PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रदेश १ मा कति थपिए संक्रमित ? केन्द्र भन्छ ७२, प्रदेश भन्छ ६४



प्रदेश १ मा कति थपिए संक्रमित ? केन्द्र भन्छ ७२, प्रदेश भन्छ ६४

विराटनगर: प्रदेश १ मा कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्दै गएको छ। पछिल्लो केही दिनयता प्रदेशमा कोरोना संक्रमितका साथै मृतकको संख्यामा पनि वृद्धि हुँदै गएको छ।

स्वास्थ्य मन्त्रालय र प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले दैनिक ब्रिफिङ गरेर संक्रमणको अवस्था बताउँदै आएको छ। यद्यपि, केन्द्र र प्रदेशबीच सहर्काय नहुँदा तथ्यांक बाझिने क्रम पनि बढ्दै गएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार प्रदेश १ मा ७२ जनामा कोभिड १९ संक्रमण पुष्टि भयो। तर प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको तथ्यांक अनुसार भने  प्रदेशमा सोमबार मात्र ६४ जना संक्रमित थपिएका छन्। यस अनुसार केन्द्रको तथ्यांकमा प्रदेश १ मा ८ जना थप संक्रमित पहिचान भएका छन्।

स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा  इलाममा १, उदयपुरमा १ खोटाङमा ४, झापामा ५, मोरङमा ३१, धनकुटामा २, सुनसरीमा २३, ओखलढुंगामा ३ जना र संखुवासभामा २ जनामा संक्रमण पुष्टि भएको बताइएको थियो। प्रदेशको तथ्याकं अनुसार मोरङमा २९, सुनसरीमा १९, झापामा ५, धनकुटामा २, संखुवासभामा १ र प्रदेश १ बाहिरका ८ जनामा कोरोना संक्रमण देखिएको हो।

प्रदेश र केन्द्रबीच तथ्याकंक वितरणमा समस्या उत्पन्न पहिला देखि नै हुँदै आएको हो। तर हालसम्म यस असम्झदारीलाई समाधान गर्न पहल भएको छैन।

 यस्तो छ प्रदेशको विवरण

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार मोरङको विराटनगरमा १० महिलासहित २३ जनामा संक्रमण पुष्टि भएको छ। मोरङको सुन्दरहरैचामा १ महिला र २ पुरुष, बेलबारीमा १ महिला र १ पुरुष, जहदामा १ पुरुषमा संक्रमण देखिएको हो। 

त्यसैगरी सुनसरीको गढीमा ३ महिला र ३ पुरुष, दुहवीमा ३ पुरुष, बर्जुमा ४ महिला र १ पुरुष, धरानमा २ महिला र १ पुरुष, इटहरीमा १ महिला र १ पुरुषमा कोरोना संक्रमण देखिएको छ।

झापाको बाह्रदशीमा १ महिला र ४ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा २ पुरुष, संखुवासभाको खाँदबारीका १ पुरुष र प्रदेश १ बाहिरका १ महिला र ७ पुरुषको पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

यससँगै प्रदेशको तथ्याकं अनुसार प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ७२३ पुगेको छ। यता, केन्द्रको तथ्याकं अनुसार संक्रमितको संख्या २ हजार ७९१ पुगेको छ। 

पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ। सुनसरीको धरान र विराटनगरमा १–१ पुरुषको मृत्यु भएको हो। यससँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या १७ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell