PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कोभिशिल्ड लगाएकाहरु भन्छन्, ‘सामान्य साइड-इफेक्ट देखिँदा डराउनु पर्दैन, खोप सुरक्षित छ’



कोभिशिल्ड लगाएकाहरु भन्छन्, ‘सामान्य साइड-इफेक्ट देखिँदा डराउनु पर्दैन, खोप सुरक्षित छ’

  • पूजा पन्थी-

बुटवल : लुम्बिनी प्रदेशमा कोभिड-१९ विरुद्धको खोप अभियानको आरम्भ लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले पहिलो खोप लगाएर गरे। कोरोनाविरुद्धको खोप लगाएसँगै डा खनाल आफ्नो कार्यक्षेत्रमै बसिरहे। उनलाई विशेष  किसिमको साइड-इफेक्ट देखा परेन।

माघ १४ गते खोप लगाएका उनी भन्छन्, ‘खोप लगाएको १२ घण्टापछि ज्वरो आयो, २ डोज सिटामोल खाएँ। ठीक भयो। बढी केही भएन, टिटानासको खोप लगाउँदा पनि ज्वरो आउँछ, यसलाई सामान्य नै मान्नुपर्छ।’

मेसु खनाल खोप लगाउनको लागि डराउनुपर्ने र हच्किनुपर्ने अवस्था नरहेको बताउँछन्। कोभिड अस्पतालसमेत सञ्चालन गरेको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु खनाल आफू पनि कोरोना संक्रमित भइसकेका छन्। आफूले लगाएको खोपले आफूमा पुनः कोरोना नहुनको लागि शरीरको प्रतिरक्षा प्रणाली बलियो हुने बताउँछन् उनी।

उनले भने, ‘पहिलो डोजले प्रतिरक्षा प्रणालीलाई बढाएर भाइरसको प्रकृति चिन्ने र कोरोनाको कारणले कुनै विशेष समस्या उत्पन्न हुन नदिने काम गर्छ।’

उनले २८ दिनपछि लगाउने खोपले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने र कोरोनाको भाइरस ब्लकसम्म गर्ने क्षमता सिर्जना हुने दावी गरे। उनले कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ लगाएपछि सामान्य ज्वरो आउने भए पनि चिकित्सकको निगरानी तथा सम्पर्कमा रहन आग्रह गरे।

यस्तै, माघ १६ गते कोभिशिल्ड भ्याक्सिन लगाएका अर्का चिकित्सक डा लक्ष्मण दुबे मुटुरोग विशेषज्ञ हुन्। कोभिडको समयमा पनि पीपीई लगाई र नलगाई बिरामीको उपचारमा खटिएका उनलाई रुघाखोखी पनि लागेन, तर खोप लगाएपछिको समयमा उनलाई असहज भयो। कोभिशिल्ड लगाएपछि हुनसक्ने साइड-इफेक्ट उनलाई ४ घण्टापछि देखियो।

उनी भन्छन्, ‘खोप लगाएको ४ घण्टामा जिउ थकित हुन थाल्यो। बेलुकाबाट हल्का ज्वरो आयो, राति जिउ काम्ने गरी ज्वरो आयो। रुघा पनि शुरु भयो, खोकी छैन। अर्को दिन बिहानबाट टाउको दुख्न थाल्यो।’

खोप लगाएपछि देखिने साइड-इफेक्ट भएकोले उनी हड्बडाएनन्, बरु सर्वसाधारण डराउन सक्ने भन्दै उनले कोरोनाविरुद्धको खोपको कारणले कुनै ठूलो समस्या नहुने बताए।

उनी भन्छन्, ‘शरीरको तापक्रम बढ्दैमा केही ठूलो समस्या हुन्छ भन्ने सोच्नु हुँदैन, खोप सुरक्षित छ।’

यस्तै, बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको कोरोना आइसोलेसन सेन्टरमा रहेर काम गरेका प्रहरी हवल्दार खेमबिक्रम थापाले माघ १६ गते कोरोनाविरुद्धको कोभिशिल्ड लगाए। उनलाई धेरैले कोरोनाविरुद्धको खोप नलगाउन सुझाए तर उनी खोपसँग डराएनन्। जेठदेखि मंसिरसम्मको अवधिमा कोरोना संक्रमितहरुसँगै बसेका उनले खोप लगाए।

खोप लगाएपछि हुने साइड-इफेक्टको बारेमा थाहा पाएका उनलाई केही साइड-इफेक्ट पनि देखियो। आत्मबल उच्च बनाए जस्तोसुकै रोग पनि परास्त गर्न सकिने उनको भनाइ छ।

उनी भन्छन्, ‘बुटवल उपमहानगरपालिकाले बनाएको आइसोलेसनमा बसेँ, ३ सय बढी कोरोना संक्रमितहरुसँगै संयमित रहँदै बसेँ, यो बीचमा ३ पटक कोरोना पनि परीक्षण गराएँ। तर पनि नेगेटिभ नै आयो, सरकारले फ्रन्टलाइनर्सको लागि ल्याएको खोप नलगाउने कुरै भएन। हात दुख्ने, ज्वरो आउने, शरीर दुख्ने लगायतका समस्या देखिए। तर पनि खोप सुरक्षित छ भन्नेमा म विश्वस्थ छु।’

यता महिला स्वास्थ्य स्वयंसेविका माया गौतमले पनि माघ १५ गते कोभिशिल्ड भ्याक्सिन लगाइन्। उनलाई खासै कुनै साइड-इफेक्ट देखिएन। खोप नलगाउन विदेशमा रहेका छोराछोरीले भने पनि उनले लगाइन्।

‘खोप लगाएको २ दिन जिब्रो तात्यो, ज्वरो आउँछ होला भनेको आएन’, उनले भनिन्, ‘असुरक्षित खोप सरकारले ल्याउँदैन, खोप सुरक्षित छ। ढुक्क हुनुहोस्।’

लुम्बिनी प्रदेशमा २१ प्रतिशत खोप लगाइयो

लुम्बिनी प्रदेशमा ३९ हजार ४ सय ९५ जनाको लागि ८७ हजार ६ सय ७९ डोज खोपमध्ये २१ प्रतिशत भन्दा बढी खोप लगाइएको लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

आइतवार दिउँसो साढे २ बजेसम्म सबैभन्दा बढी रुपन्देहीको लागि ३३ हजार ४ सय २० डोज छुट्याइएको जिल्लामा २ हजार ३ सय २२ खोप लगाइएको निर्देशनालयका सूचना अधिकारी रोशन चौधरीले जानकारी दिए।

यस्तै, कपिलबस्तुमा ८ सय १३, दाङमा १ हजार ५ सय ८२, बाँकेमा २ हजार ५ सय ७६, बर्दियामा ९ सय ८० खोप लगाइएको उनले जानकारी दिए।

त्यस्तै, नवलपरासी पश्चिममा ५ सय २३, अर्घाखाँचीमा ७ सय ३६, पाल्पामा १ हजार ६ सय ४६, गुल्मीमा ६ सय ७९, रुकुम पूर्वमा १ सय ४९, रोल्पामा ५ सय ९ र प्युठानमा ६ सय २७ खोप लगाइएको कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell