PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपाल बक्सिङ संघका अध्यक्ष र महासचिवबीच जुहारी, साउन १५ गते के भएको थियो?



नेपाल बक्सिङ संघका अध्यक्ष र महासचिवबीच जुहारी, साउन १५ गते के भएको थियो?

काठमाडौं: नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले एक विज्ञप्ति जारी गर्दै महासचिव भट्टाचार्यले लगाएका आरोपहरुको खण्डन गरेका छन्। संघका महासचिव सविन भट्टाचार्यले विज्ञप्ति जारी गर्दै साउन १५ गतेको केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्ष अवालेकै उपस्थितिमा आफूमाथि दुर्व्यवहार भएको आरोप लगाएका थिए।

'संघको महासचिव जस्तो जिम्मेवार व्यक्तिबाट बक्सिङ खेलको विकास र विस्तारमा भ्रम सृजना गर्ने गैरजिम्मेवारी, कपोलकल्पित, निराधारपूर्ण अभिव्यक्तिले संघको गरिमालाई नै आघात पुर्‍याएको महसुस भएको छ,' अध्यक्ष अवालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ', 'महासचिवले लगाएको आरोपमा कोरोनाका कारण भौतिक दुरी कायम गरी भएको बैठकमा एशियन पदकधारी व्यक्तिबाट त्यस प्रकारको हातपात गर्ने गतिविधि हुने सम्भावना नै थिएन।'

भट्टाचार्यले प्रस्ताव गरिएका विषयहरुमा मिहिन ढंगले छलफल गर्नुपर्नेमा छलफल नै नगरी बहुमतका आधारमा जबरजस्ती गरिएपछि आफूले  तयार गरेको माइन्युट बुकमा असहमति पनि समावेश गर्छु भन्दा दीपक महर्जन कड्किएर आफूलाई अभद्र व्यवहार गरेको आरोप लगाएका थिए। आफूमाथि ज्यादती हुँदा अध्यक्ष राम अवाले पनि सँगै रहेको तर उनले कुनै प्रतिक्रिया नजनाएको भट्टाचार्यले प्रेस विज्ञप्तिमा उल्लेख गरेका थिए। 

यो अध्यक्ष र महासचिवबीचको विवादको एउटा पाटो मात्र हो। उनीहरुबीच आरोप प्रत्यारोपको शृङ्खला नयाँ भने होइन्।

अनियमितताको आरोप

महासचिव भट्टाचार्यले साउन १७ गते जारी गरेको विज्ञप्तिमा बक्सिङ संघमा अनियमितता भएको दाबी गरेका थिए।

'विगत लामो समयदेखि नै संघमा आर्थिक अनियमितता हुँदै आएको छ। निर्वाचित कोषाध्यक्षबाट कोष परिचालन नगरी मनोमानी ढंगले विधानको मर्मविपरीत कोष सञ्चालन हुँदै आएको पनि यस विज्ञप्तिमार्फत जानकारी गराउँछु,' उनको विज्ञप्तिमा लेखिएको छ, 'विगत लामो समयदेखि नेपाल बक्सिङ संघ एकलौटी, स्वेच्छाचारी र तानाशाही ढंगबाट चल्दै आएको छ।'

अर्कोतर्फ अध्यक्षले ४ वर्षे कार्यकालको लेखापरीक्षण लगायतका सम्पूर्ण प्रकृया सकेर राष्ट्रिय खेलकुद परिषदमा प्रकृया अघि बढेको दाबी गरेका छन्।

'वर्तमान कार्यसमितिको ४ बर्षे कार्यकालको लेखा परिक्षण प्रतिवेदन महासचिवलगायत सबै सदस्यहरुलाई उपलब्ध गराई सकिएको छ,' अवालेको विज्ञप्तिमा भनिएको छ, 'साथै यस कार्यसमितिको पेश्की फर्छ्यौटका लागि राखेपमा फाईल दर्ता भई प्रकृया अगाडि बढिसकेको व्यहोरा समेत जानकारी गराउन चाहान्छौं।'

अध्यक्ष अवालले संघ संचालनको क्रममा 'सामूहिक विचार र निर्णय'लाई मान्यता दिदै आएको समेत दाबी गरेका छन्।

विधान मिचेको आरोप

अध्यक्ष र महासचिव दुवै पक्षले एकअर्कालाई संघको विधान मिचेको आरोप लगाउँदै आएका छन्। महासचिवले वार्षिक साधारण सभा नगरेको, आर्थिक प्रतिवेदन पास नगरेको लगायतका आरोप लगाउँदै आएका छन्।

'विगत लामो समयदेखि मैले विधानले निर्देशित गरे अनुसार अनिवार्य रुपमा वार्षिक साधारणसभा गर्नुपर्छ, नत्र संघले आफ्नो वैधानिकता गुमाउँछ भन्दै आएको छु। हामीले उठाएका विषयलाई नेतृत्वले सुन्न पनि चाहेको देखिँदैन,' महासचिव भट्टाचार्यको आरोप छ, ' यो कार्यसमिति निर्वाचित भएर आएको चार वर्षको अवधिमा कुनै पनि साधारणसभा नगरेको र आर्थिक प्रतिवेदन समेत पास नभएको जानकारी गराउँछु।'

अर्कोतर्फ अध्यक्षले लेखापरीक्षण भएर राखेपमा फाइल पुगेको तर्क अघि सार्दै आएका छन्। अध्यक्ष अवालेले उल्टै महासचिवले चाहीँ विधान मिचेको आरोप लगाउँदै आएका छन्।

'विधान मिच्ने काम उहाँले नै गर्नुभएको छ। महासचिवको विधान अनुसार प्रदान गरिएको काम, कर्तव्य र अधिकार भन्दा बाहिर बैठकमा पारित नै नभएको कुराहरुलाइ विधान विपरित सुटुक्क जिल्ला संघहरुको गठन गर्ने कार्य महासचिबको नेतृत्वमा भएको छ,' अध्यक्षको आरोप छ, 'त्यस सम्बन्धमा उहाँ समेतलाई स्पष्टिकरण सोधिसकेको र कारबाहिको प्रकिया समेत अगाडी बढिरहेको जानकारी गराउन चाहन्छु।'

अध्यक्ष अवालेले २०७४ साउन ४ गतेको बैठकले विधिसम्बत हिसाबले १२ जिल्लाको गठन समितिको प्रतिवेदन अनुसार मान्यता दिएको र राखेपमा पनि त्यही समयमा दर्ता गराइएकाले उक्त जिल्ला संघ गठनमा मनोमानी हुनै नसक्ने दाबी गरेका छन्।

यसअघि पनि साउन ४ गते विज्ञप्ति निकाल्दै अध्यक्ष अवालले ५ मा जिल्लामा संघ गठन गरेकोमा ध्यानाकर्षण भएको भन्दै ती संघलाई मान्यता नदिइने स्पस्ट पारेका थिए।

माइन्युटको कुरा

संघको माइन्युटको विषयमा दुवैतर्फको आआफ्नो तर्क छ। संघका महासचिव भट्टाचार्यले नजिकका मानिसहरुसँग बसेर अध्यक्षआफैँले माइन्युट लेखेर आफूलाई जिम्मेवारीबाट बञ्चित गरेको दाबी गरेका छन्।

साउन १५ को पूर्ण कार्यसमिति बैठकको माइन्युट आफैले तयार गरेको र आर्थिक अपचलनका विषयमा असहमति जनाएकोमा सुनियोजित तवरले दीपक महर्जनलाई प्रयोग गरी अध्यक्षले आफूलाई बैठक छाडेर जान बाध्य पारेको उनको आरोप छ। 

यता अध्यक्ष अवालेले भने महासचिव मान्युटको विषयमा गैरजिम्मेवार रहेको आरोप लगाएका छन्।

साउन १५ के भएको थियो?

अध्यक्षको दाबी

नेपाल बक्सिङ संघको श्रावण १५ र १६ गते बसेको बैठक सहजरुपमा संचालन भएको अवस्थामा यस अघि संघद्धारा गठित आर्थिक समितिले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन उपर छलफल हुँदा महासचिवले बिमती राख्नु भयो। बिमती राख्न पाउने उहाँको नैसर्गिक अधिकार पनि हो तर आफैले गठन गरेको समितीले पेश गरेको प्रतिवेदन उपर चित्त नबुझेमा छलफलमा ल्याउनुपर्ने र सँगै बसेको लेखा परीक्षकसँग सुझबुझ गर्न अधिकांश सदस्यहरुले आग्रह गर्दा पनि उहाँले बिकल्प नदिई बैठक टार्न मात्र खोज्नुभयो।

आर्थिक प्रतिवेदन पास नगराउने मनसाय विगत ३ बर्ष देखि नै उहाँहरुले गर्दै आउनुभएको थियो। अहिले खेलकुद विकास ऐन २०७७ लागु भएपछि संघले सबै आर्थिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको २ महिना भित्र राष्ट्रिय खेलकुद परिषदमा बुझाउनुपर्ने अन्यथा संघमाथि कारबाही हुन सक्ने प्रावधान भएकाले संघलाई परेको बाध्यात्मक परिस्थितिको कारण सम्भव भएसम्म छिटो बुझाउनुपर्ने सबै सदस्यहरुले मत राखेका थिए। सोहि अवस्थामा प्राबिधिक समितिका संयोजक दिपक महर्जनले 'तपाई जहिले पनि समस्या मात्र ल्याउनु हुन्छ,समाधान र सहयोग गर्नु हुन्न,संघको राम्रो काममा जहिले पनि भाजो हाल्नुहुन्छ,तपाईले हस्ताक्षर नगरे पनि संघको काम रोकिने छैन,तपाईको असहमति छ भने हस्ताक्षर नगरि पनि जान सक्नुहुन्छ' यी शब्द बोल्दै गर्दा महासचिव हलबाट निस्कन खोज्नुभयो।

अध्यक्षको नाताले मैले रोक्ने पटकपटक प्रयास गर्दागदै उहाँ बाहिरिनु भयो। दुई जना सदस्यलाई लिन पठाउँदा उहाँ पुनः सभा हलमा आउनुभयो। त्यसैबीच संघका सदस्यले बोल्दाबोल्दैको अवस्थामा अध्यक्षले रुलिङ गर्नु भएन भनि एकाएक फेरि बाहिरिनुभयो। त्यसपछि बैठक नियमित संचालन भएको थियो।

महासचिवको दाबी

नेपाल बक्सिङ संघले लामो समयपछि २०७७ साल साउन १५ गते बिहीबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो। धेरै लामो समयपछि र अहिलेको प्रतिकुल अवस्थामा बोलाइएको बैठकप्रति केही साथीहरुले असन्तुष्टि पनि जनाएका थिए।

कोरोना भाइरसको महामारीका बेला बोलाइएको बैठकमा सहभागी हुनै समस्या भएपछि मोफसलमा रहेका केही साथीहरुले असन्तुष्टि व्यक्त गरेका थिए। त्यसका बाबजुद पनि बैठक १५ गते बिहीबार पूर्वघोषित मितिमै बसेको थियो। तर, विभिन्न प्रस्ताव उपर गहन ढंगले छलफल गरेर मात्रै टुंगोमा पुग्नुपर्ने देखिएपछि साउन १६ गते शुक्रबार पनि पूर्ण कार्यसमितिको बैठकलाई निरन्तरता दिइएको थियो।

शुक्रबारको बैठकमा उपस्थिति न्युन नै थियो। प्रस्ताव गरिएका विषयहरुमा मिहिन ढंगले छलफल गर्नुपर्नेमा साथीहरुबाट छलफल नै नगरी बहुमतका आधारमा जबरजस्ती लाद्न खोजेपछि म महासचिवले तयार गर्दै गरेको माइन्युट बुकमा मेरो असहमति पनि समावेश गर्छु अर्थात लेख्छु भन्दा दीपक महर्जन कड्किए र मलाई अभद्र व्यवहार गरे। आफूमाथि ज्यादती हुँदा अध्यक्ष राम अवाले पनि सँगै हुनुहुन्थ्यो। मैले आफूमाथि भएको अभद्र व्यवहारका बारेमा उहाँलाई भनें। तर, उहाँबाट केही प्रतिक्रिया आएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell