PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ओलीलाई पूर्व माओवादी नेताको सन्देश : हामी पक्षमा थिएनौं, भ्रममा नपर्नुस् साथ दिन सक्दैनौँं



पहिलोपोस्ट

ओलीलाई पूर्व माओवादी नेताको सन्देश : हामी पक्षमा थिएनौं, भ्रममा नपर्नुस् साथ दिन सक्दैनौँं

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पूर्व माओवादी पक्षका स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा आफूहरु नरहेको स्पष्ट सन्देश दिएका छन्। गत स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरिएका बेला पूर्व माओवादीका केही नेताहरुले राजीनामाको विपक्षमा उभिएका थिए। 

पछिल्लो समय कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ छोडेर ओली पक्षमा गएको आरोप खेप्दै आएका नेताहरुले आफूहरु कसैको पक्षमा नरहेको स्पष्ट पारेका छन्।

पूर्व माओवादीका नेताहरु हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, मणि थापालगायतका नेताहरु त्यतिबेला प्रधानमन्त्रीको राजीनामाको विपक्षमा उभिएका थिए। 

प्रधानमन्त्री ओलीले असार १४ गते स्थायी कमिटी बैठक चलिरहेका बेला मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा आफूलाई हटाउन राजदूतावास सक्रिय भएको अभिव्यक्ति दिएका थिए। स्थायी कमिटी बैठकमा प्रचण्डसहितका नेताहरुले ओलीको राजीनामा समेत माग गरेका थिए। तर, त्यतिबेला ओलीको पक्षमा उभिएका नेताहरुले अहिले ओलीको पक्षमा उभिन नसकिने सन्देश बालुवाटारमा पुर्‍याएका हुन्। 

आइतवार स्थायी कमिटी सदस्यहरु हरिबोल गजुरेल र टोपबहादुर रायमाझी बालुवाटार पुगेका थिए। भेटमा उनीहरुले दुवै पदबाट राजीनामा मागेको बेला आफूहरु पार्टी एकताका पक्षमा उभिनुलाई आफ्नो पक्षमा आएको बुझ्नु प्रधानमन्त्रीको भ्रम रहेको स्पष्ट पारे।

'त्यतिबेला हामीले पार्टी फुट्न नदिन भूमिका खेलेको हौं। त्यो कुराले हामीले तपाईलाई साथ दिएको पर्न गयो। त्यस्तो भ्रममा नपर्नुस् यसपटक पनि तपाईँलाई साथ दिन्छौं भन्ने नठान्नुस्। दुवै पदबाट हटाउने भनेर लागिसकेपछि हामीले त्यसो गर्नुहुँदैन यसले पार्टी फुट्न सक्छ भनेर हामीले प्रचण्ड-माधव कमरेडलाई साथ दिएनौं,' बालुवाटर पुगेका नेता गजुरेलले भने, 'त्यतिबेला तपाईको दुवै पद जोगाउन मद्धत पुग्यो होला।तर, हामी प्रचण्डलाई छोडेर तपाईँको पक्षमा, गुटमा आयौं भन्ने नसम्झनुस्। हामी कतै गएका पनि छैनौं। आएका पनि छैनौं, हामीले प्रधानमन्त्रीलाई स्पष्ट रुपमा भन्यौं।'

त्यतिबेला कुनै गुट नबनाएको र पार्टी एकताका लागि छलफल मात्र गरेको गजुरेलले बताए। उनले प्रधानमन्त्रीलाई सचिवालय, स्थायी कमिटी बैठक बोलाएर सकारात्मक सन्देश दिन र ५ वर्ष सरकार चलाएर आफ्नो क्षमता प्रदर्शन गर्न आग्रह गरेको जानकारी दिए। भदौ २६ गते बसेको स्थायी कमिटी बैठकका निर्णयहरुलाई पक्रिएर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाब दिएर फर्किएको उनको भनाइ छ। 

'तपाईका बाध्यता र अफ्ठयारा होलान् ती आफ्ना ठाउँमा होलान्। मन्त्रिपरिषद् पुनर्गठनका सन्दर्भमा गरेको निर्णयले भ्रम परेको छ। तपाईँले यसलाई क्लियर गर्नुपर्छ। हामीलाई दुई अध्यक्षबीच झगडा गराएर मन्त्री पद चाहिएको पनि छैन्। त्यसमा पार्टीले निर्णय गर्ला,' गजुरेलले भने, 'ठोस रुपमा सम्बोधन गर्ने र  सकारात्मक सन्देश दिने गरी ठोस प्रस्ताव दिनुस्। स्थायी समितिको बैठकको स्प्रिरिटलाई पक्रिएर अघि बढ्नुस्। स्थायी कमिटी बैठकको निर्णयलाई गम्भीरतापूर्वक लिनुस् भन्यौं।'

त्यस्तै ती नेताहरुले प्रचण्डलाई भेट गरी साथ नछाडेको स्पष्टसमेत पारेका छन्। प्रधानमन्त्री ओलीलाई साथमा नरहेको जानकारी गराएको भोलिपल्टै गजुरेल खुमलटार पुगेका थिए। उनले प्रचण्डलाई मन्त्रिपदका लागि साथ छोडेको भन्ने गलत हल्ला भइरहेको बताएका थिए।

'हामी यतै छौं उता कतै गएका छैनौं। हामीले पार्टीलाई फुटबाट बचाउन के गर्नुपर्छ त्यही गरेका हौं। मन्त्रिपदका लागि गयौं भन्ने हाँस्यास्पद कुरा हुन्। सभामुख जस्तो पद त मैंले हुन्न भनेँ। अहिले मन्त्रिका लागि गए भन्ने गलत प्रचार भइरहेको छ,' गजुरेलले भने, 'हामी तपाईँकै साथमा छौं भनेर स्पष्ट रुपमा भनेका छौं।' 

उनले पार्टी फुटमा गयो परिवर्तन र एकताका एजेण्डा समाप्त हुने भएकाले एकताबद्ध हुनुपर्ने बताए।  'त्यसैले दुवै अध्यक्ष आफूतिर फर्कन पर्‍यो। दुवै अध्यक्षले आफ्ना कमि कमजोरीको समिक्षा गर्नुपर्‍यो। एकले अर्कालाई दोष दिएर समस्या हल हुँदैन,' गजुरेलले भने।

'ढुक्क हुनुस्, पार्टी एकता प्रक्रिया टुंगोमा नपुगेसम्म फुट्न फुट्न दिइँदैन। तर, प्रधानमन्त्रीले यही ढंगले स्थायी कमिटी बैठकका निर्णय वेवास्ता गर्दै जाँदा यसले एउटा दुर्घटना निम्त्याउँछ,' प्रचण्डलाई उदृत गर्दै गजुरेलले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell