PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पूर्व अर्थमन्त्रीहरु भन्छन् : यो बजेट जोखिममा छ, ६ महिनामै संशोधन गर्नुपर्ने स्थिति आउन सक्छ



कुञ्जरमणि भट्टराई

पूर्व अर्थमन्त्रीहरु भन्छन् : यो बजेट जोखिममा छ, ६ महिनामै संशोधन गर्नुपर्ने स्थिति आउन सक्छ

काठमाडौं : सरकारले आगामी वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट पेश गरेको छ।

यो गत वर्षभन्दा कम आकारको बजेट हो। चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख थियो।

अर्थमन्त्री ‍डा युवराज खतिवडाले बिहीवार प्रस्तुत गरेको बजेटमा ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ राजश्व संकलनबाट उठाउने लक्ष्य उल्लेख छ।

साथै वैदेशिक सहायताबाट ६० अर्ब ५२ करोड रुपैयाँ छ। वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड उठाउने छ भने २ खर्ब २५ अर्ब आन्तरिक ऋण बताइएको छ।

बजेट प्रस्तुत भएसँग अर्थका जनाकारहरुले कार्यान्वयन हुनेमा चुनौती रहेको टिप्पणी गरेका छन्। राजश्व र ऋण साहायताको अवस्था हेर्दा बजेट जोखिमपूर्ण रहेको पूर्व अर्थमन्त्रीहरुले टिप्पणी गरेका छन्। बजेटका बिषयमा के भन्छन् त पूर्व अर्थमन्त्रीहरु?

 

६ महिनामा नै संशोधन गर्नुपर्ने स्थिति आउन सक्छ : लोहनी

पूर्व अर्थमन्त्री एवं राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनीले सरकाले आगामी वर्षका लागि ल्याएको बजेटमा ६ महिनामा नै संशोधन गर्नुपर्ने अवस्था आउन सक्ने आशंका व्यक्त गरेका छन्। बजेटबारे प्रतिक्रिया दिँदै लोहनीले  बजेटमा उल्लेख भएको राजश्वले सरकारको खर्च नै धान्न नसक्ने र विदेशी सहायतामा धेरै नै निर्भर भएकाले बजेट संशोधन गर्नुपर्ने अवस्था आउन सक्ने आशंका व्यक्त गरे।

उनले पहिलोपोस्टसँग भने, 'बजेट लागू होला कि नहोला भन्ने सकिन्न। राजश्व ८ खर्ब भनिएको छ। त्यति राजश्वले सरकारको खर्च नै धान्दैन। त्यसमाथि विदेशी सहायतामा नै धेरै निर्भर भएर बजेट ल्याइएको छ। ‍विदेशी सहायता आउँछन् भन्ने विश्वास पनि लिन सकिन्न। त्यसैले ६ महिनामा नै बजेट संशोधन गर्नुपर्ने स्थिति आउन सक्छ।'

स्वास्थ्य, खाद्यान्न र उर्जामा परनिर्भर बन्न नहुने उनको तर्क छ। यी तीन कुरामा परनिर्भर बन्दा नै नेपाली कमजोर भएको उनको ठम्याइ छ।

सरकारले स्वास्थ्य सुरक्षामा केही मात्रामा ध्यान पुर्याएको बताउँदै खाद्य सुरक्षमा ध्यान दिन नसेको बताए। उर्जा सुरक्षामा ध्यान दिन नसकिएको उनको भनाइ छ।

'अहिले संकटको अवस्था छ। कोरोना कहिलेसम्म रहन्छ टुंगो छैन्। विदेशमा काम गर्न गएकाहरु धमाधम आइरहेका छन्। खाद्यन्नको समस्या आउन सक्छ। उनीहरुका लागि खाद्यान्न व्यवस्था गर्नुपर्छ। त्यसका लागि खाद्यन्नको कार्यक्रम ल्याउनुपर्थ्यो।जनता बचाउनका लागि खाद्यन्न लैजान्छु भन्न सक्नुपर्थ्यो,' उनले त्यसमा बजेट चुकेको टिप्पणी गरे।

बजेट खर्च गर्न सरकारको संयन्त्रमा विश्वास गर्न नसिकने बताउँदै अहिले पनि उक्त सुध्रिन सक्ने अवस्था बजेटमा नआएको बताए।

'पहिले पनि कर्मचारीसँग सरकारले सम्झौता गर्‍यो। त्यो लागू भएन्। अब पनि हुन्छ भन्नेमा विश्वास गर्ने आधार छैन', उनले भने।

त्यस्तै लोहनीले प्रशासनिक खर्च कटाउने भनिए पनि उल्लेख्य मात्रामा खर्च कटौती गर्ने आँट नदेखिएको टिप्पणी गरे।

'पहिले पनि ठूला योजनामा काम हुन सकेको छैन। पुँजीगत खर्च हुन सकेको छैन। अहिले पनि काम हुने विश्वास दिलाउन सकेको छैन,' उनले भने।

सरकारले बजेट ल्याएर जिम्मेवारी पूरा गरेको तर कार्यान्वयन हुनेमा विश्वास नभएको उनको भनाइ थियो।

बजेट जोखिममा छ : पाण्डे

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहेका पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट देशको परिस्थितिअनुसार आएको टिप्पणी गरे। बजेटको कार्यान्वयन चुनौतीपूर्ण रहेकाले अहिले देखि नै त्यसमा ध्यान दिनुपर्ने उनको भनाइ छ।

'राजश्वलाई लो साइडमा राखिएको छ। चालु खर्च घटाउछु भनेको छ। आन्तरिक ऋण उठाएर खर्च गर्दिन भनेको छ त्यो त राम्रो कुरा हो। तर, अर्को वर्षलाई वैदेशिक सहायतामा जोड दिएको छ। वैदेशिक सहायता भनेको जति आउदैन। वैदेशिक सहायता र राजश्व यी दुई कुराले बजेट जोखिममा छ।'

उनले बजेट कार्यान्वयनमा धेरै नै मेहनत गर्नुपर्ने बताए। पाण्डेले चालु खर्च कटौति गर्न सक्ने सम्भावना कम रहेको समेत बताए।

पाण्डेले बजेटले कोरोना महामारीलाई प्राथमिकता दिएका कारण बजेट संकुचनका साथ आएको बताए।

'देशको परिस्थितिका कारण बजेट संकुचनका साथ आएको छ। पोहोरको भन्दा कम आकारको बजेट आएको छ। हामीले गत वर्षको लक्ष्यलाई समेत छाड्नुपरेको छ,' उनले भने।

बजेटले स्वास्थ्य रोजगारीलाई प्राथमिकता दिएको उनको भनाइ छ। ५ लाख व्यक्तिलाई रोजगारी दिने भन्ने कुरा कार्यान्वयनमा असहजता रहेको उनले बताए।  रोजगारी दिन नसक्दा सक्दा बजेट कार्यान्वयनमा चुनौती थपिने उनको भनाइ छ।

महत्वाकांक्षी छ, कार्यान्वयन क्षमता देखाउन सक्नुपर्छ : महत

नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले बजेटमा महत्वकांक्षा  धेरै देखिएको  टिप्पणी गरे। उनले बजेटमा प्राथमिकता स्पष्ट नभएको टिप्पणी बताए। बजेट कार्यान्वयनमा आशंका गर्ने प्रशस्त ठाउँ रहेको उनको भनाइ छ।

भने, 'बजेटमा इच्छा आकांक्षा, महत्वाकांक्षा आएका छन्। प्राथमिकता स्पष्ट छैन। धेरै बाचा गरेर मात्र हुँदैन।'

महतले कार्यान्वयन क्षमता देखिनुपर्ने बताए। बजेटमा तुरुन्तै गर्नुपर्ने कुरामा ध्यान नदिएको आरोपसमेत लगाए।

भन्छन्, 'बजेट एक वर्षमा के-के गर्ने भन्ने कुरा हो। एक वर्षका मात्र नभएर थुप्रै कुराहरु समेटिएका छन्। बाचामात्र धेरै गरेर हुँदैन कार्यान्वयन क्षमता देखाउन सक्नुपर्छ। व्यवहारमा लागू गरेर देखाउन सक्नुपर्छ।'

बाबुरामको प्रश्न : यसले समस्याको समाधान गर्ला?

उता, पूर्व प्रधानन्त्री तथा अर्थमन्त्री डा बाबुराम भट्टराईले बजेट पोहोर सालको जस्तै भएको टिप्पणी गरेका छन्। बजेटले शीर्षक फेरिए पनि धेरै कुरा उही भएको भन्दै यसले समस्याको समाधान गर्न नसक्ने उनको टिप्पणी छ।

उनले ट्वीटमा भनेका छन्, 'यो वर्षको बजेट सँगसँगै पेहोर सालको बजेट-बक्तव्य पनि खोलेर हेर्नुहोला। बजेट शीर्षक केही फरक परे पनि धेरै कुरा हुबहु उही छन्। बजेटको आकार मात्रै उस्तै हैन स्वास्थ्य, सामाजिक सुरक्षा, कृषि, शिक्षा जस्ता प्राथमिकता दिने भनिएका क्षेत्रमा रकम विनियोजन पनि उस्तै उस्तै छ। यसले समस्या हल होला?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell