PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

झम्सिखेल बैठकको निष्कर्ष : प्रधानमन्त्री ओलीले पार्टीको निर्णय मान्नै पर्छ, नमाने बहुमतबाट फैसला हुन्छ



झम्सिखेल बैठकको निष्कर्ष : प्रधानमन्त्री ओलीले पार्टीको निर्णय मान्नै पर्छ, नमाने बहुमतबाट फैसला हुन्छ

काठमाडौ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का  अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय मान्नुपर्ने निष्कर्षमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह पुगेको छ।

पार्टीभित्र विवाद चर्किरहेको बेला  ललितपुरको एक रेष्टुरेन्टमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री राम बहादुर थापासहितका नेताहरु ओलीले पार्टीको निर्णय मान्नुपर्ने निष्कर्षमा पुगेका हुन।

'पार्टी विधिसम्मत रुपमा चल्छ। पार्टीले गरेको निर्णय सबैले मान्नुपर्छ। ओली स्वच्छाचारी ढंगले चल्नु भएन। उहाँले पार्टीले गरेको निर्णय नमाने बहुमतको आधारमा निर्णय हुन्छ' बैठकमा सहभागी एक नेताले भने।

पार्टीले यहि निर्णय भन्ने त भन्न नसकिएपनि ओलीले पदबाट राजीनामा दिनुपर्ने विषयमा पनि निर्णय हुनसक्ने उनले बताए।

छलफलमा नेताहरुले ओली सरकार र पार्टी सञ्चालनमा असफल भएकाले राजीनामा दिनुपर्ने कुरा दोहोर्‍याएका थिए।

मंगलबार बसेको स्थायी कमिटी बैठकमा प्रचण्डसहितका नेताहरुले ओलीको राजीनामा माग गरेका थिए। अधिकांश स्थायी कमिटी सदस्यहरु ओलीको कार्यशैली प्रति असन्तुष्ट रहेको बताइन्छ।

बुधबार विहान आफूनिकट मन्त्रीसँग प्रधानमन्त्री आलीले छलफल गरेपछि आफ्नो आगामी रणनीति बनाउन प्रचण्ड नेपालसमूहबीच छलफल भएको हो। बुधवार दिँउसो स्थायी कमिटी बसेपनि पाँचजना सदस्यले बोलेपछि बैठक स्थगित गरिएको थियो।  बैठकपछि ललितपुरमा भएको छलफलमा प्रचण्ड र नेपाल समूहका ३१ सदस्य सहभागी थिए।

झम्सीखेलमा भएको छलफलपछि बिहिबार बिहान प्रचण्डले ओली पक्षका नेताहरुसँग खुमलटारमा छलफल गर्ने बताइएको छ। बिहिबार पनि स्थायी कमिटी बैठक रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell