PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ओलीको ‘बामदेव कार्ड’पछि प्रचण्ड-नेपाल समूहको रणनीतिः बामदेवको नाममा लिखित प्रतिबद्धता, स्थायी समितिबाट राजीनामाको दबाब



पहिलोपोस्ट

ओलीको ‘बामदेव कार्ड’पछि प्रचण्ड-नेपाल समूहको रणनीतिः बामदेवको नाममा लिखित प्रतिबद्धता, स्थायी समितिबाट राजीनामाको दबाब

काठमाडौँः पार्टी उपाध्यक्ष बामदेव गौतमलाई अबको प्रधानमन्त्री बनाउने प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालय बैठकमा गरेपछि नेकपाभित्रको राजनीतिमा फरक तरंग निम्त्याएको छ। प्रधानमन्त्रीको प्रस्तावलाई पार्टीभित्रका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको समूहले नयाँ कार्डका रूपमा व्याख्या गरेको छ। यद्यपि प्रधानमन्त्री ओली समूहले भने सचिवालयमा प्रधानमन्त्रीले राखेको प्रस्तावलाई तोडमोड गरी सार्वजनिक गरिएको भन्दै बचाउ गरिरहेको छ।

रक्षा र प्रतिरक्षा कायम रहँदा पार्टीभित्रको गुटको राजनीतिलाई भने ओलीको प्रस्तावले पुनः चलायमान बनाएको छ।

विशेषगरि प्रचण्ड नेपाल-समूहले अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रित गरेको छ।

के छ रणनीति

बुधवारको सचिवालयले बैठकले आन्तरिक विवादमा शीर्ष तहबाट अनौपचारिक रूपमा छलफल गरी ठोस प्रस्ताव ल्याउने म्यान्डेट दिएको छ। सो अनुसार प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्रीकै प्रस्ताव अनुसार उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन ओलीसँग लिखित प्रतिबद्धता माग्ने तयारी गरेको स्रोत बताउँछ।

‘कसरी बामदेवजीलाई प्रधानमन्त्री बनाउने हो लिखित प्रतिवछता त आउनुपर्‍यो नि। उहाँले उपनिर्वाचन लडाउनुभयो। राष्ट्रियसभामा पनि लैजानुभयो । अब प्रधानमन्त्री बनाउँछु भन्ने विश्वस्त आधार के छ त’, नेपाल निकट एक नेताले प्रश्न गर्दै भने।

सचिवालय बैठकमा प्रधानमन्त्रीले बामदेवलाई राष्ट्रियसभाको सदस्य बनाइ संविधान संशोधन गरेर वा प्रतिनिधिसभामा स्थान रिक्त गरी निर्वाचनबाट ल्याएर प्रधानमन्त्री बनाउने प्रस्ताव राखेको समाचार बाहिरिएका छन्। यद्यपि दुवै प्रक्रिया लामा छन्। कोरोना महामारी अन्त्यपछि गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ओलीले गरेका हुन्।

आगामी शनिवार बस्ने तय भएको सचिवालय बैठकमा लिखित प्रतिवद्धता खोज्ने रणनीतिमा प्रचण्ड–नेपाल समूह छ।

यस्तै, उक्त बैठकबाट स्थायी समितिको मिति तत्कालै तोकिँदैछ। सकेसम्म सोमबार÷मंगलबारदेखि नै स्थायी समितिको बैठक राख्न दबाब दिने तयारी प्रचण्ड–नेपाल समूहको छ। स्थायी समिति बैठकबाट प्रधानमन्त्री ओलीलाई मार्गप्रशस्त गर्न दबाब बढाउने रणनीतिमा उक्त समूह छ। प्रधानमन्त्रीबाट राजीनामाका लागि स्थायी समितिमा दबाब बढाउने तयारीमा प्रचण्ड नेपाल समूह छ।

स्थायी समितिबाट उक्त प्रक्रिया अनुमोदन भएमा संसदीय दलको नेता चयनको प्रक्रिया अघि बढ्नेछ।

तर, प्रधानमन्त्रीकै बाचा अनुसार बामदेवका पक्षमा लिखित सहमति भएमा राष्ट्रियसभाको मनोनयन वा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुपर्छ।

राष्ट्रियसभामा मनोनयन भए प्रधानमन्त्रीको बाटो खुला गर्न संविधान संशोधनको प्रक्रिया अघि बढाइनुपर्छ।

प्रतिनिधिसभामा ल्याउन चाहेमा प्रत्यक्ष निर्वाचित कुनै एक सांसदको राजीनामा, उपनिर्वाचनको प्रक्रिया अघि बढ्नेछ। निर्वाचनबाट विजयी भएमा मात्र बामदेवको कोर्स अघि बढ्नेछ। निर्वाचित भएर आएमा संसदीय दलको नेता चयन हुनुपर्नेछ। संसदीय दलमा जीत हासिल गरेमा मात्र प्रधानमन्त्री बन्ने सुनिश्चितता हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell