PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

गगनले प्रधानमन्त्री ओलीलाई भने, 'सरकार चलाउन मन नलागे खुरुक्क घर जाने, नभए वन'



गगनले प्रधानमन्त्री ओलीलाई भने, 'सरकार चलाउन मन नलागे खुरुक्क घर जाने, नभए वन'
फाइल फोटो

काठमाडौं : नेपाली काँग्रेसका नेता गगन थापाले प्रतिनिधि सभा विघटन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेकाले सरकारमा बसिरहने हैसियत गुमाएको बताएका छन्। काँग्रेस जिल्ला कार्यसमिति चितवनले आज भरतपुरको चौबिसकोठीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै थापाले बताएका हुन्।

संविधानमा हुँदै नभएको व्यवस्था लागू गरेर प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको उल्लेख गर्दै थापाले अब ओली कि त घर जानुपर्ने नभए वनतिर गए पनि हुने बताए। प्रतिनिधि सभा पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहसको प्रसंग निकाल्दै गगनले भने, 'अदालतमा बहस बेञ्चबाट बेला बेला प्रश्न सोधिन्छ -बहुमत प्राप्त प्रधानमन्त्रीलाई सरकार चलाउन मन नलागे के गर्ने?'

यसबारे आफूले एकै उत्तर दिँदै आएको उल्लेख गर्दै उनले भने, 'मैले सधैं उत्तर दिने गरेको छु। संसदबाट बहुमत प्राप्त प्रधानमन्त्रीलाई सरकार चलाउन मन नलागे खुरुक्क न घर जाने, घर बस्न मन लागेन भने वन जाने। घर र वन जानेबाहेक अर्को कुरा हुन हाम्रो संविधानले दिँदैन।'

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका हुन्। प्रतिनिधि सभा विघटनको काँग्रेसले विरोध गर्दै आएको छ। यही क्रममा काँग्रेसले ७७ जिल्लामै आज विरोध प्रदर्शन गरेको हो।

प्रतिनिधि सभा विघटनको मुद्दाको बहस भने सर्वोच्च अदालतको संवैधानिक इजालासमा जारी छ। यही विषयमा नेता थापाले अदालत प्रधानमन्त्रीको धम्कीसँग डराउन नहुनेसमेत बताएका छन्।

उनले अदालतले काँग्रेसको कुरा वा प्रचण्ड माधवको कुरा पनि सुन्न आवश्यक नरहेको उल्लेख गर्दै संविधानसम्मत निर्णय हुनुपर्ने बताए। 'अदालत प्रधानमन्त्रीको धम्कीसँग नडराओस्। मेरो कुरा पनि नसुनोस्,' थापाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell