PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सिन्धुपाल्चोकमा बाढी : जम्बुमा ११ घर बगायो, दुई जना घाइते, दुई जनाको मृत्यु, १७ बेपत्ता



पहिलोपोस्ट

सिन्धुपाल्चोकमा बाढी : जम्बुमा ११ घर बगायो, दुई जना घाइते, दुई जनाको मृत्यु, १७ बेपत्ता

काठमाडौं : सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाको वडा नम्बर ५ स्थित जम्बुमा बाढीले ११ घर बगाएको छ।

बाढीका कारण दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएको वडा नम्बर ५ का अध्यक्ष बेलबहादुर रोकाले जानकारी दिए।

अहिले केही प्रहरी र बाह्रबिहे नगरपालिकाका मेयर निमफुन्जो शेर्पासमेत घटनास्थलमा आइपुगेको रोकाले बताए। भने, 'अहिले हामी बाढीग्रस्त क्षेत्रमा छौं। मेयर आइपुग्नुभएको छ। केही प्रहरीहरु पनि छन्।'

बाढीका कारण यहाँका अधिकांश घर बगाएको र १७ जना बेपत्ता भएको वडाध्यक्ष रोकाले बताए।

सिँगे तामाङ र सविता बस्नेतलाई घाइते अवस्थामा उद्धार गरिसकेको उनले बताए।

'हालसम्म २ जनाको शव भेटिएको छ,' उनले बताइन्। २० वर्षीय निकेश बस्नेत र उनको ३ वर्षीय छोराको शव फेला परेको पाख्रिनले बताइन्।

बाह्रबिसे नगरपालिका वडा नम्बर ५ को जम्बु गाउँको सिंगो बस्ती नै बगाएको छ। अहिलेसम्म त्यहाँ १८ जना बेपत्ता भएको जानकारी आएको छ। गए राति १२ बजेदेखि परेको पानीका कारण याल्मो खोलामा बाढी आएपछि घरहरु बगाएको हो।

आफ्नै घरसमेत यही क्षेत्रमा रहेको वडाध्यक्ष रोकाले बताए। उनले भने, 'वडा यतैबाट चलाउँथे। मेरो घर पनि आधा पुरेछ। कागजपत्र बर्बाद भएछन्।' आफू भने गाउँको पुरानो घरमा बस्ने गरेको उनले सुनाए।

यता वडा नम्बर ३ को खाग्डोलमा भने बाढी पहिरोका कारण बंगुरपालन गरिएको फर्म बगाएको वडाध्यक्ष टेकबहादुर भण्डारीले बताए। यहाँ ४ वटा घर पहिरोमा परेका छन्। मानवीय क्षति भने नभएको वडाध्यक्ष भण्डारीले बताए। 

वर्षाका कारण बाह्रबिसेको सडक सञ्जाल ठप्प भएको नगरपालिकाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell