PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रम ओलीको डिस्चार्ज तालिका एक साताको, पाँचौ दिन बित्दा टिचिङका कार्यकारी निर्देशक भन्छन्, 'टुंगो छैन'



कुञ्जरमणि भट्टराई

प्रम ओलीको डिस्चार्ज तालिका एक साताको, पाँचौ दिन बित्दा टिचिङका कार्यकारी निर्देशक भन्छन्, 'टुंगो छैन'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन्। ओलीलाई मिर्गौला प्रत्यारोपण गरेको आज पाचौं दिन। गत मंगलवार अस्पताल भर्ना भएका प्रम ओलीको बुधवार मिर्गौला प्रत्यारोपण गरिएको हो।

अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाका अनुसार मृगौला प्रत्यारोपणको पाँचौँ दिन प्रधानमन्त्रीलाई सन्तुलित खाना खुवाइएको छ। प्रम र मिर्गौला दाता उनकी भान्जी समिक्षा संग्रौलाको भाइटल र ल्यावका सुचकांकहरु सामान्य रहेको छ।

प्रमकी निजी चिकित्सक दिव्या सिंहले केही दिनअघि प्रधानमन्त्रीको स्वास्थ्यमा देखिएको सुधार हेर्दा एक सातमा नै डिस्चार्ज हुने बताएकी थिइन्। सामान्य रुपमा पाँच दिनमा नै डिस्चार्ज गर्न सकिने तर बाहिरिएपछि प्रम भेटघाटमा व्यस्त हुने भएकाले आफूहरुले एक साता अस्पतालमा राख्ने तयारी गरेको सुनाएकी थिइन् सिंहले। प्रमको मिर्गौला प्रत्यारोपणको पाँचौ दिनमा कार्यकारी निर्देशक खड्गा भने डिस्चार्ज हुने दिनको टुंगो भइनसकेको बताउँछन्।

खड्गाले पहिलोपोस्टसँग भने, 'अहिलेसम्म डिस्चार्ज कहिले भन्ने विषयमा छलफल भएको छैन। उपचारमा संलग्न चिकित्सकहरुसँको छलफलपछि मात्र डिस्चार्ज गर्छौं। अहिले उहाँको अवस्था सुधार भइरहेको छ।'

प्रमका प्रेस सल्लाहाकार सूर्य थापा पनि डिस्चार्जबारे टुंगो लागिनसकेको बताउँछन। उनले भने, 'डिस्चार्ज कहिले गर्ने भन्ने टुंगो लागिसकेको छैन।'

प्रम ओलीलाई हिँडडुल गराउन थालिएको र फिजियोथेरापी गराइएको अस्पतालले जनाएको छ। अहिलेसम्म प्रमलाई चिकित्सबाहेक अरुलाई भेट्न दिइएको छैन। हाइडोजको औषधी प्रयोग गरिएको र संक्रमण हुन सक्ने खतरा रहेको भन्दै अन्य व्यक्तिलाई भेट्न नदिइएको चिकित्सकहरुले बताएका छन्।

खड्गा र थापाको भनाइअनुसार अझै केही दिन प्रधानमन्त्री अस्पतालमा नै बस्नेछन्। प्रमको फेरिएको मिर्गौलाले सामान्य रुपमा काम गर्न थालेको छ। 

समिक्षा प्रमको पहिलो भिजिटर

प्रमका राजनीतिक सल्लाहाकार विष्णु रिमालका अनुसार प्रमलाई भेट्ने पहिलो व्यक्ति मिर्गौलादाता संग्रौला हुनेछिन्। रिमालका अनुसार उनले प्रम (मामा)को स्वास्थ्बारे जानकारी लिँदै भेट्ने इच्छा राखेकी छन्।

रिमालले आइतबार ट्वीटमा लेखेका छन्, 'प्रधानमन्त्रीज्युलाई मिर्गौला दान दिने भान्जी समिक्षा संग्रौलालाई सोधें-कस्तो छ? मलाई त ठीक छ, मामालाई चाँहि कस्तो छ? एकपटक मामालाई भेट्न मन लागेको छ।'

रिमालले समिक्षालाई पहिलो भिजिटर समिक्षा नै हुने बताएको ट्वीटमा उल्लेख गरेका छन।

'मैले भने- तपाई पहिलो भिजिटर हुनुहुनेछ। आफ्नोभन्दा प्रमको स्वास्थको चिन्ता लिने उहाँको भावनाप्रति सम्मान प्रकट गर्दै वार्डबाट बहिरिए।'

स्वास्थ्य अवस्था बुझ्न को-को पुगे अस्पताल?

प्रम ओलीको स्वास्थ्यबारे जानकारी लिन मन्त्री, नेता, कार्यकर्ता  आज पनि अस्पताल पुगिरहेका छन्। मन्त्री भानुभक्त ढकाल, प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल, नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता सुवास नेम्वाङलगायत अस्पताल पुगेका थिए।

अस्पतालबाट बाहिँरिदै नेता खनालले प्रमको स्वास्थ्यमा सुधार आइरहेको, हिडाउँन थालिएको जानकारी चिकित्सकहरुले आफूलाई दिएको सुनाए।

ओलीलाई १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell