PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ट्रम्पले 'चाइनिज भाइरस' भनेपछि बेइजिङ आक्रोशित, चीन र अमेरिकाबीच आरोपप्रत्यारोप



पहिलोपोस्ट

ट्रम्पले 'चाइनिज भाइरस' भनेपछि बेइजिङ आक्रोशित, चीन र अमेरिकाबीच आरोपप्रत्यारोप

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बयानलाई लिएर चीन आक्रोशित बनेको छ। ट्रम्पले कोरोना भाइरसलाई ट्वीटरमार्फत चिनियाँ भाइरस भनेका थिए। यो बयानमा चीनले कडा अपत्ति जनाएको हो।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीनलाई दोषारोपणको प्रयास नगर्न चेतावनी दिँदै अमेरिकाले 'आफ्नै व्यवसायको हेरचाह' गर्नुपर्ने सुझाव दिएका छन्।

कोरोना भाइरस चीनको वुहानबाट गत डिसेम्बरबाट सुरु भएको थियो। त्यसयता अमेरिका र चीनबीच आरोपप्रत्यारोप चल्दै आएको बीबीसीले जनाएको छ। पछिल्लो हप्ता चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले कोरोना भाइरस एक षडयन्त्र भएको बताउँदै अमेरिकी सेनाले वुहानमा भाइरस फैलाएको आरोप लगाएका थिए।

यो बयानमा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले जवाफ फर्काउँदै चीनले आधारहीन आरोप लगाएर गलत सूचना फैलाएको बताएका थिए। उनले वुहानबाट फैलिएको प्रकोपलाई अमेरिकामाथि दोष लगाएर चीन उम्किन खोजेको टिप्पणी गरेका थिए।

विश्वमा हाल करिब २ लाख मानिसमा कोरोनाको संक्रमण देखिएको छ, जसमा चीनका मात्रै ८० हजार छन्।

डोनाल्ड ट्रम्पले के भने?

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसलाई कुनै विशेष क्षेत्र वा समूहसँग नजोड्न चेतावनी दिएका बेला अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार र मंगलबार लगातार ट्वीट गर्दै कोभिड १९ लाई चिनियाँ भाइरस भनेर सम्बोधन गरेका छन्। चीनको विरोधका बाबजुद पनि ट्रम्पले चिनियाँ भाइरस भन्न छोडेका छैनन्। कैयौं अमेरिकी प्रशासनिक अधिकारीहरु पनि चिनियाँ भाइरस भनेर उच्चारण गरिरहेका छन्। विदेशमन्त्री पोम्पियोले कैयौपटक 'वुहान भाइरस' भनिसकेका छन्।

यसअघि अमेरिकी सीनेटर टम कटनले कोरोना भाइरस चीनको जैविक हतियार भएको र यसलाई वुहान ल्याबमा विकास गरिएको आशंका गरेका थिए।

चीनको प्रतिक्रिया

अमेरिकी अधिकारीले लगातार होच्याएपछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ्ग शुआङ्गले चीनलाई दोषारोपण गर्ने काम नगर्न चेतावनी दिएका छन्। 'हामी अमेरिकालाई गल्ती सुधार्न र चीन विरुद्धको आफ्ना आधारहीन आरोपहरू रोक्न आग्रह गर्दछौं,' उनले भने।

चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले ट्रम्पको भाषा 'जातीय र भेदभावपूर्ण' रहेको र यसले राजनीतिज्ञको गैरजिम्मेवारपन र अक्षमता देखाएको टिप्पणी गरेको छ। साथै कोरोना भाइरसप्रति डरको जोखिमलाई बढाउने बताएको छ।

ट्रम्पको भाषालाई लिएर अमेरिकामा पनि आलोचना भएको थियो। न्युयोर्कका मेयर बिल डि ब्लासियोले ट्रम्पको भाषाले एसियन-अमेरिकीहरु विरुद्ध कट्टरतालाई बढावा दिने खतरा बढ्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए।

चीन-अमेरिका सम्बन्ध

दुबै देशको सम्बन्धन अहिले तनावपूर्ण छ। राष्ट्रपति ट्रम्प सत्तामा आएदेखि नै चीनप्रति अनुदार देखिन्छन्। चीनमाथि अनुचित व्यापारिक व्यवहार र बौद्धिक सम्पत्ति चोरीको आरोप लगाउँदै आएका छन्। उता चीनमा अमेरिकाले विश्व आर्थिक शक्ति बन्न चीनलाई रोक्ने प्रयास गरिररहेको आम धारणा छ। कटु व्यापार युद्धमा उत्रिएर एकअर्कालाई कर बढाएका दुबै देश अहिले कोरोना भाइरसलाई लिएर आरोप प्रत्यारोपमा उत्रिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell