PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कोरोना भाइरस मानव सभ्यताको लागि खतरा, सबै राष्ट्र मिलेर लडौं : संयुक्त राष्ट्रसंघ



कोरोना भाइरस मानव सभ्यताको लागि खतरा, सबै राष्ट्र मिलेर लडौं : संयुक्त राष्ट्रसंघ
PHOTO : AP/BBC

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोभिड १९ (कोरोना भाइरस) मानव सम्भयताका लागि खतरा बनेको बताएका छन्।

विश्वभर कहर मच्चाउँदै भाइरस महामारीका रुपमा फैलिरहेको भन्दै उनले सबै राष्ट्रहरुले मिलेर यो भाइरसविरुद्ध लड्नुपर्ने बताए।

‘कुनै पनि देशले एक्लाएक्लै लडेर यो भाइरसलाई जित्न सक्दैन त्यसैले यो भाइरसलाई पराजित गर्न सम्पूर्ण मानव लाग्नुपर्छ।’ उनले भने।

उनले विकसित राष्ट्रहरुमा भाइरस नियन्त्रण गर्ने तर विकासोन्मुख राष्ट्रहरुमा भाइरसलाई डढेलो जस्तै फैलिन दिए लाखौं मानिसको मृत्यु हुन सक्ने चेतावनी दिए। कुनै पनि देशले आफैंले मात्रै भाइरस नियन्त्रण गर्ने प्रयास गरे त्यसले भाइरसको स्वरुप परिवर्तन हुन सक्ने सम्भावना पनि औँल्याए।

‘हाल भाइरसविरुद्ध तयार भइरहेको खोप यसरी परिवर्तित भाइरसका लागि काम नलाग्न पनि सक्छ। त्यसबाट फेरि भयावह अवस्था सिर्जना हुन सक्छ। त्यसैले यो लडाइँलाई सबै मिलेर लड्नुपर्छ।’उनले भने।

डब्लुएचओले कोभिड १९ लाई विश्वव्यापी भाइरस घोषणा गरेसँगै राष्ट्रसंघले जोखिममा रहेका राष्ट्रहरुका लागि दुई अर्ब डलरको कोष स्थापना गर्ने घोषणा गरिसकेको छ। यस्तै, भाइरसको परीक्षण, क्वारेन्टाइन, स्वास्थ्य उपकरणको प्रत्याभूति गर्न समेत सबैलाई आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell