PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सेक्सन ४ : के यसको प्रयोग गरेर ट्रम्पलाई तत्काल शक्तिविहीन बनाइएला?



सेक्सन ४ : के यसको प्रयोग गरेर ट्रम्पलाई तत्काल शक्तिविहीन बनाइएला?
PHOTo : GETTY IMAGES

जो वाइडेनलाई अमेरिकी राष्ट्रपति निर्वाचित गर्न बसेको सदनको संयुक्त बैठकमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले आक्रमण गरेपछि अहिले ट्रम्पलाई ह्वाइट हाउसबाट उनलाई हटाउनुपर्ने माग उठिरहेको छ।

अमेरिकी उपराष्‍ट्रपति माइक पेन्समामाथि २५ औं संशोधनको प्रयोग गरेर ट्रम्पलाई हटाउन दबाब बढ्दै गइरहेको छ।

तर, के उपराष्ट्रपति पेन्सले राष्ट्रपति ट्रम्पलाई हटाउन सक्छन?

अमेरिकी संविधानको २५ औं संशोधनको 'सेक्सन ४' मा राष्ट्रपतिलाई तत्‍काल हटाउने प्रावधान रहेको द इन्डिपेन्डेन्टले उल्लेख गरेको छ।

सेक्सन ४ को व्यवस्था अनुसार यदि उपराष्ट्रपति र मन्त्रिपरिषदको बहुमत सदस्यले राष्ट्रपति काम गर्न अयोग्य भएकोमा मत बाझिएन भने उनलाई तत्काल हटाउन सकिन्छ। यसका लागि उनीहरुले हाउस अफ रिप्रिजेन्टेटिभका सभामुख र सिनेटकाका प्रोटम अध्यक्षलाई एउटा पत्र बुझाए पुग्छ। डिपार्टमेन्ट अफ जस्टिसका अनुसार वर्तमान अमेरिकी क्याबिनेटको बहुमत भन्नाले १५ जना 'कोर सेक्रेटरी'हरुको समूहमध्ये ८ जनाको स्वीकृति भन्ने बुझ्नुपर्छ। कोर सेक्रेटरीमा हाल विदेश मन्त्री माइक पोम्पेओ, कार्यवाहक रक्षामन्त्री क्रिस मिल्लर, लगायतका सदस्य छन्।

यदि उपराष्ट्रपति पेन्स सहित ८ मन्त्रीले 'ट्रम्प राष्ट्रपतिको रुपमा काम गर्न अयोग्य भएको' भन्दै पत्र सिनेटका अध्यक्ष र हाउसको सुभामुखलाई सिफारिस गरेमा ट्रम्प तत्काल पदमुक्त हुनसक्छन्। यस्तो अवस्थामा ट्रम्पले राष्ट्रपतिको अहोदामा त रहने छन् तर उनीसँग कुनै शक्ति हुनेछैन। त्‍यसपछि उपराष्ट्रपति स्वत: कार्यबाहक राष्ट्रपति हुने व्यवस्था छ। हाल हाउसका सभामुखमा डेमोक्रेट न्यान्सी पेलोसी छिन् भने सिनेटको प्रोटम अध्यक्षमा चक ग्रासली।

यदि राष्ट्रपतिले उक्त विषयमा असहमति प्रकट गरे, त्यसको निर्णय कंग्रेसले गर्छ। यदि पेन्स र क्याबिनेटका बहुमत कोर सेक्रेटरीहरुले आफूलाई हटाएको विषयमा चित्त नबुझे ट्रम्पले आफू काम गर्न योग्य रहेकोभन्ने पत्र पेलोसी र ग्रासलीलाई पठाउनुपर्नेछ।

त्यसो भएमा हाउस र सिनेटको दुई तिहाई मतले उपराष्ट्रपतिमा शक्ति हस्तान्तरण गर्न सक्ने वा नसक्ने यकिन निर्णय गर्नेछ। यसका लागि कंग्रेससँग २१ दिनको समय हुनेछ। यो समय अवधिभित्र  राष्ट्रपतिलाई हटाइए उपराष्ट्रपति कार्यवाहक राष्ट्रपति बन्नेछन्। सदनले अस्वीकृत गरे राष्ट्रपति ट्रम्पले पुन: शक्ति प्राप्त गर्नेछन्।

सदनले निर्वाचन नै गरेर राष्ट्रपतिको विषयमा निर्णय लिनुपरेमा २१ दिनको समय छुट्याइएको छ। तर, ट्रम्प आउने १३ दिनमा स्वत: ह्वाइट हाउसबाट बाहिरिनेछन्। त्यसैले पेन्स र क्याबिनेटले ट्रम्पलाई हटाउने सिफारिस गरे निर्वाचनमा जानुपर्ने अवस्था नै नआउने अमेरिकी संविधानविदहरुको तर्क छ। जनवरी २० पछि ट्रम्प स्वत: पदमुक्त हुनेछन्।

कंग्रेसले उपराष्ट्रपतिमा राष्ट्रपतिको शक्ति हस्तान्तरण गर्न अस्वीकार गरेसम्म उनी कार्यवाहक राष्ट्रपति बन्नेछन्। उपराष्ट्रपतिलाई शक्ति हस्तान्तरण गर्न अस्वीकार गरे हाउस अफ रिप्रिजेन्टेटिभका सभामुखले राष्ट्रपतिको अधिकार प्रयोग गर्न पाउनेछन्। 

न्यूयोर्क म्यागेजिनले सेन्सन ४ को मस्यौदा राष्ट्रपतिले काम गर्न नसक्नुको अवस्थालाई मध्यनजर गर्दै तयार पारिएको भक्सले उल्लेख गरेको छ। राष्ट्रपति अपहरणमा परेको अवस्था, कोमामा पुगेको अवस्था वा राष्ट्रपति पदमा रहेर काम गर्न अयोग्य रहेको अवस्थामा उसलाई हटाउन सक्ने प्रावधान राखिएको हो।

वर्तमान उपराष्ट्रपति माइक पेन्स ट्रम्प समर्थक नै हुन्। तर, आज भएको हिंसात्मक झडपपछि उनको ट्रम्पप्रतिको 'स्टयान्ड' परिवर्तन हुन सक्ने अनुमान गरिएको छ।

अमेरिकी संसदमा हालसम्म सेक्सन ४ को प्रयोग भएको छैन। राष्ट्रपतिहरुको स्वास्थ्यमा जटिल समस्या देखिए पनि उक्त प्रावधानको प्रयोग भएको छैन। तर, आज भएको घटना र यसअघि पनि ट्रम्पको व्यवहारका कारण सेक्सन ४ को चर्चा ट्रम्प कार्यकालमा हुँदै आएको थियो।  

सन् २०१७ मा एफबीआइका निर्देशक जेम्स कमीलाई हटाएपछि ट्रम्पविरुद्ध २५ औं संशोधनको प्रयोग गरेर हटाउने विषयमा छलफल भएको थियो। एफबीआइले नै ट्रम्पलाई हटाउन पहल गरेको थियो। तर, त्यो सफल हुन सकेको थिएन किनभने त्यसका लागि उपराष्ट्रपति र क्याबिनेटको स्वीकृति चाहिन्थ्यो।   

भेट्रान रिपब्लिकन गभर्नर फिल स्टकले ट्रम्पले राजीनामा दिनुपर्ने वा उनलाई क्याबिनेटले हटाउन पर्ने भनाइ सार्वजनिक गरेका छन्। पूर्व रिपब्लिन नेता तथा अमेरिकाको नेशनल म्यानुफ्याक्चर्स एशोसिएसनका अध्यक्ष जे टिम्मनसले ट्रम्पले क्यापिटलभित्र हिंसा फैलाउन उक्साएको आरोप लगाएका छन्। शक्तिमा रहिरहन ट्रम्पले संविधानको उल्लंघन गरेको भन्दै टिम्मनसले उपराष्ट्रपति माइक पेन्स र अमेरिकी क्याबिनेटलाई ट्रम्पलाई हटाउन आग्रह गरेका हुन्। जसकारण पनि पेन्ससहित ट्रम्प क्याबिनटका कोर सेक्रेटरीहरु दबाबमा छन्।  

यस्तै, राष्ट्रपति ट्रम्पविरुद्ध दोस्रो महाभियोग लगाउनुपर्ने विषयमा समेत चर्चा हुन थालेको छ। यसअघि ट्रम्पमाथि लगाइएको महाभियोग हाउसमा पारित भएको थियो। तर, सिनेटमा अस्वीकृत भएको थियो। जनवरी २० अघि नै ट्रम्पमाथि महाभियोग लगाउन माग गरिएको छ। यद्यपि, क्याबिनेटका बहुमत सेक्रेटरीहरु सहमत भए सेक्सन ४ नै अहिलेको सबैभन्दा उत्तम विकल्प रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell