PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विराटनगरमा मजदुरलाई ढिलोमा बिहीवारदेखि खाद्यान्न राहत, पहिलो चरणमा २० केजीको प्याकेज



अनन्तराज न्यौपाने

विराटनगरमा मजदुरलाई ढिलोमा बिहीवारदेखि खाद्यान्न राहत, पहिलो चरणमा २० केजीको प्याकेज

विराटनगर : विराटनगर महानगरपालिका क्षेत्रभित्र रहेर दैनिक ज्यालादारी गर्ने मजदुरहरुले ढिलोमा बिहीवारदेखि महानगरपालिकाबाट खाद्यान्न राहत पाउने भएका छन्। कोरोना संक्रमणको विश्वव्यापी महामारीबाट बच्न देशभर लकडाउन भइरहेका बेला विराटनगर महानगरपालिकाले ‘विराटनगर महानगरपालिका विपत् कोष’ खडा गरेर राहतको खाद्यान्न वितरण गर्न लागेको हो।

महानगरका प्रमुख भीम पराजुलीका अनुसार विपत् कोषमा महानगरपालिकाले १ करोड रुपैयाँ जम्मा गरेको छ। जसमा प्रमुख पराजुलीले १ वर्षको आफ्नो तलब ५ लाख ४० हजार रुपैयाँ थपेका छन्। त्यस्तै महानगरभरका जनप्रतिनिधिको १ महिनाको तलब ११ लाख र अधिकृतभन्दा माथिका कर्मचारीको ७ दिनको, खरदारभन्दा माथिका कर्मचारीको ५ दिनको र त्यसभन्दा तलका कर्मचारीको ३ दिनको तलब कोषमा जम्मा गर्दा थप १३ लाख थपिने पराजुलीले बताए।

उनले दैनिक ज्यालादारीमा काम गरिरहेका महानगर क्षेत्रभित्रका मजदुरका घरपरिवारको लगत संकलन गर्ने काम भइरहेको जानकारी दिए।

‘मंगलवारभित्र लगत संकलन भइसक्छ’, प्रमुख पराजुलीले भने, ‘हामीले २० हजार घरपरिवारका १ लाख जनसंख्यालाई राहतको खाद्यान्न वितरण गर्नुपर्ने प्रारम्भिक अनुमान गरेका छौँ र यसैअनुसार तयारी गरिरहेका छौँ।’

उनले पहिलो चरणमा १२ किलोग्राम चामल, २ किलोग्राम दाल, ३ किलोग्राम आलु, २ किलोग्राम चिउरा, १ किलोग्राम नुन र आधा लिटर तेल रहेको राहतको प्याकेज बनाएर वितरण गर्ने जानकारी दिए।

‘मंगलवार अपराह्नदेखि बुधवार साँझसम्ममा प्याकिङ गरिसक्ने योजना छ’, उनले भने, ‘राहतको खाद्यान्नको एक पाकेट कम्तीमा २० किलोग्रामको हुनेछ। बिहीवार बिहानदेखि वितरण गर्न हामी युद्ध स्तरमा काम गर्दैछौँ। दैनिक ज्यालादारीमा काम गर्ने मजदुरका घरमा छिटोभन्दा छिटो खाद्य सामग्री पुगोस् भन्ने लक्ष्यका साथ हामी काम गरिरहेका छौँ। दोस्रो चरणको वितरण अझ व्यवस्थित हुनेछ।’

उनले चामल, दाल, तेल र चिउरा स्थानीय उद्योगहरूबाट कारखाना मूल्यमै खरिद गर्न मंगलवार उद्योगीहरूको बैठक बोलाइएको स्पष्ट पारे। स्थानीय बजारमा भन्दा उद्योगमा कम्तीमा २० प्रतिशत सस्तो पर्ने उनले जिकिर गरे।

प्रमुख पराजुलीले विपत् कोषमा रकम वृद्धि गर्दै लैजाने र लकडाउनभर खाद्यान्न वितरणलाई निरन्तरता दिने बताए। कोषमा रकम वृद्धि गर्न विराटनगरका उद्योगी, व्यवसायी, समाजसेवी लगायत सबैलाई महानगरले अनुरोध गरेको छ।

यो पनि :

दैनिक मजदुरी बन्द भएपछि ऋषिदेव टोलमा छायो बेचैनी, ‘सरकारले हाम्रो २ छाकको व्यवस्था गरोस्’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell