PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

घर बाहिर निस्किँदा मास्क लगाउन अमेरिकीहरुलाई ‘सिडिसी’को आग्रह, राष्ट्रपति ट्रम्पले भने : म लगाउँदिनँ



पहिलोपोस्ट

घर बाहिर निस्किँदा मास्क लगाउन अमेरिकीहरुलाई ‘सिडिसी’को आग्रह, राष्ट्रपति ट्रम्पले भने : म लगाउँदिनँ
Photo: people.com

राष्ट्रपति डोनाल्ड ट्रम्पले शक्रवार अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले घर बाहिर निस्किदा मास्क लगाउन नागरिकलाई आग्रह गरेको बताए। तर, तत्कालै उनले उक्त अग्रह स्वैच्छिक भएको भन्दै आफूले भने नलगाउने बताए

‘मास्क लगाउने कुरा स्वैच्छिक हो’, ह्वाइट हाउसमा भएको दैनिक कोरोना भाइरस ब्रिफिङका क्रममा राष्ट्रपति ट्रम्पले भने, ‘तपाईंले मास्क लगाउन सक्नुहुन्छ तर लगाउनै पर्छ भन्ने छैन। मैले लगाउँदिनँ। लगाउँदा राम्रो हुन पनि सक्छ तर यो आग्रह मात्रै हो।’

उनले थपे, ‘अन्य राष्ट्रपतिहरु, प्रधानमन्त्रीहरु, तानाशाह, राजारानीहरुलाई अभिवादन गर्दा मास्क लगाउने? मलाई आफ्नो लागि भने यो ठीक लागेन।’

तर राष्ट्रपति ट्रम्पले कुटनीतिक भेटघाट भने एक हप्ताअघिदेखि नै बन्द गरेका छन्।

ट्रम्प प्रशासनमा पछिल्लो केही दिन देखि अमेरिकी नागरिकहरुको सामाजिक व्यवहारमा यति ठूलो परिवर्तन आवश्यक छ या छैन भन्ने विषयमा भइरहेको बहसलाई यसले बाहिर ल्याइदिएको छ। र यो त्यस्तो विवादास्पद ब्रिफिङको क्रममा बाहिरियो, जसमा ट्रम्पले पत्रकारहरुको अपमान गरे र आफ्नै प्रशासनप्रति आक्रमक देखिए।

त्यस्तै, राष्ट्रपति ट्रम्पले एलर्जी तथा संक्रामक रोग राष्ट्रिय संस्थानका निर्देशक डा एन्थोनी फाउसीले घरमै बस्न दिएको निर्देशनको पुनः प्रतिकार गरेका छन्। उनले सो कुरा लागू गर्ने अधिकार गभर्नरहरुलाई भएको बताए। उनले कोरोना भाइरसका बिरामीहरुको उपचार गर्न केन्द्र सरकारले खर्च गर्ने समेत बताए।

मास्क सम्बन्धी बहस सार्वजनिक र गोप्य रुपमा पनि चलिरहेको छ। सिडिसीको मास्क लगाउने आग्रह मान्न चाहने नागरिकले अस्पतालमा प्रयोग हुने मेडिकल अथवा सर्जिकल मास्क नभई सामान्य कपडाको वा फेस मास्क प्रयोग गर्न ट्रम्पले सुझाएका छन्। उनले सामाजिक दुरी कायम गर्नु नै संक्रमणबाट बच्ने सुरक्षित उपाय भएको भन्दै सो निर्देशनको पालना हालपनि गर्नु पर्ने समेत बताए।

सिडिसीका वरिष्ठ अधिकारीहरुले सबैलाई मास्क लगाउन आग्रह गर्न राष्ट्रपति ट्रम्पलाई दबाब दिँदै आएका थिए। स्वस्थ देखिने मानिसहरुले पनि पसल वा सार्वजनिक स्थलमा जाँदा मुख र नाक छोपिने गरी मास्क लगाउनु पर्ने उनीहरुको सुझाव छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell