PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नौ महिनापछि खुल्दैछ सवारी लाइसेन्सको ट्रायल, अब महिना दिनभित्रै लाइसेन्स



दिनेश खड्का

नौ महिनापछि खुल्दैछ सवारी लाइसेन्सको ट्रायल, अब महिना दिनभित्रै लाइसेन्स
फाइल फोटो

काठमाडौंः लामो समयदेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा प्रक्रिया पुनः सुरु गरिने भएको छ।

नौ महिनापछि सरकारले लाइसेन्सको लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा संञ्चालनको तयारी गरेको हो।

'अब केही दिनमै अनलाइन आवेदन खुला गर्छौं,' यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, 'अबको परीक्षा प्रणाली केही फरक हुनेछ।'

गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि विभागले लाइसेन्सको लिखित र प्रयोगात्मक दुवै परीक्षा अनिशचितकालका लागि स्थगित गरेको थियो। गत असारमा कार्यालय खुलेर सवारी दर्ता र नवीकरणको सेवा सञ्चालनमा आयो। तर नयाँ लाइसेन्सका लागि आवेदन र परीक्षा लिने टुंगो भएन।

सेवाग्राहीको धेरै भीड हुने भएकाले यातायात कार्यालय अझै पनि कोरोना संक्रमणको जोखिम उच्च रहेको क्षेत्रमा पर्छन्। धेरै कार्यालयका कर्मचारी संक्रमित भए। सेवा प्रभावित भएर कार्यालय बन्द हुँदै-खुल्दै यतिबेला भीड व्यवस्थापनमा उच्च सतर्कता छ।

लाइसेन्सका लागि आवेदन र परीक्षा बन्द गर्दाको अवधिमा विभागले वितरण बाँकी रहेका करिब ७ लाख स्मार्ट लाइसेन्स छाप्ने काम भने पूरा गरिरसकेको छ। रोकिएको ट्रायल परीक्षा पुस मसान्तभित्रै सञ्चालनमा ल्याइसक्ने निर्णय भएको विभागका महानिर्देशक हमालले बताए।

'केही दिनमा नै अनलाइन आवेदन खुल्ला गरिएको सूचना प्रकाशन हुनेछ,' उनले भने।

विभागले सबै कार्यालयहरुलाई परीक्षा सञ्चालनका लागि तयार रहन पत्राचार गरिसकेको जनाएको छ। सामान्य अवस्था नरहेकाले कोरोना संक्रमणबाट सुरक्षाका लागि पीपीई, फेस शिल्ड, मास्क, स्यानिटाइजर आदिको व्यवस्थासहित तयार रहन भनिएको छ।

विभागले यसअघि लाइसेन्सको परीक्षा सञ्चालनदेखि वितरणसम्मको जिम्मेवारी संघीय व्यवस्था अनुसार प्रदेश मातहत रहेको भन्दै अनलाइन फाराम दर्ता र परीक्षा सम्बन्धित प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गतका यातायात कार्यालयहरुको माग बमोजिम खोलिने भन्दै सूचना जारी गरेको थियो।

त्यसपछि अधिकांश मन्त्रालय र कार्यालयहरुले परीक्षा सञ्चालन गर्ने निर्णय गरिदिन विभागलाई पत्राचार गरेका थिए।

'सबैतिरबाट माग आइरहेको छ। सबै क्षेत्रहरु खुल्न थालिसके, सधैं रोकेर राख्न सकिँदैन। स्वास्थ्य मन्त्रालयले तयार पारेको स्वास्थ्यका मापदण्ड पूरा गरेर खोल्ने निर्णय भइसकेको छ,' महानिर्देशक हमालले भने, 'केही दिनमा सूचना आउँदैछ।'

कोटा तोकेर परीक्षा
कोरोना भाइरसको संक्रमणको जोखिम अझै उच्च रहेकाले कोटा तोक्न आवेदन खोल्न लागिएको छ। लिखित र प्रयोगात्मक दुवै परिक्षाका लागि कोटा तोकिने छ। हमालका अनुसार सामान्य अवस्थाको लिइरहेको भन्दा करिब आधा मात्रै कोटा तोकेर परीक्षा सञ्चालन हुनेछ।

भीडभाडका कारण जोखिम हुने भन्दै कोटा तोक्न लागिएको हो। विभागले सामान्य अवस्थामा पनि कोटा तोक्ने गरेको थियो। क्षमताभन्दा बढी माग हुने गरेका कारण कोटा तोकिन्थ्यो।

उपत्यकामा चारवटा भक्तपुरको जागती, काठमाडौंको ठूलो भर्‍याङ, सुकेधारा, ललितपुरको एकान्तकुना गरेर चार वटा कार्यालयमा परीक्षा सञ्चालन हुन्छ। ती कार्यालयहरुमा मोटरसाकल र स्कुटरका लागि तीन सय तथा कार र जीपका लागि दुई सय जनाको कोटा छुट्याइएको थियो।

परीक्षामा सहभागीलाई मापदण्ड
देशरभर ट्रायल दिनका लागि अनलाइन फारम अनिवार्य गरिएको भए पनि शुल्क तिर्न यातायात कार्यालयको काउन्टरमा नै पुग्नुपर्छ।

तोकिएको शुल्क तिरेपछि लिखित परीक्षाको मिति र स्थान बारेको जानकारी कार्यालयले उपलब्ध गराउछन्। लिखित परीक्षाका लागि पनि सम्बन्धित कार्यालयमै पुग्नुपर्छ भने प्रयोगात्मकका लागि पनि तोकिएको ट्रायल सेन्टर पुग्नै पर्छ।

परीक्षार्थी भौतिक रूपमा उपस्थित हुनैपर्ने भएकाले मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ। कोटा तोकिएकाले भौतिक दूरी पनि अनिवार्य रूपमा पालना गर्नु पर्नेछ। अन्य पालना गर्नुपर्ने नियमहरु सूचनासँगै प्रकाशन गरिने विभागले जनाएको छ।

सामान्य अवस्थामा दैनिक ५ देखि ८ हजारले आवेदन दिने गरेका थिए। दैनिक लाइसेन्सको माग नवीकरणसहित करिब ५ हजार हाराहारी छ। नौ महिनापछि ट्रायल खोल्न लागिएका कारण माग बढ्ने अनुमान विभागको छ।

बितेका वर्षहरुमा छपाइमा ढिलाइका कारण ट्रायल पास गरेकाहरूले पनि लाइसेन्स पाउन लामो समय प्रतीक्षा गर्नुपरेको थियो। चालु वर्ष भने ब्याकलग सकिएको छ। मास प्रिन्टरमार्फत ८ लाख लाइसेन्स छापेर ब्याकलग सकेको विभागले जनाएको छ। अब भने ट्रायल पास गरेको महिना दिनभित्रै लाइसेन्स पाइने हमालको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell