PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

हरिवनमा कोरोना विशेष एमबीबीएस डाक्टर, कृषिमा अनुदान, विदेशबाट फर्किनेलाई विनाधितो ऋण



पहिलोपोस्ट

हरिवनमा कोरोना विशेष एमबीबीएस डाक्टर, कृषिमा अनुदान, विदेशबाट फर्किनेलाई विनाधितो ऋण
PHOTO :harionmunicipality

सर्लाही: यहाँको हरिवन नगरपालिकाले कोरोना भाइरसको महामारीविरुद्ध लड्न एमबीबीएस डाक्टर नियुक्त गर्ने निर्णय गरेको छ।

नगरपालिकाको शुक्रवारको विशेष नगरसभाले महामारीको संकटलाई मध्यनजर गर्दै पूर्वतयारी स्वरुप नगरको स्वास्थ क्षेत्रलाई थप मजबुद र सुरक्षित बनाउन कोरोना विशेष क्वारेन्टाइन सञ्चालनका लागि तत्कालै एमबीबीएस डाक्टर नियुक्तिको निर्णय गरेको हो।

नगरको स्वास्थ्य सेवालाई थप सक्रिय रुपमा परिचालन गर्न र नागरिकलाई गुणस्तरीय सेवा प्रदानका लागि कोरोना विशेष डाक्टर तुरुन्तै नियुक्ति गर्ने निर्णय गरिएको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईले बताए।

मेयर प्रसाईसहित उपमेयर रेणुका पौडेल, प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुडाल, वडाध्यक्षहरु, नगरसभा सदस्यहरुको उपस्थितिमा बसेको नगरसभाले नगरभित्र स्वास्थ्य संस्था नरहेका वडाहरुमा स्वस्थ्य सेवा तुरुन्तै सुरु गर्न एचए, अहेव र अनमीसमेत तत्काल नियुक्त गर्ने निर्णय गरेको छ।

लकडाउनका कारण नगरभित्रका आफ्ना नागरिकहरुलाई सामान्य स्वास्थ्य परीक्षण गर्न अन्यत्र जान समस्या पर्ने अवस्थालाई मध्यनजर गर्दै सुगर, प्रेसर लगायतका बिरामीको परीक्षण गर्न तत्काल ल्याबको स्थापना गरि सेवा सञ्चालन गर्ने मेयर प्रसाईले बताए।

लकडाउन विशेष प्याकेज घोषणा

यसैगरी नगरसभाले लकडाउनले उत्पन्न हुन सक्ने आर्थिक लगायतका समस्याहरूलाई मध्यनजर गर्दै त्यसको समाधान तथा नियन्त्रणका लागि विशेष प्याकेजहरु ल्याउने निर्णय गरेको छ।

त्यसको लागि नगरले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर त्यस किसिमको योजना तत्काल बढाउने भएको छ। नगरभित्र ९० प्रतिशत कृषि उत्पादन हुने जमिन सुख्खा रहेको र सो स्थानमा तुरुन्तै सिँचाइको व्यवस्थापन गर्न नगरले विशेष कार्यक्रम ल्याउने र सहयोगको लागि सम्बन्धित निकायलाई पत्राचारसमेत गरेको छ।

अब आइपर्ने खाद्य संकटलाई मध्यनजर गर्दै विदेशबाट अब फर्किने युवा र खेती गर्न इच्छुक नेपाली युवाहरूलाई सामूहिक कृषि खेतीको लागि अनुदान उपलब्ध गराउने निर्णयको साथै अहिले खेती लगाउने समय भएको र लकडाउनका कारण आवश्यक कृषि बिउबिजन र मलखाद सुलभ रुपमा कृषकले प्राप्त गर्न नसकेको कठिनाइलाई मध्यनजर गर्दै नगरले नै अनुदानसहित सहुलियतमा कृषि मलबिउ नागरिकलाई प्रदान गर्ने भएको छ।

प्याकेजअन्तर्गत नगरले विदेशबाट फर्केका युवाहरूलाई विना धितो ऋणसमेत प्रदान गर्ने छ। अनुदान र सहयोगलाई सहज गराउन किसान परिचयपत्र प्रदान गरिनेछ। नगरसभाले हरियो तरकारी तथा फलफूल खरिद तथा बिक्री सहकारीमार्फत गराउने निर्णय पनि गरेको छ।

नगर सभाले स्वास्थ्य, कृषि लगायतका विविध पाटोसंगै लकडाउनका कारण मारमा परेका नगरभित्रका व्यापार व्यवसाय गर्नेहरूलाई समेत विशेष योजना ल्याएको छ।

नगरले लिँदै आएको घरबहाल कर ४ महिनाको नलिने निर्णय गरेको छ। नगरभित्रका नागरिकले बुझाउने मालपोत, तिरो लगायतका करमा केही निश्चित प्रतिशत छुट गरिनेछ। नगरभित्र स्थापना हुन आउने साना तथा मझौला उद्योग दर्तामा ५० प्रतिशत छुट दिने हरिवनको निर्णय छ।

लकडाउनलाई थप कडाइ गर्न, व्यवस्थित र मर्यादित बनाउन नगरभित्र स्वयंसेवक खटाउने निर्णयसमेत भएको प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुडालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell