PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

संसद पुनर्स्थापना र निर्वाचन दुवै विकल्पका लागि जनता र दलहरु तयार हुनुपर्छ : विमलेन्द्र निधि



सुमित मिश्र

संसद पुनर्स्थापना र निर्वाचन दुवै विकल्पका लागि जनता र दलहरु तयार हुनुपर्छ : विमलेन्द्र निधि

जनकपुरधाम : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, सर्वसत्तावादी र वर्चश्ववादी कदम रहेको बताएका छन्। उपसभापति निधिले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर मुलुकलाई नै दुर्घटना तर्फ धकेलेको आरोप समेत लगाएका छन्। संसद विघट गरेर प्रधानमन्त्रीले जनता र मतदाताको अपमान गरेको उनले दावी गरे।

शुक्रवार महोत्तरीको जलेश्वरमा स्वर्गीय रामनारायण मिश्रको शालिक अनावरण कार्यक्रममा नेता निधिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको रक्षाका लागि प्रतिनिधिसभा अहिलेको आवश्यक्ता रहेको बताए।

‘देश, जनता, प्रणाली र संविधानका लागि प्रतिनिधिसभा प्राप्त गर्नु अहिले अतिआवश्यक छ। त्यसका लागि दुईवटा संवैधानिक बाटो छ। सर्वोच्चद्वारा संसद पुनर्स्थापना र निर्वाचनद्वारा प्रतिनिधिसभाको गठन। यी दुवै विकल्प संवैधानिक छन्। अहिलेको वर्तमान परिस्थितिमा दुवै विकल्पका लागि जनता र राजनीतिक दलहरु तयार हुनुपर्दछ’, नेता निधिले भने, ‘जनतालाई कुनैपनि हालतमा प्रतिनिधिसभा चाहिन्छ। तर, प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर जनताको जनादेश एवं मतदाताको मतको अपमान गरेका छन्।’

निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयन नै नेपाली कांग्रेसको मुख्य एजेण्डा रहेको बताए। उनले नेपाली कांग्रेसले यसअघि १४औँ महाधिवेशनका लागि गरेको तयारी अहिलेलाई थाँती राखेर निर्वाचनमा लाग्नु आफ्नो पहिलो प्राथमिकतामा रहेको समेत बताए।

उनले भने, ‘संसद पुनर्स्थापना भए पार्टीको १४ औं महाधिवेशन पहिले हुन्छ। तर, निर्वाचन पहिले भए महाधिवेशन निर्वाचन पछि हुनेछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell