PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

कोरोनाविरुद्ध उपयोगी मानिने रेम्डिसिबिर पठाइयो वीरगंज : आयातमा सरकार मौन बस्दा व्यवसायीको मनोमानी मोल



राधेश्याम पटेल

कोरोनाविरुद्ध उपयोगी मानिने रेम्डिसिबिर पठाइयो वीरगंज : आयातमा सरकार मौन बस्दा व्यवसायीको मनोमानी मोल

वीरगंज : कोरोना उपचारमा उपयोगी मानिएको एन्टि रेट्रो भायरल ड्रगको रुपमा चिनिउको रेम्भिसिविर औषधि नेपालमा वैधानिक किसिमले आयात हुन थालेपछि कोरोना संक्रमितहरुको उपचार सहज भई ज्यान बचाउन सकिने आशा पलाएको छ।

वीरगंजका चिकित्सकहरुले यूरोपसँगै भारतमा उक्त औषधि उपयोगी मानिएकोले सरकारले वैधानिक किसिमले औषधि व्यवस्था विभागमा दर्ता गरी न आयात गरे तस्करीको बाटोबाट उक्त इन्जेक्सन मगाएर संक्रमितको ज्यान बचाउने चेतावनी दिएपछि अहिले स्वास्थ्य तथा जनसख्या मन्त्रालयले औषधि व्यवस्था विभागमा उक्त औषधि दर्ता गरी आयात गर्न थालेको छ।

नेपालमा तीन वटा व्यवसायिक घरानाले उक्त औषधि आयात गर्न थालेपछि नेपाल सरकारले कोरोना संक्रमितको लागि ७ वटै प्रदेशमा रेम्डिसिबिर औषधि पठाउन शुरु गरेको छ।

सोही क्रममा प्रदेश २ को पर्सामा साउन ६ गते मन्त्रालयले सय भायल रेम्डिसिविर पठाएको छ। पर्सामा कोरोना संक्रमण समुदायस्तरमा फैलिएकोले जिल्ला प्रशासन कार्यालय पर्साको सिफारिसमा आवश्यक भएका संक्रमितलाई निजकै स्वीकृतिमा उक्त औषधिको सुई लगाउन निर्देशन आएको नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालको रुपमा सञ्चालनमा आएको वीरगंज हेल्थकेयर अस्पतालमा सञ्चालक डा. अबुलहैस अन्सारीले बताएका छन्।

‘सबै रेम्डिसिबिर अहिले वीरगंज हेल्थकेयरमै राखिएको छ, नारायणी अस्पताल, गण्डक हस्पिटल तथा वीरगंज हेल्थकेयर अस्पतालका संक्रमितलाई मात्र सशर्त औषधि उपलब्ध गराउन भनिएको छ,’ उनले भने, ‘एक जना संक्रमितलाई एक डोजमा न्यूनतम ५ भायल लगाउन सकिन्छ, संक्रमितले स्वीकृति दिएपछि प्रति भायल सरकारी दरमा ७ हजार ६ सय ८० पैसाको दरले उक्त सुई लगाउने निर्देशन छ।’

रेम्डिसबिरको कालोबजारी रोकिने

उनले एक जना संक्रमितले ५ वटा रिम्डिसिविर लगायो भने न्यूनतम ३८ हजारको जति पर्ने उनले बताए। केही दिन यता, रेम्डिसिविरको अवैध किसिमले पैठारी गरी वीरगंजका करिब ८ जना ड्रग माफियाहरुले भारतबाट उक्त औषधि मगाएर मनोमानी दरमा बेच्दै आएको गुनासो बढेको थियो। वीरगंजका पुराना औषधि आयातकर्ता माफियाहरुले नै भारतबाट ५ हजार भारुमा खरिद गरी रक्सौलको ग्रामिण नाकाबाट मगाएर वीरगंजमा २० हजारदेखि ४० हजारसम्ममा एउटा भायल औषधि बेच्दै आएको एक जना चिकित्सकले बताए। ‘गलत बाटोबाट भित्रिएको रिम्डिसिविर वीरगंजमा ४० हजारमा र काठमाडौं पठाएपछि ६० हजार सम्ममा पनि बेच्ने गरेका छन्,’ उनले भने, ‘अब त्यो कालोबजारी रोकिन्छ, सरकारले ७६ सयमै दिने भएपछि गम्भीर प्रकृतिका संक्रमितहरुको लागि सहज होला।’

रेम्डिसबिरको सट्टा फेबिपिराबिर र कोभिहल्ट

कोरोना संक्रमितको उपयोगी मानिएको रेम्डिसिविरपछि सस्तो दरमा उपलब्ध हुने फेबिपिराबिर र कोभिहल्ट ट्याबलेट आयात गर्न माग बढदै गएको छ। यी औषधि पनि एन्टिरेट्रो भायरल ड्रगको रुपमा मानिएको छ। नारायणी अस्पताल विकास समितिका पूर्व अध्यक्ष विनोद गुप्ताका अनुसार यी औषधि पनि निमोनिया संक्रमण फैलावटलाई घटाउने औषधि भएकोले नेपालजस्तो विकाशिल देशमा यी औषधिको आयातमा ढिलाई गर्न नहुने तर्क गर्छन्। ‘रेम्डिसिविर जस्तै यी औषधिले पनि निमोनिया बढाउने चेन क्रमलाई तोड्छ,’ उनले भने, ‘रेम्डिसिविर धनाढय परिवारले उपभोग गर्न सक्छन् भने गरिबको लागि यी औषधि आयात गरियो भने कोरोना महामारीसँग लडन मद्दत मिल्ने छ।’ उनले यस विषयमा नारायणी अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.वीरेन्द्र प्रधानसँग पनि छलफल भएको र उनले पनि यी औषधि आयातले कोरोना संक्रमितको उपचारमा सहजता प्रदान हुने बताएका छन्।

नारायणी अस्पतालमा चिकित्सक डा. नीरजकुमार सिंहले यी औषधि आयातमा नेपालमा रोक लगाइएकोले फुकुवा गरी डिडिएमा दर्ता गरी औषधि आयातको लागि सहज वातावरण बनाउन आग्रह गरे। फेबिपिराबिर औषधि भारतको विभिन्न कम्पनीले उत्पादन गर्ने गरेका छन्, यसको एउटा टयाबको ७३ रुपैयाँ पर्छ भने भारतको लुपिन फर्मास्युटिकल्सले भर्खरै अविस्कार गरेको कोभिहल्टको एउटा टयाबको ८ रुपैयाँमात्र पर्छ। अहिले यी औषधि भारतको विभिन्न राज्यमा कोरोना संक्रमितलाई चलाइदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell