PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

राणाकालको प्रमुख प्रशासनिक केन्द्र अबको प्रधानमन्त्री कार्यालय, यहीबाट तीन वर्षको उपलब्धि सुनाउँदै ओली



राणाकालको प्रमुख प्रशासनिक केन्द्र अबको प्रधानमन्त्री कार्यालय, यहीबाट तीन वर्षको उपलब्धि सुनाउँदै ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको तीन वर्षमा के के उपलब्धि भए? सिहंदरवारबाट प्रधानमन्त्री ओलीले यसको विवरण सुनाउने भएका छन्।

२०७४ फागुन ३ गते ओली प्रधानमन्त्री नियुक्त भएका थिए। आफ्नो कार्यकालको उपलब्धि सुनाउने तयारी भएको उनका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए। 'प्रधानमन्त्रीज्यूले वर्तमान सरकार गठन भएको आजै तीन वर्ष पुगेको अवसरमा त्यहींबाट 'तीन बर्षका प्रमुख उपलब्धिहरू'को बारेमा प्रेस ब्रिफिङ गर्नुहुने छ,' थापाले भने।

सिंहदरबारको पुननिर्माण सम्पन्न भएकोमा उद्घाटन गर्दै उपलब्धि सुनाउने तयारी गरिएको हो। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा पुनःनिर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री ओलीले आज उ्दघाटन गर्ने कार्यक्रम छ। उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय यही भवनमा सर्नेछ। भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरकै तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो।

हाल सिंहदरबारको पश्चिम मोहडाको काम भने बाँकी छ। अन्य तीन मोहडाको प्रबलीकरणको काम सम्पन्न भइसकेको छ। प्रबलीकरण सकिएको तीनवटा मोहडालाई क्षेत्र क्षेत्रमा प्रधानमन्त्री कार्यालयका साथै प्रधानमन्त्रीका सल्लाहकार लगायतको कार्यकक्ष रहेको छ।

राणा प्रधानमन्त्री चन्द्र शमशेर जबराले निर्माण गर्न लगाएको सिंहदरबारको पश्चिमी मोहडा वि सं २०३० मा लागेको आगोमा पनि बचेको थियो। उत्तर, दक्षिण र पूर्वी मोहडामा जलेर नष्ट भएको थियो। पछि आधुनिक प्रविधि अपनाएर नै ती भवनको पुनर्निर्माण गरिएको थियो। २०७२ सालमा सबै मोहडामा क्षति पुगेको थियो।

विसं १९६० मा चन्द्र शमशेरले सिंहदरबारको निर्माण गर्न लगाएका थिए। विसं १९५८ मा सत्तामा आएपछि उनले लाल दरबार र सेतो दरबार खरिद गर्न चाहेका थिए। तर त्यो खरिद गर्न नसकेपछि चन्द्र शमशेरले सिंहदरबार निर्माण गर्नका लागि प्रतिरोपनी ९० रुपैयाँको दरले करिब ३५० रोपनी जग्गा खरिद गरेको पुरुषोतम शमशेर जबराले ‘राणाकालिन ऐतिहासिक दरबारहरु’ किताबमा उल्लेख गरेका छन्। नियो क्लासिकल शैलीमा निर्माण भएको सो दरबार निर्माण गर्न त्यसबखत ५० लाखभन्दा बढी नलागेको उनले उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell