PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रदेश सरकारले देखेको सपना साकार हुने चरणमा छ : मुख्यमन्त्री पौडेल



रासस

प्रदेश सरकारले देखेको सपना साकार हुने चरणमा छ : मुख्यमन्त्री पौडेल
फाइल फोटो।

हेटौँडा : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले देखेको सपना साकार हुने चरणमा प्रवेश गरेको बताएका छन्। भीमफेदी-कुलेखानी सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदनको प्रस्तुतीकरण तथा बोलपत्र आह्वानसम्बन्धी भएको छलफलमा बोल्दै मुख्यमन्त्री पौडेलले संघीय सरकारले सुरुङमार्गमा सहलगानी गर्न सहमती जनाएको विषयले आफूलाई उत्साहित बनाएको उल्लेख गरे।

मुख्यमन्त्री पौडेलले परियोजनाको टेण्डर प्रक्रिया अघिका सम्पूर्ण प्रक्रिया सम्पन्न भएर टेण्डर आह्वानको चरणमा प्रवेश गरेकोमा खुशी व्यक्त गर्दै यस कार्यमा सहभागीलाई धन्यवाद ज्ञापन गरे। छलफलमा मुख्यमन्त्री पौडेलले सुरुङ निर्माणमा केन्द्र सरकारसमेत सहभागी हुने भएपछि बोलपत्र आह्वानको कामलाई दुई/तीन दिन पर सार्न निर्देशनसमेत दिए। सुरुङमार्गमा संघ सरकारको लगानी कस्तो र कसरी हुने हो त्यसको विषयमा छलफल गरेर मात्रै टेण्डर प्रक्रियामा जाँदा उत्तम हुने उनको भनाइ थियो।

कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयालले अबको ४२ महिनाभित्र सुरुङमार्ग तयार हुने बताए। उनले समयमै काम सम्पन्न गर्ने प्रतिबद्धतासहित आफूहरु क्रियाशील रहेको उल्लेख गरे। छलफलमा मुख्यमन्त्री पौडेलका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलियाले बोलपत्र आह्वानको चरणमा पुगेकोमा खुशी व्यक्त गरे।

त्यस्तै, प्रदेशका प्रमुख सचिव तोयम रायाले काम शुरु गर्नुपूर्व नै सम्भावित जोखिमको आँकलन गरिनुपर्ने धारणा राखे। उनले सुरुङमार्ग हेर्ने छुट्टै समूह बनाएर काम गर्न तथा अन्तिम अवस्थासम्म काममा रहने प्रतिबद्धता जनाउन कर्मचारीलाई निर्देशन दिए।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले सुरुङमार्गको टेण्डर प्रक्रिया शुरु गर्न आफूहरु तयार भएको बताए। आजभोलि नै बोलपत्र आह्वान गर्न सकिने उनको भनाइ थियो। कार्यक्रममा सचिव भट्टले परियोजनाको बारेमा जानकारी गराएका थिए।

कूल १९ अर्ब ३२ करोड रुपैयाँको लगानीको अनुमान गरिएको सुरुङमार्गको लम्बाइ ३.२ किलोमिटरको हुने जनाइएको छ। उक्त परियोजनाभित्र भीमफेदीदेखि नै बाटो फराकिलो बनाएर दुईवटा सुरुङ, भीमफेदी खोलामा ५२ मिटरको र कुलेखानी खोलामा ३६ मिटरको पुल समेत बनिने जानाइएको छ। त्यस्तै सुरुङको कुलेखानी पट्टीको खण्डमा व्यवस्थित पार्किङ तथा मनोरम उद्यानसमेत निर्माण हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell