PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रामको जन्मबारे दिएको ओलीको अभिव्यक्तिप्रति सत्तारुढ दलकै नेताको विरोध : वामदेव, नारायणकाजी र भीम रावलको जवाफ यस्तो



रामको जन्मबारे दिएको ओलीको अभिव्यक्तिप्रति सत्तारुढ दलकै नेताको विरोध : वामदेव, नारायणकाजी र भीम रावलको जवाफ यस्तो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राम र अयोध्याबारे दिएको अभिव्यक्तिप्रति टिप्पणी गरेका छन्।

प्रधानमन्त्री ‌ओलीले सोमवार भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा अयोध्या नेपालमा रहेको र राम पनि नेपालकै भएको बताएका थिए।

सोही विषयमा नेकपाका उपाध्यक्ष वामदेव गौतमले विना प्रमाण अभिव्यक्ति दिएको बताएका छन्।

गौतमले दुई वर्ष पहिले आफूसँग प्रधानमन्त्रीले उक्त विषयमा चर्चा गरेको स्मरण गर्दै आफूले विना प्रमाण नबोल्न सल्लाह दिएको उल्लेख पनि गरेका छन्।

आफूले सल्लाह दिए पनि ओलीले विना तथ्य सार्वजनिक गर्ने शंका लागेको समेत उनले उल्लेख गरेका छन।

'दुई वर्ष पहिले उहाँलाई भेट्न म बालुवाटार गएका बखत यो विषयबारे चर्चा गर्नुभएको थियो। मैले उहाँलाई यस सम्बन्धमा आफूले अध्ययन गरेका कतिपय सन्दर्भ सामाग्री उल्लेख गर्दै विना अनुसन्धान, विना तथ्य प्रमाण यस्तो विषयलाई तपाईले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ,' मंगलवार गौतमले फेसबुकमा लेखेका छन्,' मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो। नभन्दै हिजो तथ्य प्रमाण विना त्यसलाई सार्वजनिक गरेरै छोड्नु भयो।'

उनले तथ्य र प्रमाणका आधारमा तथ्य र तर्कसंगत भए प्रधानमन्त्रीले नभइ इतिहासकारहरुले सार्वजनिक गर्नुपर्ने उल्लेख गरेका छन्।

राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिएको मन्तव्यबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको बताउँदै गौतमले आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्नु उपयुक्त  हुने बताएका छन।

साथै प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न आग्रह पनि गरेका छन।

त्यस्तै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आलोचनात्मक चेत, तथ्य नहेरी क्षणिक स्वार्थका लागि जे भन्ने प्रवृति त्याग्न आग्रह गरेका छन। उनले यस्तो प्रवृत्तिले समाज र राष्ट्रलाई राम्रो नगर्ने पनि बताएका छन।

'नेपालका राजनीतिक पार्टी,नेता र नेपालीहरुको अपमान र अवमुल्यन नगरौं। आलोचनात्मक चेत बिना,तथ्य नहेरी, तात्कालिक क्षणिक स्वार्थमा आधारित भएर जे पनि भन्ने र प्रचार गर्ने प्रवृत्ति त्यागौं। यसले राष्ट्र र समाजलाई राम्रो गर्दैन। नयाँ युवा पुस्तालाई हामी के सिकाउँदैछौ? देशभक्त र विवेकी बनौं,' श्रेष्ठले ओलीतिर संकेत गर्दै ट्वीटमा लेखेका छन्।

त्यस्तै स्थायी कमिटी सदस्य भीम रावलले विषयान्तर किन भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्। कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने विषयमा भारतसँग कुरा गर्नुपर्ने बेला राम र अध्योध्याबारे बहस गर्नुपर्ने हो भन्दै प्रश्नसमेत गरेका छन्।

उनले देशलाई गम्भीर असर पार्ने विययमा पार्टी र सरकारसँग छलफल नगरेको भन्दै आक्रोश पनि पोखेका छन्।

'यो बेला सीमा क्षेत्र मिचिएको,तराईका बस्ती डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौंज हट्नुपर्ने विषय उठाई भारतसँग कुरा गर्नुपर्ने हो कि राम र अयोध्याबारे बहस गर्नुपर्ने हो?' रावलले ट्वीटमा भनेका छन्, 'विषयान्तर किन? देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीं छलफल गर्नु नपर्ने कस्तो तन्त्र हो?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell