PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेपाल बक्सिङ संघको विवाद सतहमा, अध्यक्ष र महासचिवबीच दुरी थप बढ्दै



नेपाल बक्सिङ संघको विवाद सतहमा, अध्यक्ष र महासचिवबीच दुरी थप बढ्दै

काठमाडौं: पछिल्लो समय नेपाल बक्सिङ संघको विवाद सतहमा आइपुगेको छ। लकडाउनको बीचमा ४ वर्षे कार्यकाल सकिएको बक्सिङ संघमा अध्यक्ष र महासचिवबीचको मतभिन्नता फेरि सतहमा देखिएको हो। जसको पछिल्लो उदाहरण हो बक्सिङ संघका महासचिवको विज्ञप्ति। भदौ १७ गते संघका महासचिव सविन भट्टाचार्यले संघमा लामो समययता अनियमितता भएको आरोप लगाउँदै केन्द्रीय कार्यसमितिमा आफूमाथि दुर्व्यवाहार भएकोसमेत आरोप लगाएका छन्।

साउन १६ गतेको बैठकमा मोफसलका पदाधिकारीहरुले असन्तुष्टि जनाउँदा जनाउँदै कार्यसमिति बसेको भट्टाचार्यले उल्लेख गरेका छन्।

'प्रस्ताव गरिएका विषयहरुमा मिहिन ढंगले छलफल गर्नुपर्नेमा साथीहरुबाट छलफल नै नगरी बहुमतका आधारमा जवरजस्ती लाद्न खोजेपछि म महासचिवले तयार गर्दै गरेको माइन्युट बुकमा मेरो असहमति पनि समावेश गर्छु अर्थात लेख्छु भन्दा दीपक महर्जन कड्किए र मलाई अभद्र व्यवहार गरे। आफूमाथि ज्यादती हुँदा अध्यक्ष राम अवाले पनि सँगै हुनुहुन्थ्यो,' उनको विज्ञप्तिमा लेखिएको छ, 'मैले आफूमाथि भएको अभद्र व्यवहारका बारेमा उहाँलाई भनें। तर, उहाँबाट केही प्रतिक्रिया नआएपछि मैले बाध्य भएर यो प्रेस विज्ञप्ति जारी गरेको हुँ। आफ्नो फरक मत राख्न पाउने अधिकार कुण्ठित गरी मप्रति भएको दुर्व्यवहारको घोर भत्र्सना गर्दछु।'

त्यस्तै विज्ञप्तिमा महर्जन राष्ट्रिय खेलकुद परिषदको प्रशिक्षक भएकाले नयाँ खेलकुद विकास ऐन अनुसार नेपाल बक्सिङ संघको कार्यसमिति वा सहायक प्रशिक्षकबाट राजीनामा दिनुपर्ने भए पनि अहिलेसम्म दुवै पद नछाडेको दाबी उनले गरेका छन्।

'विगत लामो समयदेखि नै संघमा आर्थिक अनियमितता हुँदै आएको छ। निर्वाचित कोषाध्यक्षबाट कोष परिचालन नगरी मनोमानी ढंगले विधानको मर्मविपरीत कोष सञ्चालन हुँदै आएको पनि यस विज्ञप्तिमार्फत जानकारी गराउँछु,' विज्ञप्तिमा भनिएको छ, ' विगत लामो समयदेखि नेपाल बक्सिङ संघ एलौटी, स्वेच्छाचारी र तानाशाही ढंगबाट चल्दै आएको छ। नेपाल बक्सिङ संघका अध्यक्ष महाशयबाट कार्यसमितिको नेतृत्व गरेदेखि नै मेरो महासचिव पदको अवमूल्यन गर्दै बैठकको सूचना पनि मलाई जानकारी नगराई आफ्नै नजिकका व्यक्तिहरु बसी माइन्युट पनि आफै लेख्ने कार्य गरेर मेरो जिम्मेवारी समेत बञ्चित गरिएको छ।'

विवादको दोहोरी

हुन त बक्सिङ संघमा सुरुबाट अध्यक्ष, महामचिव र कोषाध्यक्षको कार्यसमिति आएसँगै तालमेल नमिलेको जानकारहरु बताउँछन्। जसको उदाहरण हो, साउन ४ गते अध्यक्ष अवालले निकालेको विज्ञप्ति। जसमा संघका अध्यक्ष राम अवालेले साउन २५ मा जिल्लामा संघ गठन गरेकोमा ध्यानाकर्षण भएको भन्दै ती संघलाई मान्यता नदिइने स्पस्ट पारेका थिए।

'राष्ट्रको खेलकुद क्षेत्रको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले यो महामारीबाट हुन सक्ने सम्भाव्य जोखिमलाई मध्यनजर गर्दै देशमा कुनै पनि प्रकारको खेलकुदका गतिविधि लगायत संघसंस्थाको कुनै पनि कार्यक्रम अर्को सुचना नआए सम्मको लागि नगर्नु नगराउनु भन्ने मिति २०७६ फाल्गुन २८ मा परिपत्र भएकोले सोहि अनुसार नेपाल बक्सिङ संघले मातहतका जिल्ला/प्रदेशको गठन एवं अधिवेशन कार्यक्रम नगर्न,नगराउनु हुन सम्बन्धित सबै जिल्ला,प्रदेश बक्सिङ संघलाई जानकारी गराइन्छ,' अध्यक्ष अवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'साथै उक्त लकडाउन अवधिभर राष्ट्रिय खेलकुद परिषदको निर्देशन र नेपाल बक्सिङको अनुमति बिना गठन गरिएका जिल्ला, प्रदेश संघहरुलाई केन्द्रीय बक्सिङ संघको मान्यता नहुने समेत जिल्ला, प्रदेश बक्सिङ, खेलाडी प्रशिक्षक, खेल प्रेमी दाजुभाई दिदीबहिनीमा जानकारी गराउदछौं।'

त्यद्यपि संघले आर्थिक अपारदर्शितालगायतका आरोपलाई खण्डन गर्दै आएको छ। असार १८ गते संघले निकालेको विज्ञप्तिमा संघ पारदर्शी हिसाबले अघि बढेको दाबी गरिएको छ।

'नेपाल बक्सिङ संघ स्वायत्त संस्था भए पनि यसले गर्ने हरेक गतिविधिहरुमा नेपाल सरकार (युवा तथा खेलकुद मन्त्रालय,राष्ट्रिय खेलकुद परिषद्को निर्देशन सहयोग र सुझाव) रहँदै आएको छ। राष्ट्रिय खेलकुद परिषद् खेलकुद बिकास ऐन अन्तर्गत गठित नेपाल बक्सिङ संघका आर्थिक लगायत सम्पूर्ण गतिविधिहरु पारदर्शी छन्। यस सम्बन्धमा सघं जहिले पनि खुला छ, हरेक पक्षको सत्य–तथ्य जानकारी दिन हामी तयार छौं,' विज्ञप्तिमा भनिएको छ।

त्यस्तै बक्सिङको स्तर खस्किएको विषयलाई संघले १३औं दक्षिण एसियाली खेलकुद सागमा हात पारेको उपलब्धिसँग जोडेर खण्डन समेत गरेको थियो।

'जहाँसम्म बक्सिङ खेलको स्तर खुम्चिएको भन्ने सम्बन्धमा रेकर्ड आफै बोल्छ। गएको १२औ दक्षिण एशियाली खेलकूदमा ३ वटा काश्य पदक मात्र जितेको थियो भने यस कार्यसमितिको पालामा काठमाडौंमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुदमा ३६ बर्ष पुरानो रेकर्ड ब्रेक गर्दै बक्सिङ इतिहासकै सर्वाधिक ३ स्वर्ण, ६ रजत, र ६ कास्य पदकको साथ दुई दर्जन भन्दा बढि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी गराई सन २०१० देखिको अन्तर्राष्ट्रीय पदकको खडेरीलाई तोड्दै ९ स्वर्ण,२ रजत,र २ कास्य जित्नुको साथै अन्य प्रिमिलरि राउन्डमा क्यामरून,लावस, अफगानिस्तान, पाकिस्तान, ताइवान, सिंगापुर र सर्विया जस्ता देशहरू माथि जित निकाल्दै राष्ट्रको गरिमा बढाउन सक्षम भएको छ।' विज्ञप्तिमा लेखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell