PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

धनगढी विस्फोटको जिम्मा प्रतिबन्धित समुह विप्लवले लियो, आत्मसुरक्षाको लागि बोकेको विस्फोटन पदार्थ विस्फोट भएको दाबी



पहिलोपोस्ट

धनगढी विस्फोटको जिम्मा प्रतिबन्धित समुह विप्लवले लियो, आत्मसुरक्षाको लागि बोकेको विस्फोटन पदार्थ विस्फोट भएको दाबी

कैलाली: धनगढीमा बिहीबार साँझ भएको विस्फोटको जिम्मा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ। नेकपाका सेती–महाकाली ब्युरो इन्चार्ज निर्माणले शुक्रवार एक विज्ञप्ति जारी गर्दै आत्मसुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ विस्फोट भएको बताएका छन्।

विप्लवले बम विस्फोटमा परी मृत्यु भएका रामबहादुर सिंह ‘राजेशलाई सहिद घोषणा गर्न मागसमेत गरेको विज्ञप्ति उल्लेख गरिएको छ। ‘धनगढी उपमहानगरपालिका सहिद गेट नजिकै पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ विस्फोट हुँदा शहादत प्राप्त गर्नुभएका रामबहादुर सिंह ‘राजेश’ लाई एकीकृत जनक्रान्तिका महान् सहिद घोषणा गर्दै उहाँप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्छौँ।’

विप्लव समूहले सो घटनामा परी घाइते भएका सर्वसाधारणको स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरूको उपचार व्यवस्था पार्टीले गर्ने जनाएको छ। घटना हुनुको कारण दलाल पुँजीवादी संसदीय व्यवस्था भएकाले यसको सम्पूर्ण जिम्मा केपी ओलीको सामाजिक फासीवाद सरकारले लिनुपर्ने पनि विप्लव समूहको विज्ञप्ति लेखिएको छ।

बिहीबार साँझ पौने सात बजे धनगढी उप–महानगरपालिका वडा नम्बर ४ को सहिद गेट नजिकै रहेको निलम होटेलमा भएको विस्फोटमा परी सिंहसहित ५ जना गम्भीर घाइते भएका थिए।

घाइतेमध्येका एक जना होटेल सञ्चालक केशवराज पाण्डेयलाई थप उपचारका लागि शुक्रवार नेपालगन्ज लगिएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले पाण्डेयलाई थप उपचारका लागि नेपालगन्ज लगिएको जानकारी दिए। उनको टाउकोमा बढी चोट लागेका कारण थप उपचारका लागि नेपालगैज पठाइएको बस्नेतको भनाइ छ।

घटनामा घाइते अन्य तीन जना लक्ष्मण सेरला, स्थानीय जितेन्द्र यादव र मोविन खानको धनगढीकै माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell