितको केक काटे।

नक्सासहितको केक काटेका तस्विरहरु सामाजिक सञ्जालमा जब सार्वजनिक भयो तब ओलीको आलोचना सुरु भयो। धेरैले केक काटेको विषयलाई लिएर आक्रोश पोखे। कतिपयले व्यङ्ग्य गरे र केहीले सुझावसमेत दिएका थिए।

यसरी अघिल्लो पटक झैं यसपटक पनि ओलीलाई जन्मदिन फापेन।

कतै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई सात पटक प्रधानमन्त्री हुन्छ भनेका ज्योतिषी सुरेशचन्द्र रिजालले भने झैं के ओलीको राशी कमजोर बन्दै गएको हो त?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell