PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पार्टी एकताविरुद्ध जानेहरुको अन्त्य सुनिश्चित छ : उपप्रधानमन्त्री पोखरेल



सुमित मिश्र

पार्टी एकताविरुद्ध जानेहरुको अन्त्य सुनिश्चित छ : उपप्रधानमन्त्री पोखरेल

जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी ओली समूहका स्थायी कमिटी सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकताविरुद्ध जानेहरुको अन्त्य सुनिश्चित रहेको बताएका छन्। मंगलवार जनकपुरधाममा नेकपाको ओली समूहद्वारा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले पार्टी एकताविरुद्ध जानेहरुको अन्त्य सुनिश्चित रहेको बताएका हुन्।

उपप्रधानमन्त्री पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपालतर्फ इंगित गर्दै पार्टी एकता विरोधीहरुको सपना स्वतः चकनाचुर हुने जिकिर गरे। उनले नेपाली इतिहासमा कम्युनिस्ट आन्दोलनले फड्को मारेको बेलामा पार्टी एकता भएको करिब ३ वर्ष नबित्दै आफ्नै अध्यक्षविरुद्ध पार्टी भित्रैबाट एकता विरोधी गतिविधि भएको गुनासो गरे।

‘२३ वर्ष पूर्व नेकपा एमाले-नेकपा माओवादी केन्द्र मिलेर कम्युनिस्टहरुको एकता भयो र कम्युनिस्ट एकताले गर्दा विश्वमा नै फड्को मारेको थियो’, उपप्रधानमन्त्री पोखरेलले भने, ‘एकताले स्वाभिमानपूर्वक खडा हुने सोचेका थियौँ, तर देश–विदेश बाहिरका दुश्मनले पनि नभएर पार्टी भित्रैका दुश्मन पार्टीविरुद्ध लाग्यो।’

उनले आफ्नो लागि पार्टी एकता प्राण भन्दा पनि प्रिय रहेको बताए। भने, ‘म एकताको पक्षमा दृढतापूर्वक छु। र, म गद्गद् छु।’

उनले अगाडि भने, ‘प्रधानमन्त्री ओलीविरुद्ध लागि परेका प्रचण्ड-नेपालहरु प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्नका लागि सरकार र पार्टी विरोधी हर्कतमा लागि अन्तिम समयसम्म पनि प्रयत्न गरे। प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र पार्टीको अध्यक्ष पद नयाँ पुस्तालाई हस्तान्तरण गरौँ भन्दा पनि साथीहरु आफैँ प्रधानमन्त्री र अध्यक्ष बन्ने सपना बुनेर ओलीविरुद्ध नै सडक आन्दोलन गर्नसम्म भ्याए। प्रचण्ड-नेपाल पद हस्तान्तरण विरोधी हुन्, उनीहरु नयाँ पुस्तामा पद हस्तान्तरण गर्न नै चाहँदैनन्।’

उनले अब पार्टी नयाँ ढंगले निर्माण हुने बताउँदै अब प्रदेश कमिटी र जिल्ला कमिटी समेत नयाँ रुपले गठन हुने जानकारी दिए।

संसद विघटन गरेर कोही खुशी छैन : प्रभु साह

भेलामा शहरी विकास मन्त्री प्रभु साहले प्रतिनिधिसभा विघटन आफैँ आत्मघाती रहेको बताए।

‘केही नेता संसद विघटन असंवैधानिक, प्रतिगमन रहेको भन्छन्, हामी आफैँ संसद विघटनबाट खुशी छैनौँ। प्रधानमन्त्री केपी शर्मा ओलीजी समेत खुशी छैनन्’, मन्त्री साहले भने, ‘को चाहन्छ हामी पाँच वर्षको लागि जितेका छौँ तीनै वर्षमा सत्ता छाडिदिउँ। यसबाट कोही खुशी छैनन्। त्यसैले यो आफैँमा आत्महत्या हो। तर, यो बाध्यता पनि हो।’

पार्टीभित्र आफैँले गरेको सहमति विपरित पार्टी कब्जा गर्न प्रचण्डले ‘कू’ गरेको उनले आरोप लगाए।

यस्तै, कार्यक्रममा पूर्व मन्त्री तथा स्थायी कमिटी सदस्य रघुवीर महासेठ जनकपुरको तत्कालिन नेकपा एमालेको पार्टी कार्यालय वर्तमानको प्रदेश कार्यालय कब्जा गर्न खोज्नेमाथि जाई लागेका छन्।

उनले भने, ‘हिम्मत छ अहिले आएर हामीलाई धपाएर देखाओस्।’

उनले पार्टीको नाम नेकपा र सूर्य छाप आफूहरुसँगै रहेको दावी समेत गरे।

त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले केही नेताहरुको व्यक्तिगत स्वार्थका कारण अहिले पार्टी फुटको संघारमा पुगेको बताइन्। ओली नेतृत्वको नेकपा आधिकारिक रहेको दावी गर्दै मन्त्री महतोले मुलधारको पार्टीमा लाग्न नेता कार्यकर्ताहरुसँग आग्रह गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell