PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सूदूर पश्चिममा राष्ट्रपति, पाटन नगरपालिकाले दियो विदा, मेयर भन्छन् : यहाँका जनताले उहाँलाई देखेकै छैनन्



कुञ्जरमणि भट्टराई

सूदूर पश्चिममा राष्ट्रपति, पाटन नगरपालिकाले दियो विदा, मेयर भन्छन् : यहाँका जनताले उहाँलाई देखेकै छैनन्
फाइल फोटो

काठमाडौं : गत आइतवार प्रधानमन्त्री केपी शर्मा ओली तेह्रथुम पुगे। तेह्रथुमको आठराई उनको जन्मथलो। ६९ औं जन्मदिन मनाउन उनी त्यहाँ पुगेका थिए। आठराई गाउँपालिकाले प्रधानमन्त्री ओली जन्मदिन मनाउन त्यहाँ आउने भएपछि सार्वजनिक बिदा नै दियो। प्रधानमन्त्रीका लागि लाखौंको खर्चमा हेलिप्याड निर्माण गरियो। ट्याक्टरमा विद्यार्थी ओसारियो। तर, नेपालको नक्सा भएको केक काटेपछि सबै तामझाम ओझेलमा पर्‍यो प्रधानमन्त्रीको वर्थडे सेलिब्रेसनको।

राजतन्त्रका बेलामा राजारानी देश दौडाहामा जाँदा सार्वजनिक बिदा दिने परम्परा थियो। त्यसैले प्रधानमन्त्री तामझामका साथ जन्मथलो पुग्दा गाउँपालिकाले सार्वजनिक बिदा दिनुलाई गणतन्त्रका नेताहरुको राजसी ठाँटकै संज्ञा दिए। बिदा धेरै भएको भन्दै धर्म संस्कृतिसँग जोडिएका चाडपर्वमा दिइँदै आएको सार्वजनिक बिदा कटौती गर्ने सरकार प्रमुख कुनै गाउँ जाँदा दिइएको बिदालाई धेरैले आलोचनाकै रुपमा हेरे।

प्रधानमन्त्री ओलीका लागि दिइएको बिदाको चर्चा सेलाउन नपाउँदै बैतडीको पाटन नगरपालिकाले राष्ट्रपति विद्यादेवी भण्डारी सवार हुने भएपछि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

राष्ट्रपति भण्डारी आजबाट तीन दिने सुदुरपश्चिम भ्रमणमा जाँदैछिन्। बिहीवार दिउँसो राष्ट्रपति बैतडीको पाटन नगरपालिका पुग्ने कार्यक्रम छ।

त्यसैले नगरपालिकाले नागरिक अभिनन्दनका लागि बिदा दिएको बताउँछन् नगरपालिका प्रमुख केशवबहादुर चन्द। राष्ट्र प्रमुख पहिलोपटक आफूहरुको नगर आउने भएपछि उत्साहका साथ नगरपालिकामा सार्वजनिक बिदा दिइएको उनको भनाइ छ।

'राष्ट्रपति पहिलो पटक आउन लागेकाले यहाँका जनता निकै खुशी छन्। यो खुशीको कुरा पनि हो। नगरपालिकामा स्वागत गर्ने कार्यक्रम पनि छ,' उनले भने।

राष्ट्रपति आउँदा सार्वजनिक बिदा नै दिनुपर्छ र?

'यो एतिहासिक भ्रमण हो। यहाँ राष्ट्रप्रमुख ‍कहाँ आइरहनुहुन्छ र? सँधै आइरहने ठाउँमा त बिदा दिने कुरा भएन। हाम्रोमा त मन्त्रीहरु पनि खासै आउँदैनन्। यहाँका जनताले राष्ट्रप्रमुख नै देखेका छैनन्। उहाँ आउने भएपछि त जनता निकै खुशी छन्। त्यसैले जनताको उत्साह देखेर हामीले सार्वजनिक बिदा दिएका हौं,' उनले जवाफ दिए।

राष्ट्रपति भण्डारीले बिहीवार पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्टिच्युटको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम रहेको चन्दले जानकारी दिए। सोही कार्यक्रममा पाटन नगरपालिका र सम्पूर्ण जिल्लावासीको तर्फबाट राष्ट्रपतिलाई पाटनमै नागरिक अभिनन्दन गरिने भएकाले पनि सार्वजनिक बिदा दिइएको उनको भनाइ थियो।

यस्तो छ राष्ट्रपतिको कार्यक्रम

राष्ट्रपति भण्डारीले आज मध्यान्ह धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्नेछिन्। आजै २ बजे शिवनगर खानेपानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम पनि छ।

भोलि १५ गते बिहीवार दिउँसो २ बजे बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा विशेष पूजाआजा र दशरथचन्द नगरपालिकाका तर्फबाट नागरिक अभिनन्दनको कार्यक्रम रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।

त्यसभन्दा अगाडि १५ गते बिहान दार्चुलाको शैल्यशिखर मालिकार्जुन धाममा पनि राष्ट्रपतिले विशेष पूजाआजा गर्ने कार्यक्रम छ। मालिकार्जुन माध्यमिक विद्यालय मड प्रेमनगरको नवनिर्मित भवनको उद्घाटका साथै नागरिक अभिनन्दनको कार्यक्रम रहेको छ।

यस्तै १६ गते बिहान १० बजे डडेल्धुरास्थित उग्रताराको दर्शन र १ बजे कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। राष्ट्रपति भण्डारी १७ गते काठमाडौँ फर्किने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell