PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

हुँदै नभएको ६१ करोडमा नाम जोडेर सरकार नै मविरुद्ध लाग्यो : मोहन बस्नेत



नेत्र तामाङ

हुँदै नभएको ६१ करोडमा नाम जोडेर सरकार नै मविरुद्ध लाग्यो : मोहन बस्नेत

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री मोहनबहादुर बस्नेतले आफ्नो नाममा प्रणामी सहकारीमा खाता नै नभएको दाबी गरेका छन्।

प्रणामी वचत तथा सहकारीमा स्रोत नखुलेको ६१ करोड रकमबारे समाचार प्रकाशनमा आएपछि आफ्नो धारणा राख्न आयोजित पत्रकार सम्मेलनमा नेता बस्नेतले भने, 'प्रणामीको नाम हिजोमात्र सुनेको हुँ, खबर आएपछि। ६१ करोड राखिएको रहेछ। यो पैसाको बारेमा सरकारका सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको छ रे। मेरो खाता रोकिएको छ रे। मलाई कारबाही अघि बढाइएको बारेमा पनि लेखिएको रहेछ।'

काठमाडौंको तीनकुनेस्थित ग्रीन क्याफेमा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले उक्त सहकारीमा आफ्नो  कुनै खाता नरहेको दोहर्‍याए। 'न मेरो परिवारको नाममा खाता छ, न पैसा नै। हुँदै नभएको खाता कसरी रोक्का हुन्छ?' बस्नेतले प्रश्न गरे।

अरु बैंकमा भएका खाता समेत रोक्का नरहेको र कुनै किसिमको अफवाहको पछि नलाग्न पूर्वमन्त्रीको आग्रह थियो। कार्यक्रममा उनले भने, 'अरु बैंकमा भएको खाता पनि रोक्का भएको छैन।'

सहकारीको कूल पूँजी नै ६० करोड नभएको दाबी गर्दै नेता बस्नेतले सत्यतथ्य समाचार छापोस् भनेर सहकारीले आग्रह गरेको समेत दावी गरे। 

त्यसैगरी सहकारीका केन्द्रीय निर्देशकले समेत आफूलाई खाता रोक्काबारे कुनै जानकारी नआएको बस्नेतले बताए।

एकदुई जनाले लेखेको यस्तो समाचारले मिडिया क्षेत्र नै बदनाम भएको र राजनीतिक आन्दोलनमा नै धक्का पुग्ने उनको तर्क थियो।

कानुनी प्रक्रियाअनुसार अघि बढ्छु

आफूविरुद्ध आएको समाचार सत्यतथ्य नभएको उल्लेख गर्दै नेता बस्नेतले संविधानमा भएको व्यवस्थाअनुसार अघि बढ्ने बताएका छन्। 'सामाजिक र राजनीतिक दुवै किसिमले बदनाम गराउने र चरित्र हत्या गर्ने किसिमले अघि बढेको देखिन्छ,' बस्नेतले भने, 'कुनै तर्फबाट पनि जस्टिफाइ नगरीकन समाचार हालेको छ। त्यसैले म संविधानमा भएको व्यवस्थाअनुसार कानुनी प्रक्रियाबाट अघि बढ्छु।'

समाचार आएपछि आफ्नै गाउँका नेकपाका कार्याकर्ताले ट्याग गरेकोसमेत पाइएको उनले बताए। नेता बस्नेतले भने, 'जसले न्युज त्यहाँ लगे। न्युज आएपछि मेरै गाउँ वरपरका नेकपाका कार्यकर्ताले ट्याग गरे।'

उनले थपे, 'समाचार भ्रमपूर्ण छ। प्रतिशोधका कारण राजनीतिक व्यक्तिहरु परिचालित भएर समाचार आएको छ। त्यसैलाई केही अनलाइन र पत्रपत्रिकाले साभार गरेर प्रकाशन गरेका छन्।'

आफू प्रेस स्वतन्त्रको पक्षमा लड्दै आएको र आर्थिक अनुशासन कायम गर्ने व्यक्ति भएको उल्लेख गर्दै उनले भावी दिनमा सञ्चार क्षेत्रबाट सहयोग पाउने आशासमेत जनाए। भने, 'आर्थिक अनुशासन कायम गर्ने काममा मैले दुई पटक मन्त्री हुँदा देखाएकै हुँ। म कुनै पनि रुपमा विवादित रहिन। भावी दिनमा पनि यो छवि कायमै हुनेछ।'

मिडिया विधेयकको विरोधमा बोल्दा सरकारलाई पाच्य भएन

पछिल्लो समय सरकारले ल्याएको मिडिया काउन्सिल सम्बन्धी विधेयकमा स्वतन्त्र पत्रकारिताको पक्षमा छैन भनी आफूले भनाई राख्दा सरकारलाई पाच्य नभएपछि ६१ करोडमा आफ्नो नाम जोडिएको बस्नेतले आरोप लगाए।

'मिडिया काउन्सिलसम्बन्धी विधेयक स्वतन्त्र पत्रकारिताका पक्षमा छैन भनेर मैले सुरुदेखि नै सार्वजनिक रूपमा आफ्नो भनाई स्पष्ट ढंगले राख्दै आएको छु। अघिल्लो सरकारमा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाल्दाको अनुभवले पनि मिडिया काउन्सिल विधेयक स्वतन्त्र पत्रकारिताको घाँटी निमोठ्ने र पत्रकारितालाई निर्देशित रूपमा अगाडि बढाउने उद्देश्यले ल्याइएको हो भन्ने मेरो बुझाइ छ,' पत्रकार सम्मेलनपछि जारी गरिएको बस्नेतको प्रेस नोटमा भनिएको छ, 'जुन कुरा सरकार र सत्तासीन नेकपाका नेताहरूका लागि पाच्य नभएपछि मेराविरुद्ध यस्ता आधारहीन टिप्पणी सुरु भएको हो। पछिल्लो समय सहकारीमा स्रोत नखुलेको ६१ करोड रुपैयाँ राखेको भनेर मेरो नाम जोड्नुलाई त्यसैको एउटा कडीका रूपमा मैले लिएको छ।'

सम्बन्धित समाचार

खातामा एकाएक ६१ करोड डिपोजिट, रकम कसको ? नेताको

कांग्रेस नेता बस्नेतको जवाफ : खाता नभएको सहकारीमा कहाँबाट हुनु मेरो रकम?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell